केशव समर्पण
शुक्रवार, असार ८, २०७५
454

३ नम्बर प्रदेशको राजधानी हेटौंडामा ४ दिनसम्म चलेको नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेला २१ बुँदे घोषणापत्र जारी गर्दै 
प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृति देखिएको भन्दै नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाइनुपर्ने निष्कर्ष निकालिएको छ । विभिन्न क्षेत्रमा भएको हस्तक्षेप, मूल्यवृद्धि, प्रदेश तथा संघीय संसदको नीति तथा कार्यक्रम र काँग्रेस सरकारले गरेको निर्णय उल्ट्याइएकोप्रति कम्युष्निट सरकारको आलोचना गरिएको छ ।

‘कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद–उन्मूख रहेको प्रष्ट छ ।’ घोषणापत्रमा भनिएको छ ।
मूल्यबृद्धिकोबारे प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति र मूल्यवृद्धि विरोधमा आम विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रष्ट भएको उल्लेख छ । नेपाली कांग्रेस सुर्खेतको कार्यालयमा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै यस्ता घटना दोहोरिइए सरकारविरुद्ध आन्दोलनको चेतावनी पनि दिइएको छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने तथा लामो संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न उद्दत तत्वको खतरातर्फ समेत केन्द्रीय समितिलाई सचेत गराइएको छ । तत्कालीन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको घोषणापत्रमा आरोप लगाइएको छ ।
नेपाली कांग्रेसको नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्ज्युरी लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५००० उपलब्ध गराउने, ६५ बर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने जस्ता बिगतका जनहितकारी निर्णयलाई वर्तमान सरकारले उल्ट्याएको प्रति पनि आपत्ति जनाइएको छ । साथै चाँडै ती कार्यक्रमलाई निरन्तरता दिन यो भेलाले माग गरेको छ ।
वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट बिनियोजनले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउदै लगेको भेलाको निष्कर्ष छ । वर्तमान सरकार संघियता र संबिधान बिरोधी कार्यमा लागेको घोषणापत्रमा आरोप लगाइएको छ । सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको उल्लेख छ । ‘पूर्वाग्रहपूर्ण ढङ्गले क्रमागत बहुबर्षीय विकास निर्माणका योजनाहरु समेत कार्यक्रमबाट हटाइएका प्रति भेलाले गम्भीर आपत्ति प्रकट गर्दछ ।’ घोषणापत्रमा भनिएको छ । सरकारी संरक्षणमा देशैभर भौतिक आक्रमण, अलग विचार राख्ने नेता कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउने जस्ता आतंक फैलिएको भन्दै त्यसको पनि भत्र्सना गरिएको छ । द्वन्दकालमा कब्जा गरिएका जग्गा सम्वन्धितले नै प्राप्त गर्नु पर्ने विगतको सम्झौतालाई पनि भेलाले सरकारलाई स्मरण गराएको छ ।
७७ वटै जिल्लाका सभापतिको सहभागितामा चलेको भेलाले जारी गरेको घोषणापत्रमा पार्टीको विधान संशोधन र त्यसको लागि जिल्ला सभापतिहरुकोसमेत सहभागितामा विधान मस्यौदा समिति बनाउनुपर्ने सुझाव दिइएको छ । अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ–संस्थाहरूको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिबेशन गर्न पनि पार्टी केन्द्रीय समितिलाई आग्रह गरिएको छ । त्यस्तै संबिधानसम्मत हुने गरी सबै तहको संरचना निर्माण गर्न आबश्यक कार्यविधि बनाउन पनि सभापतिहरुले केन्द्रीय कार्यसमितिलाई आग्रह गरेको छ ।
विगत निर्वाचनको परिणामबारे गम्भीर रहेको भन्दै आगामी चुनौतीहरुको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प पनि घोाषणापत्रमार्फत गरिएको छ । केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवश्यक कार्यक्रम तर्जुमा गरी अविलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा पुरै बर्षलाई ‘प्रशिक्षण बर्ष’ को रुपमा अघि बढाउन पार्टी केन्द्रलाई भेलाले आग्रहसमेत गरेको छ ।
आगामी भदौ महिनामा गर्ने भनिएको पार्टीको महासमितिको बैठकको स्थान र मिति अबिलम्ब तोक्न पनि माग गरिएको छ । साथै प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्नुपर्नेमा पनि जोड दिइएको छ । त्यस्तै पार्टीभित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालाई अक्षरश कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन भेलाले घोषणापत्रमार्फत सुझाव दिएको छ ।