कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५
522

काठमाडौं- मलेसियाको सेलेंगर राज्यको डब्लुआरपी कम्पनीमा कार्यरत नेपालीहरु ३ महिनादेखि काम गरेको तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत २ हजारभन्दा बढी नेपाली आन्दोलनमा उत्रिएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ ।
नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका पूर्व महासचिव अर्जुन सुवेदीका अनुसार मंगलबार बिहानैदेखि सो कम्पनीमा प्रहरी तैनाथ गरिएको छ । सो कम्पनीमा कार्यरत दुईजना नेपालीले आफूसँगको कुराकानीमा तीन महिनादेखि आफूहरुले तलब नपाएको र तलब माग्दा एक महिनाको मात्र दिने बताएपछि कामदारहरु आन्दोलनमा उत्रिएको बताएको सुवेदीले बताए । मलेसियामा तलब नपाएपछि सुरु भएको आन्दोलनको भिडियो खिच्ने केही नेपालीमाथि कुटपिट भएको छ । मलेसियाको सेलेंगरमा रहेको डब्लुआरपी कम्पनीमा कार्यरत नेपालीसहितका २ हजार विदेशी कामदार तीन महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । आन्दोलन सुरु भएको ४ दिनपछि मात्र समाचार बाहिर आएको छ ।

आइतबार आन्दोलनमा उत्रिएपछि सोमबार केहि नेपालीले आन्दोलनको भिडियो बनाएर फेसबुकमा हालेका थिए । त्यसरी भिडियो बनाउने केहि नेपालीलाई रोजगारदाताले अन्य व्यक्ति लगाएर कुटपिट गरेपछि सोमबार कामदारले म्यानेजरसहितका व्यक्तिलाई लखेटेको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताए । उनले हिजो केही कामदारलाई १ हजार रिंगिटका दरले रकम हालिदिएको बताए ।
विगत ६ महिनादेखि तलबका विषयमा यसरी नै समस्या हुँदै आएको भन्दै उनले आफूहरु काम गर्ने सो कम्पनी जेलजस्तै भएको बताए । “बाहिर जान पाइन्न, काँडेतार लगाएर राखेको छ,” उनले भने, “बाहिर जानुपरेमा पास लिएर सीमित मात्रामा मात्र जान पाइन्छ ।” उनका अनुसार कम्पनीले प्रतिव्यक्ति होष्टल शुल्क, खाना खर्च तथा अन्य शिर्षकमा ३ सय रिंगिट भन्दा बढी काट्दै आएको छ । मलेसियाको नियमअनुसार प्रति महिना ५० रिंगिट भन्दा बढी होष्टल शुल्क लिएमा त्यो अवैधानिक ठहरिन्छ । यसैबीच आन्दोलन सुरु भएपछि सो विषयमा छलफल गर्न मलेसियाको श्रम विभागले रोजगारदातालाई बोलाएको छ ।