कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
441

भरतपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माण र समृद्धिको जनचाहनाको परिपूर्ति नभएमा कम्युनिष्ट पार्टीको कामै नहुने बताएका छन् । चितवन महोत्सवको १२ औं संस्करणको नारायणी नदी किनारमा बुधबार उद्घाटन गर्दै उनले भने, “बिरालो सेतो वा कालो होस्, मतलब भएन, हुनुप-यो विकास ।”
पार्टीहरू साधन भएपनि साध्य नभएको चर्चा उनले गरे । “साध्य जनताको सेवा गर्ने, राष्ट्रको एकता गर्ने हो, विकास र समृद्धितिर लैजाने हो,” उनले भने, “अब विकासको ‘मोडालिटि’ बारे समस्या छैन, समस्या भनेको ‘एक्सन’ मा जाने नै हो ।” नीतिगत, संवैधानिक तथा राजनीतिक निर्णयलाई व्यवहारमा उतार्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने परिणाम दिने विकासलाई गति दिने चुनौतीको सामना गर्नुपर्ने उनले बताए । “राजनीतिक स्थायित्वको बलियो सरकारको आधारशिला खडा भैसकेको छ, अब विकासलाई गति दिने मार्गचित्रबारे ‘कन्फ्युजन’ छैन,” उनले भने, “समृद्धितर्फ जानैपर्छ ।”

उनले निजी क्षेत्रलाई प्रोत्साहित तथा उत्साहित गरेर सहकार्य गरेर अघि बढनुपर्ने बेला आएको बताए । “निजी क्षेत्रलाई उत्साहित नगरेसम्म हामीले देखेको समृद्धिको सपना पुरा हुँदैन,” उनले भने, “निजी र सार्वजनिक क्षेत्रको सहकार्य नङ र मासुको जस्तो सम्बन्ध हुुनुपर्छ ।” उनले चितवनको विकासलाई देशकै विकासको मोडेलका रुपमा लैजान सकिने बताए । “चितवनको विकास, संस्कृति, परम्परा जगेर्ना, जागरुकताको सन्देश देशलाई दिन सक्ने ठाउँ हो,” उनले भने, “चितवनलाई एकीकृत रुपमा छिटो नमुना विकास गर्न लागेका छौँ ।”
उनले केन्द्र तथा प्रदेशको राजधानी बनाउने सपना भन्दा देशकै नमूना विकासको जिल्ला बनाउने सपना ठूलो हुने बताए । उनले इजरायल सरकारले कृषिमा अर्बौँका परियोजना चितवनमा सञ्चालन हुने क्रममा रहेको बताए । उनले भरतपुरलाई नमुना शहरका रुपमा विकास गरिने जानकारी दिए । “राप्ती, नारायणीमा हेर्दाहेर्दै तटबन्धन बन्छ, रिंगरोड बन्छ,” उनले भने, “भैँसालोटनदेखि देवघाटसम्म पानीजहाज आउन सम्भव छ, हेर्दाहेर्दै आउँछ ।”
चितवन महोत्सव माघ ४ गतेसम्म चल्नेछ । महोत्सवमा ४ सय ७१ स्टलहरू छन् ।