कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
813

कैलाली-धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण गरिने भएको छ । २ बर्षभित्र नगरमा भ्यू टावरसहितको नमुना सहर निर्माण गर्ने लक्ष्य राखिएको छ । जापानमा रहेका प्रवासी नेपालीको कम्पनी न्यूआईटी भेन्चरका प्रतिनिधि र उपमहानगर बीच नमुना सहर बनाउने कार्य अघि बढेको छ । झण्डै १ अर्व २० करोड रुपैयाँको लगानीमा नमुना सहर निर्माण गर्ने तयारी अन्तिम चरणमा पु-याएको छ । धनगढीलाई स्मार्टसिटी बनाउने कार्य अन्तरगत नमुना सहर निर्माण गर्न लागिएको उपमहानगर प्रमुख नृपबहादुर वडले बताए । उनले नमुना सहर निर्माण गर्न सके त्यसले धनगढीमा भारतीय ग्राहकहरुलाई आकर्षण गर्ने विश्वास लिए ।
आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले सबै प्रकृयाको अन्तिम चरणमा रहेको बताउँदै सार्वजनिक निजी साझेदारीको अवधारणामा नमुना सहर निर्माण हुने उल्लेख गरे । यसका लागि २ महिना भित्र शेयर खुला गरिने छ ।
करीब २ बिगाहको क्षेत्रफलमा निर्माण गरिने सहरमा ९ ताले र ७ ताले ९ वटा भवन निर्माण गरिने छ । त्यसमा ९ तले भवनको माथी धनगढी नगर हेर्न सकिने भ्यू टावर समेत निर्माण गरिने छ । पहिलो ९ ताले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यू टावर हुने छ भने दोश्रो ७ ताले भवनमा पम्परागत प्रविधि, विज्ञान प्रयोगशाला, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गरिने अधिकारीकाले बताए । अहिले पूर्वाधार निर्माणको लागि विभिन्न ठाउँमा माटो परिक्षणको नमुना लिइएको छ ।

 हिमेश वि.क