कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
711

आफूले ग्राभिटी इन्जिनको सहारामा प्राप्त गरेको बल उपभोगमा परिणत गर्नको लागि आधुनिक प्रविधिको ल्याबको खाँचो रहेको गौतमको भनाइ छ । उनले सरकारलाई यस कार्यमा आफूलाई सक्दो साथ दिन आग्रह गरेका छन् ।

अमेरिकाको मिचिगन स्टेटमा बस्दै आएका झापाका भानुभक्त गौतमले ‘ग्राभिटी इन्जिन’ निर्माणको नजिक पुगेको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विगत २७ वर्षदेखि उक्त विषयमा खोज, अनुसन्धान र अध्ययन गर्दै आएको बताउँदै आफू ग्राभिटी इन्जिन निर्माणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् ।
उनले भने, “म झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा जन्मिएको हुँ । हाल अमेरिकाको मिचिगन स्टेटमा पर्ने जनरल मोटर्स कम्पनी अन्तर्गत गेष्ट्याम्प कम्पनीमा ट्रेनर पदमा कार्यरत छु । ग्राभिटी इन्जिनसम्बन्धी खोज, अध्ययन र अनुसन्धान गर्दै आएको छु । मेरो अध्ययन, अनुसन्धान र खोजले केही तथ्याङ्कहरू प्राप्त गरेको छ ।”
उनले अघि थपे, “म सानैदेखि यस विषयमा खोज गर्दै अमेरिका पुगेको हुँ । दुबई, कतारका विभिन्न अमेरिकन ब्रान्च क्याम्पसमा कार्यरत प्राध्यापकसँग अनुसन्धान तथा अध्ययन गर्दै ग्राभिटी इन्जिन निर्माण गर्ने लक्ष्यमा पुग्दैछु । यो विषय नयाँ विषय होइन, विश्वका धेरै अनुसन्धानकर्ताहरूले खोज गरेका छन् । समय र लगानी लगाएका छन्, तर निरन्तरता दिन भने सकेनन् । यो मेरो दाबी हो, म यो प्रमाणित गरेरै छोड्छु भनेर लागेको छु । सूत्र–फलिङ रक (झरिरहेको ढुङ्गा आफै टिप्ने र आफै खस्ने) उपकरण आविष्कार गरिसकेको छु ।”
पेन्डुलमको सहाराले बल सञ्चित हुने कुरा बताउँदै अनुसन्धानकर्ता गौतमले ६५ केजीको डिभाइस सात फिटको लम्बाइमा डोरीको सहायताले झुण्ड्याउँदा त्यसलाई निरन्तर हल्लाईराख्न ४ देखि ५ केजीसम्म बल भए पुग्ने पनि सुनाए ।
उनले अघि थपे, “तर, प्राक्टिकलको रिपोर्टअनुसार के आयो भने जब ६५ केजिको भारी वस्तुलाई एकपटक मज्जाले हल्लाएर छोड्दा हल्लिरहेको पेन्डुलम ११ पटकसम्म साढे ६ केजी बल चोर्न सकिन्छ । त्यसले हामीलाई सित्तैमा साढे ६ केजि दिएर पनि चालमा रहन्छ । फलस्वरुप ११ पटक साढे ६ केजी बल पाएपछि प्राक्टिकलमा त्यसलाई फलिङ रक सूत्र प्रयोग गरी साढे ६ केजी बलले ११ केजी बल उचालेर छोडिदिन्छ ।”
उनले थपे, “जसबाट ११ केजी बल पछारिँदा कम्तिमा पनि १८ देखि २२ केजी बलमा परिणत हुन्छ । त्यसलाई गल प्रविधिबाट फेरि मल्टिपल गराई ४० देखि ४५ केजी बल ११ पटक प्राप्त हुन्छ । तर हामीलाई ६५ केजीको झुन्डिएको पेन्डुलम हल्लाउन बल वा इन्धन कति आवश्यक छ ? जबकी ६५ केजीको पेन्डुलमले हामीलाई साढे ६ केजी बल दिइराखोस् भन्नको लागि ४ देखि ५ केजी बलमात्र चाहिएको छ । तर, प्राक्टिकलको रिपोर्टअनुसार ४५ केजी बल ११ पटकसम्म प्राप्त गरिसकेका छौं । हो, यही प्राक्टिकलको रिपोर्टअनुसार हामीलाई इन्धन प्राप्त भएको हो ।”
आफूले ग्राभिटी इन्जिनको सहारामा प्राप्त गरेको बल उपभोगमा परिणत गर्नको लागि आधुनिक प्रविधिको ल्याबको खाँचो रहेको गौतमको भनाइ छ । उनले सरकारलाई यस कार्यमा आफूलाई सक्दो साथ दिन आग्रह गरेका छन् ।
