कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
141

राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी वर्ष आन्दोलनमा साथ दिन जनतासँग आह्वान गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले यस्तो आह्वान गरेका हुन् ।
पार्टी स्रोतका अनुसार आन्दोलनलाई सशक्त बनाउन राजपाले नेपाली कांग्रेस लगायतका दलसँग राजपाले छलफल चलाइरहेको छ । भण्डारीले आगामी दिनमा पार्टी आन्दोलनमा जाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले राजपासँग गरेको सम्झौता र जनताका बाचाअनुरूप काम नगरेकाले सरकारलाई दिइएको समर्थन यसअघि नै फिर्ता भइसकेको बताउँदै उनले आन्दोलन गर्ने बताए ।

संविधान संशोधन, मधेश आन्दोलनको क्रममा भएका हिंसात्मक घटनामा मुछिएका राजनीतिक पार्टी कार्यकताहरू माथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा अशक्त हुनेगरी घाइते भएका परिवारका सदस्यको भरणपोषणको जिम्मेवारी लिनुपर्ने लगायतका विषय पूरा गर्ने गरी सरकारसँग सम्झौता भएको थियो ।
सरकारका तर्फबाट पनि गरिएका सम्झौता अनुसार काम गर्ने प्रधानमन्त्री ओलीले राजपाका नेताहरूसँगको भेटमा विश्वास दिलाउँदै आएका थिए । ओलीले विश्वास दिलाउन ज्यान मुद्दामा जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई सांसद पदको शपथ सभामुखको कार्यकक्षमा गर्न लगाएका थिए । त्यसपछि राजपाका अध्यक्ष मण्डलका नेताहरू ओली नेतृत्वको सरकारले संविधान संशोधन लगायतका मागहरू पूरा गर्ने बारे विश्वस्त रहेका थिए ।
तर, त्यसको केही दिनपछि चौधरी विरूद्धको मुद्दामा जिल्ला अदालतबाट हुने सुनुवाइलाई द्रुतगतिमा गर्न लगाई चौधरीलाई जन्मकैदको फैसला गर्न लगाउने काम ओली सरकारबाटै भएको बुझाइ राजपाका नेताहरूमा छ ।
चौधरीलाई जिल्ला अदालत कैलालीबाट जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने काम गरेको थियो । अब राजपाले आन्दोलनको योजना बनाइरहेको जानकारी नयाँ वर्षको अवसरमा जारी गरेको विज्ञप्तिबाट दिएको छ ।
पार्टीले भनेको छ, “विगतमा जसरी अधिकार र पहिचानको लडाइँमा यहाँहरूले साथ दिँदै आउनुभयो, आगामी दिनमा पनि त्यस्तै साथ र सहयोग दिनुहुने छ ।” सरकारले देशलाई विखण्डन निम्त्याउन खोजेको आरोप लगाउँदै भण्डारीले भनेका छन्, “विभेदले विद्रोह र विद्रोहले विखण्डन निम्त्याउँछ । त्यसर्थ राष्ट्रिय एकता बलियो पार्न सबै खाले विभेदको अन्त्य होस् र सबैको भाषा, सबैको भेष, सबै नेपाली, सबैको देश भन्ने भावनाले मूर्तरुप पाओस् ।”
अधिकार, पहिचान, समृद्धि र उन्नतिका लागि संघर्ष गर्दै आएको र नागरिक सर्वोच्चता, राष्ट्रिय अखण्डता, मौलिक अधिकार, पहिचान, समानुपातिक समावेशीताका लागि आफूहरूले राजपाको स्थापना गरेको बताउँदै उनले भनेका छन्, “सरकारले माग पूरा गरेको छैन । वचनबद्धता पूरा गरेको छैन । त्यसैले आगामी दिनमा पनि ती अधिकारहरु प्राप्त नभएसम्म लडिरहन्छौं ।”