कारोबार संवाददाता
बिहिवार, फाल्गुन २, २०७५
354

दमौली-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनयुद्धले सामन्तवाद विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । २४ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र तनहुँले बुधबार दमौलीमा आयोजना गरेको जनयुद्ध, जनआन्दोलन र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनयुद्धको कारण जनतामा जागरण आएको र त्यसले आजको स्थितिमा ल्याइपु-याएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले भने, “सामन्तवाद भनेको के हो, राजतन्त्र के हो, निरङ्कुश राजाले जनतालाई कसरी दुःख दिए, सामन्तवादले कसरी दुःख दिएको छ भन्ने जागरण ल्याउन जनयुद्धले टेवा पु-याएको थियो ।”

नेपालमा शुरु गरिएको जनयुद्ध विश्वका अन्य मुलुकको भन्दा बेग्लै ढङ्गबाट सञ्चालन गरि त्यसलाई अधिकतम उपयोग गर्ने काम भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । शान्तिपूर्ण क्रान्ति सम्पन्न भइसकेपछि पनि पुरानो राज्य व्यवस्थाको अवशेष बाँकी रहेको चर्चा गर्दै उनले त्यस्ता अवशेषहरुलाई समाप्त पार्नुपर्नेमा जोड दिए । यनले भने, “त्यस्ता अवशेषहरुलाई समाप्त पार्न सकिएन भने जनताको जनवादी व्यवस्था ल्याउन सकिँदैन ।”
उनले पुँजीवादको विकास नभईकन समाजवादमा पुग्न नसकिने भएकोले पुँजीवादको विकास गर्नुपर्ने तर त्यस्तो पुँजीवाद साम्राज्यवादतिर जाने खालको हुन नहुने बताए । मिश्रित अर्थतन्त्रका माध्यमबाट राष्ट्रिय पुँजीको निर्माण गर्दै स्वाधिन अर्थतन्त्रको बाटोमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा मुख्यमन्त्री गुरुङको जोड थियो ।
सङ्घ तथा प्रदेशहरुमा कम्युनिष्टको बहुमत सहितको सरकार रहेकोले जनताले अनुभूति हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी अध्यक्ष हितराज पाण्डे, केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला लगायतले सहिदले देखाएको बाटोमा हिँड्न आवश्यक रहेकोमा जोड दिए ।