उनले भने, “म विश्वका धेरै मानिसहरू असफल भएको र विज्ञानले समेत वास्ता नगरेको विषयलाई मैले उठाउने काम गरेको छु । गुरुत्वाकर्षणको सबैभन्दा ठूलो कमजोरी नै पेन्डुलम हो भनेर प्रमाणित गर्ने नेपाली बन्दै गर्दा राज्यले मलाई आवश्यक पर्ने आधारभूत कुराहरूमा साथ दिनुपर्छ भन्ने अपेक्षा छ । साथै यस विषयमा बारेमा अध्ययन, खोज र अनुसन्धान गर्न चाहनेले मसँग सम्पर्क गर्न सक्नुहुनेछ ।” उनले आफूलाई यसमा सफलता प्राप्त गर्न ‘प्रोफेसनल डिजिटल ल्याब’ को खाँचो रहेको सुनाए ।

ग्राभिटी इन्जिनको मूल सिद्धान्त
भारी पेन्डुलमलाई डोरीको सहायताले झुण्ड्याएर त्यसलाई हल्लाई त्यसैबाट थोरै–थोरै बल चोरेर त्यो बललाई (फलिङ रक) को उपकरणबाट प्रयोगमा ल्याई त्यसै बललाई दुई गुणा हुँदै चार गुणा बनाई फेरी त्यो बललाई अर्को झुण्डिएको पेन्डुलम हल्लाउन प्रयोगमा ल्याउने । किनकि झुण्डिएको भारी वस्तुलाई हल्लाउन थोरै बल भएमात्र पुग्छ । गुरुत्वाकर्षणलाई जबसम्म बाध्य भएर काम गर्ने वातावरणको सिर्जना गर्न सकिँदैन, तबसम्म त्यसलाई प्रयोगमा ल्याउन सकिँदैन । उनको खोजको मूल लक्ष्य नै गुरुत्वाकर्षणलाई बाध्य भएर काम गर्ने वातावरण सिर्जना गर्नु हो ।
यही सिद्धान्तलाई आधार मान्दै त्यो हल्लिरहेको पेन्डुलमबाट पनि थोरै–थोरै बल चोरेर (फलिङ रक) सूत्र प्रयोग गरी त्यो बललाई दुई गुणा चार गुणा बनाई अलिकति बलले पेन्डुलमलाई निरन्तर गराई त्यसबाट बचेको बलले डायनामा घुमाई विद्युत् अथवा क्लिन इनर्जि निकाल्नु हो । जसबाट मानव जातिले बिजुली वा घरेलु काममा प्रयोग गर्न सकोस् ।
गुरुत्वाकर्षणको सबैभन्दा ठूलो कम्जोरी नै पेन्डुलम हो । किन र कसरी ?
गुरुत्वाकर्षणबाट हरेक कुराहरू सतहमा पछारिन्छन् र चाल बन्द भएर रहन्छन् । पेन्डुलम पनि गुरुत्वाकर्षणले गर्दा एक पटक कुनैपनि भारी वजनदार वस्तुलाई डोरीमा झुण्ड्याएर एक पटक मज्जाले हल्लाउँदा त्यो १ सय ५० देखि २ सय पटकसम्म हल्लिरहन्छ । त्यस्तै गुरुत्वाकर्षणले हरेक चिजको चाल बन्द गर्ने काम गर्दछ । त्यस्तै गुरुत्वाकर्षणको फोर्सले हल्लिरहेको पेन्डुलमलाई गुरुत्वाकर्षणले रोक्न चाहन्छ तर एकै पटक किन रोक्न सक्दैन ?
किन पटक–पटक पेन्डुलम हल्लिरहन्छ ? किनकि गुरुत्वाकर्षण बाध्य छ । र यहि कारण हो कि जसबाट गुरुत्वाकर्षणको लामो समयसम्म चालमा रहिरहने प्रक्रिया पेन्डुलममा हुन्छ । गुरुत्वाकर्षणले हल्लिरहेको पेन्डुलमलाई हतपत रोक्न नसक्ने र रोकिहाले पनि केही समय लाग्ने भएकोले यहि अर्थमा प्राक्टिकलको रिपोर्ट अनुसार गुरुत्वाकर्षणको सबैभन्दा ठूलो कमजोरी नै पेन्डुलम हो ।
किन गुरुत्वाकर्षणबाट चल्ने ग्राभिटी इन्धन (बल) पत्ता लागिसकेको छ भनियो ?
गौतम भन्छन्, “मैले यो विषयका बारेमा खोज, अध्ययन र अनुसन्धान गरेको २७ वर्ष भयो । फलस्वरुप यो अनुसन्धान र ल्याबको प्राक्टिकल रिपोर्टले के तत्थ्याङ्क भेटिएको छ भने एउटा ६५ केजीको डिभाइस सात फिटको लम्बाईमा डोरीको साहयताले झुण्ड्याउँदा त्यसलाई निरन्तर हल्लाईराख्न ४ देखि ५ केजीसम्म बल भए प्राप्त हुन्छ । तर, प्राक्टिकलको रिपोर्टअनुसार के आयो भने जब ६५ केजिको भारी वस्तुलाई एक पटक मज्जाले हल्लाएर छोड्दा हल्लिरहेको पेन्डुलम ११ पटकसम्म साढे ६ केजी बल चोर्न सकिन्छ । त्यसले हामीलाई सित्तैंमा साढे ६ केजि दिएर पनि चालमा रहिरहन्छ । फलस्वरुप ११ पटक साढे ६ केजी बल पाएपछि प्राक्टिकलमा त्यसलाई (फलिङ रक) झरिरहेको ढुङ्गाको सूत्र प्रयोग गरी साढे ६ केजि बलले ११ केजि बल उचालेर छोडिदिन्छ ।”
झरिरहेको ढुङ्गा (फलिङ रक) भनेको के हो ?
