कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
333

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतबार बारा र पर्सामा आएको भीषण हावाहुरीबाट पीडित ५ सय घर परिवारलाई राहत वितरण गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले बाराको तेलगाई, परशुरामपुल दर्दिया, रामपूर्वा लगायतका स्थानमा पुगी राहत सामग्री वितरण गरेको हो ।
प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरिएको हो । बारा र पर्सामा गत आइतबार आएको भीषण हावाहुरीका कारण झण्डै २ हजार घरहरु नष्ट भएको जिल्ला प्रशासन कार्यालय बाराको प्रारम्भिक तथ्याङ्क छ । यस राहत वितरण कार्यक्रममा उपाध्यक्ष पन्त, प्रवक्ता भूषण घिमिरे, आईसिसि सदस्यहरु रञ्जीत महतो र डिल्लीराम भट्टराई, अमेरिकाका पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, पूर्व महासचिव रतन झा, टीआईपीएनका सहसंयोजक अनल भट्टराई, जर्मनीका उपाध्यक्ष मिलनराज पन्तलगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।
यसैगरी २० गते गैरआवासीय नेपाली संघको तर्फबाट मध्यपूर्व र मलेसियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको थियो । एनआरएनए आईसिसी सचिव डिबी क्षेत्री र मध्यपूर्वका संयोजक आरके शर्मासहितको नेतृत्वमा गएको टोलीमा मध्यपूर्व उपसंयोजक प्रविण गुरुङ, एनआरएनए आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठ, एनआरएनए पूर्व मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, एनआरएनए पूर्व एसिया प्यासिफिक उपसंयोजक रोविन्द प्रसाद श्रेष्ठ लगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको थियो ।

सो टोलीले स्थानीय सरकार, राजनीतिक दलहरु, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायको सहकार्यमा बाराको शुवर्ण गाउँपालिका हार्दियाको दलित टोल, फेटा तथा भवरलियामा हावाहुरी प्रभावीत ५०० घर परिवारलाई टेण्ट, झुल र गर्मीमा समेत ओढ्न मिल्ने कम्बल राहत वितरण गरेको थियो । हर्दिया ज्यादै पिछडिएको दलित बस्ती हो, जहाँ यो टोली जाँदा कोही पनि राहतका लागि पुगेका थिएनन् । यस बस्तीमा करिब २०० जना छात्राहरु गरिबीको कारणले शिक्षाबाट बञ्चित रहेका छन् । संघका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । यसप्रति गैरआवासीय संघ सबैमा हार्दिक आभार प्रकट गरेको छ ।

हावाहुरी प्रभावितलाई एनआरएन न्युजिल्याण्डको सहयोग
गैरआवासीय नेपाली संघले हावाहुरी प्रभावितलाई राहत वितरण जारी राखेको छ । बारा र पर्साका हावाहुरी प्रभावितलाई विभिन्न एनसिसीबाट सहयोग संकलन जुटाउने कार्य जारी छ ।
त्यस्तै, हावाहुरी प्रभावितलाई गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले आपतकालीन राहत सामग्री वितरण गरेको छ । एनआरएनए न्युजिल्याण्डले बाराको फेटा गाउँपालिकास्थित भलरवलियामा राहत सामग्री वितरण गरेको हो । संघका अध्यक्ष कमल वाइबाको नेतृत्वमा प्रवक्ता विष्णुहरि रेग्मीसहित आफैं आँधिबेहरी प्रभावित क्षेत्रमा गई राहत सामग्री वितरण गरिएको विश्व सन्देश अनलाइनले जनाएको छ ।
संघले स्थानीय १५० घरधुरीलाई राहत सामग्री वितरण गरेको जनाएको छ । पीडित परिवारलाई प्रतिपरिवार चामल १ बोरा (३० केजी), दाल १ प्याकेट ( ९५ केजी, तेल १ प्याकेट (१ लिटर ), नुन १ प्याकेट (१ केजी), झुल १ थान (१५० परिवार), इमर्जेन्सी लाइट १ थान (१५० परिवार) वितरण गरिएको हो ।

ओमन, बहराइन र कुवेतबाट पनि सहयोग
यसैगरी एनआरएनए मध्यपूर्वका विभिन्न एनसिसीले हावाहुरी प्रभावितलाई सहयोग रकम पठाएका छन् । एनआरएन आइसिसीको सचिवालयले पहिलो चरणमा तीन एनसिसीले सहयोग रकम पठाएका हुन् ।
यसअघि एनआरएन आईसिसीले कम्तिमा ५० हजार सहयोग पठाउन सर्कुलर जारी गरेसँगै मध्यपूर्वका ओमन, बहराईन र कुवेतले सहयोग पठाएका हुन् । एनआरएन ओमनले हावाहुरी प्रभावितको लागि १ लाख रुपैयाँ पठाएको छ भने बहराईन र कुवेतले ५१÷५१ हजार रुपैयाँ पठाएका छन् । एनआरएन आइसिसी सचिव डिबी क्षेत्रीले केन्द्रको सर्कुलर अनुसार विभिन्न एनसिसीबाट सहयोग उठ्ने र सचिवालयको खातामा रकम आउने क्रम जारी रहेको जानकारी दिए । आईसिसीले न्यूनतम ५० हजार पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणमा मध्यपूर्वका तीन एनसिसीले सचिवालयमा सहयोग रकम पठाएको सचिव क्षेत्रीले बताए । अन्य विभिन्न एनसिसीले पनि एनआरएनको खातामा संकलित सहयोग पठाइरहेका छन् ।
यसरी नै एनआरएनए हङकङले बारा र पर्साका हावाहुरी प्रभावितलाई पहिलो चरणमा ५५ हजार रुपैयाँ पठाएको छ । हावाहुरी प्रभावितलाई राहत संकलन जारी राखेको एनआरएनए हङकङले पहिलो चरणमा संकलित रकम ५५ हजार नेपाल पठाएको हो । राहत संकलन भने जारी राखिएको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले हावाहुरी प्रभावितको लागि राहत संकलन गर्न अभियान जारी रहेको बताइन् । यद्यपि, पहिलो चरणमा उठेको रकम भने नेपालमा पठाइएको संघले जनाएको छ । साथै राहत संकलन जारी रहेकाले पीडितलाई सहयोग गर्न एनआरएनले आह्वान गरेको छ । यसका साथै एनआरएनए मकाउले हावाहुरी प्रभावितलाई सहयोग संकलन कार्य थालेको छ । आइसिसीको निर्देशनअनुसार एनआरएनए मकाउले सहयोग संकलन अभियान जारी राखेको हो । एनआरएन मकाउ अध्यक्ष शान्दिेवी अधिकारीका अनुसार बारा र पर्साका हावाहुरी प्रभावितको सहयोगको लागि राहत संकलन जारी रहेको हो । अध्यक्ष अधिकारीले सहयोग संकलन कार्य जारी रहेकाले सहयोगको लागि सबैमा आह्वानसमेत गरेकी छन् ।