जगन्नाथ दुलाल
बुधवार, कार्तिक २१, २०७५
287

नेपाली कांग्रेसको शक्तिशाली मानिने महासमितिको बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले महासमितिको नयाँ मिति तय गरेको हो ।
यसअघि महासमितिको बैठक मंसिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । दसैं, तिहार र छठजस्ता महत्वपूर्ण पर्वहरुका कारण केन्द्रीय समिति बैठक निरन्तर बस्न नसकिएकाले महासमिति बैठक सारिएको नेता रमेश लेखकले बताए । लेखकले चाडवाडलाई दोष दिए पनि महासमिति बैठक सार्नुको मुख्य कारण भने बैठकमा प्रस्तुत हुने विधान नै हो । विधान मस्यौदा समितिले मंगलबारको बैठकमा विधानको मस्यौदा पेश गर्ने भनिएको थियो । तर, विधान मस्यौदा समितिका संयोजक रहेका महामन्त्री पूर्णबहादुर खड्काले विधान मस्यौदाका बारेमा भइरहेका कामका बारेमा जानकारीमात्र राए । बैठकमा मस्यौदा पेश गरेनन् । “मस्यौदा समितिका संयोजकले धेरै काम सकिसके पनि केही बुँदामा समितिमा अलग–अलग धारणा आएकोबारे जानकारी गराउनुभयो,” लेखकले बैठकपछि भने, “सबैको भावना समेटेर सर्वसम्मतिमै मस्यौदा ल्याउनका लागि छलफल भइरहेकाले बैठकमा मस्यौदा पेश भएन ।”
मुख्यगरी कांग्रेसमा क्रियाशिल सदस्यता राख्ने कि नराख्ने भन्नेमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत छ । पौडेल पक्षले क्रियाशिल सदस्यता राख्नुपर्ने अडान राख्दै आएको छ । वरिष्ठ नेता पौडेलले कांग्रेस भनेकै क्रियाशिल सदस्यहरुको रहेको भन्दै त्यसलाई समाप्त गरेर पार्टीलाई सडकमा ल्याउन नहुने बताउँदै आएका छन् । देश संघीयतामा गइसके पनि कांग्रेसले सो अनुरुपको संरचना बनाइसकेको छैन । महासमिति बैठकमा संघीय संरचनाअनुसार पार्टीको इकाई बनाउनेगरी मस्यौदामाथि अहिले गृहकार्य भइरहेको छ ।
कांग्रेसमा विधान परिवर्तन र कुनै नीतिगत परिवर्तन गर्ने अधिकार महासमिति बैठकमा रहेकाले यो बैठकलाई महत्वका साथ लिने गरिन्छ । प्रत्येक वर्ष बस्नुपर्ने भए पनि १३औं महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति आएको २ वर्षपछि यो बैठक बस्न लागेको हो । ०७२ फागुन अन्तिम साता देउवा सभापति निर्वाचित भएका थिए ।

उपसभापतिमा गच्छदार मनोनित
मंगलबारको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेको छ । निर्वाचन अगाडि गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल कांग्रेसमा समाहित भएको थियो । त्यतिबेला भएको सहमतिबमोजिम गच्छदारलाई उपसभापति मनोनित गरिएको हो । त्यस्तै, फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएकाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म समायोजन गर्नका लागि गृहकार्य गर्न कार्यदलसमेत गठन गरिएको छ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्मा जिल्लागत रूपमा पार्टी संगठन र भ्रातृ संगठनको एकताका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका अन्य सदस्यको भने पछि टुंगो लगाइने लेखकले जानकारी दिए । त्यस्तै कांग्रेसले केन्द्रीय सदस्य श्याम घिमिरेको नेतृत्वमा लेखापरीक्षण समिति गठन गरेको छ ।