कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
413

विराटनगर- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटगत राजनीतिका कारण कांग्रेस कमजोर भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले गुटगत राजनीति अन्त्य नभएसम्म कांग्रेस बलियो नहुने उल्लेख गरे । “कम्युनिष्टसँग लड्न पनि कांग्रेस एकजुट हुनु जरुरी छ,” उनले भने, “कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । त्यसैले हामीभित्रका कमीकमजोरी हटाएर पार्टीको संगठन सुदृढीकरणमा लाग्नु जरुरी छ ।” कार्यकर्ता र जनताले पनि बलियो कांग्रेस खोजेको उनको भनाइ थियो । तल्लोस्तरका कार्यकर्ताहरू केन्द्रीय नेतासँग रुष्ट भएको आफूले पाएको बताउँदै नेताहरूले पनि आफूलाई सुधार्नु आवश्यक रहेको उल्लेख गरे । कांग्रेस १४ महाधिवेशको नयाँ नेतृत्वले पार्टीलाई थप सुदृढ बनाउने उनको भनाइ थियो । वर्तमान नेतृत्वका कारण कांग्रेस कमजोर भएको उनले बताए ।
नेता कोइरालाले संघीयतालाई कसैले पनि असफल बनाउन नसक्ने बताए । कर वृद्धि गरेर तथा प्रदेश र स्थानीय तहलाई अधिकार नदिने नाममा संघीयतालाई कमजोर बनाउने काम भइरहेको कोइरालाले बताए ।