कारोबार संवाददाता
बुधवार, माघ २, २०७५
521

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ । सो पुस्तकालय निर्माण गर्न एनआरएनए, महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते त्रिपक्षीय सम्झौता भएको थियो ।
एनआरएनएको आर्थिक सहयोगमा निर्मित सो पुस्तकाल नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको हो । हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले संघले पढ्ने प्रवृत्तिलाई विकास गर्ने उद्देश्यले पुस्कालयको अवधारणा ल्याएको जनाउँदै त्यसलाई विकास र निरन्तरता दिन महासंघले भूमिका खेल्नुपर्ने बताए । हाल पुस्तकालय सानो स्वरूपमा सुरु गरिएको र आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार गर्नुपर्ने तथा त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पुस्तकालयलाई नमुना स्रोत केन्द्रको रुपमा अघि बढाउनुपर्ने बताए । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भौतिक संरचना पूरा भए पनि थप स्रोत साधन वृद्धि गर्दै पुस्तकालयलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै विदेशबाट महत्वपूर्ण पुस्तक र दृष्य सामग्री सहयोग गर्न विदेशमा रहेका नेपालीलाई अनुरोध गरे ।
कार्यक्रममा संघका प्रवक्ता भूषण घिमिरेले पुस्तकालयको भौतिक पूर्वाधार मात्रै सम्पन्न भएकोले अबका दिनमा त्यहाँ आ–आफ्नो स्थानबाट श्रोत साधन अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए । सो अवसरमा संघका तर्फबाट अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, ओसनिया क्षेत्रका संयोजक धर्मराज अधिकारी, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारीको उपस्थिति थियो ।