कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
268

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूले आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले गरेको आह्वानलाई ‘पोलिटिकल स्टन्ट’ भएको टिप्पणी गरेका छन् । वार्ताबाट समस्याको समाधान खोज्नु सरकारको पहल आफैंमा स्वागतयोग्य भए पनि सरकारले यसलाई ‘स्टन्ट’को रूपमा प्रयोग गरेको उनीहरूको आरोप छ ।
राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, “वार्ताबाट समस्याको समाधान गर्न खोज्नु आफैंमा स्वागतयोग्य विषय हो । तर, यसले सकारात्मक परिणाम ल्याउला भन्न सकिँदैन । यो पोलिटिकल स्टन्टको रूपमा देखिएको छ ।”

सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी वार्ता टोलीले सिंहदरबारमा पत्रकार सम्मेलन गरी द्वन्द्वरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो । सरकारको यो आह्वानलाई राजपाका अर्का उपाध्यक्ष सत्यनारायण मण्डलले सरकारले वार्ताबाट समस्याको समाधान गर्न खोजेको जस्तो नदेखिएको बताए । उनले भने, “असोज ३ गते संविधान दिवसको अवसरमा देशमा कालो दिवस मनाइने भएको छ । राजपा, संघीय समाजवादी फोरम र सिके राउत समूहले कालो दिवस मनाउने तयारी गरिरहेको छ । यसलाई हुन नदिने मनसायले यो वार्ताको आह्वान गरिएको जस्तो देखिएको छ ।”
वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले भने सबै प्रकारका द्वन्द्व निर्मूल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामूलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेकोे बताएका छन् । उनले भने, “सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार छ ।” भदौ ८ गते सरकारले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
यो टोलीलाई मधेस आन्दोलन तथा अन्य आन्दोलन र सरोकारवालासँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता र समझदारीका विषयमा अध्ययन विश्लेषण गरी कार्यान्वयन गर्नका लागि आवाश्यक सुझावहरु सरकारलाई पेश गर्ने अधिकार प्राप्त भएको उनले जनाए ।