कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
305

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप ग-यो, साम्राज्यवादी ‘कू’ ग-यो भन्नुभयो । प्रचण्डले त्यसरी भन्नु आवश्यक थिएन ।”
नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा वक्तव्य जारी गरेको सुनाए । उनले भने, “रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन ?”

उनले भने, “सरकारले पनि प्रचण्डकै लाइनमा वक्तव्य जारी ग-यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कूटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा ह्रास आएको छ । नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन ।” खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे ।
उनले इण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने आफूलाई लागेको बताए । खड्काले यही कदमले गर्दा अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्धमा असर भने परि नहाल्ने जिकिर गरे । उनले भने, “अहिले नै ठूलो असर परिहाल्दैन । हालै नेपालस्थित अमेरिकी राजदूत -याण्डी बेरीले प्रधानमन्त्री ओली र प्रचण्डजीलाई भेट्नुभएको कुरा आएको छ । त्यसैले सम्बन्ध बिग्रिहाल्दैन ।”
फरक प्रसंगमा उनले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले भने, “अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।”
दुई तिहाइको सरकारले उत्ताउलो कुरा गरिरहेको उनको भनाइ छ । खड्काले भने, “जनताका आधारभुत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन । सरकारको यो एक वर्षको पर्फर्मेन्स होपलेस छ ।” मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण मागेर धान्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए । उनले भने, “यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन् ।”