झरिरहेको ढुङ्गा (सूत्र–फलिङ रक) भनेको कुनैपनि वस्तु हामीले सतहबाट उठाएर छोडिदिन्छौं भने स्वतः रुपमा त्यस वजन बढी सतहमा पछारिन्छ । जस्तै एक केजि वस्तु उठाएर छोडिदिन्छौं भने स्वतः रुपमा एक केजी भन्दा भारी भई सतहमा पछारिन्छ । अथवा एक केजिबाट डेढ केजीदेखि २ केजिमा परिणत हुन्छ । यहि प्रक्रियालाई सूत्र बनाई यस ग्राभिटी इन्जिनमा प्रयोग गरिएको छ । यसै प्रविधिलाई झरिरहेको ढुङ्गा (फलिङ रक) भनिएको हो ।
आफैं टिप्ने र आफैं खस्ने उपकरणको आविष्कार भइसकेको छ । किन र कसरी ?
जबकि कुनैपनि निर्जिव वस्तुमा चालको प्रक्रिया हेर्दा कुनैपनि बाहिरि शक्ति (आउटपुट इनर्जी) प्रयोग नगरी आफै–आफै प्रयोगमा आउँछ भने त्यो केले गरायो त ? किन कन त्यसमा गुरुत्वाकर्षणले बाध्य भएर काम गर्ने वातावरण सिर्जना गर्न सफल भइसकेका छौं ।
त्यस्तै रुपमा यो असम्भव थियो । तर (फलिङ रक) को सूत्र सिद्धान्त, उपकरणको प्राक्टिकल अनुसार यो सफल भएरै छाड्यो । जसरी असम्भव कुराहरूलाई सम्भवप्रायः बनाउन उपकरणको आवश्यकता पर्दछ । उपकरणको काम नै असम्भव कुरालाई सम्भव बनाउनु हो । संसारमा आफै टिप्ने र आफै खसाल्ने अहिलेसम्म नभएको र प्राक्टिकलको रिपोर्टअनुसार आफैं टिप्ने र आफैं खसाल्ने उपकरणको आविष्कार भइसकेको छ ।
पेन्डुलम भनेको के हो ?
एउटा वजनदार डिभाइसलाई डोरीको सहायताले झुण्ड्याई एक पटक मज्जाले हल्लाएर छोडिदिँदा चालमा आई हल्लिरहने प्रक्रियालाई नै पेन्डुलम भनिन्छ । यो खोज कहाँसम्म पुग्यो ? सफल हुन के–के कुराको आवश्यक पर्ला ? कति समय लाग्ला ?
गौतमको भनाइ छ, “सबैभन्दा पहिले म एक नेपाली भएको कारण गर्व लाग्छ । किनकि आज २७ वर्षसम्मको अनुसन्धान, अध्ययन र खोजको आधारमा भन्नुपर्दा अहिलेसम्म विश्वमा गरिएको ग्राभिटी इन्जिन खोज अनुसन्धान गरिएको मध्य किन सफल भएनन् ? किन छोडिए ? किन त्यसलाई पूर्ण खोजको विषय बनाएनन् ? किनकि उनीहरूले अपनाएको सिद्धान्त नै गलत थियो । मचाहिँ किन यसलाई निरन्तरता दिन चाहन्छु ।
किनकि हामीलाई यसबाट प्राप्त भएको बल अथवा इन्धन यहाँ छ भनेर देखाउन र त्यो बल र इन्धनलाई कसरी प्रयोग गर्ने भनेर प्राक्टिकल रिपोर्टले देखाइसकेको छ । यस इन्जिनमा स–साना तथा ठूला उपकरणहरू प्रयोग गरिएका छन् । यसको चाल र वातावरणलाई अध्ययन गर्दा यो इन्जिन ७५ प्रतिशत पूर्णता पाइसकेको यसको प्राक्टिकल रिपोर्टमा प्राप्त भएको कुरा हो ।
यस इन्जिनमा बल (इन्धन) यहाँनेरी छ भनेर प्रष्ट देखाउन सक्छौ । त्यो बललाई केमा प्रयोग गर्ने भनेर बाटो देखाउन सक्छौं । म यही प्रक्रियालाई पूरा गर्न डिजिटल प्रोफेशनल ल्याबको खोजिमा छु । अपेक्षा गरिएका र आवश्यक प्रविधिको उपलब्धता भएको खण्डमा यो सिद्धान्त निकट समयमै पुष्टि हुनेछ । यसभन्दा पहिले झापाको गौरादह नपामा यसै ग्राभिटि इन्जिनको उपकरणमध्ये १६औं उपकरणको अभ्यास गरेको थिएँ ।”