गोपाल संग्रौला
बुधवार, पुष २५, २०७५
530

काठमाडौं- वैदेशिक रोजगारीमा गएर कार्यक्षेत्र र अन्य कारणले मृत्यु तथा घाइते भएका नेपालीलाई क्षतिपूर्तिमार्पmत् कुवेतका रोजगारदाताले मात्र ८ करोड ५७ लाख रुपैयाँ तिरेका छन् । सन् २०१८ मा रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरुको क्षतिपूर्ति प्राप्तिका लागि कुवेतस्थित नेपाली दूतावासको पहलमा सो रकम प्राप्त भएको हो ।
दूतावासले विभिन्न कारणले मृत्यु र घाइते भएका नेपाली कामदारको लागि कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर निरन्तर प्रयास गरेपछि सो क्षतिपूर्ति रकम प्राप्त गरेका जनाएको छ । सन् २०१८ मा घाइते तथा मृतक कामदारको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित रोजगारदाताबाट प्राप्त सहयोगलगायत गरी २ लाख ४८ हजार ८३३ कुवेती दिनार अर्थात् ८ करोड ५७ लाख ४० हजार रुपैयाँ नेपाल पठाएको जनाएको छ ।
दूतावासले कामदार र मृतकका परिवारलाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई सो रकम पठाइसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त रकम घाइते कामदार र मृतकका आफन्तलाई वितरण गर्ने गरेको छ । यो रकम मध्ये ३६ मृतक नेपाली कामदारको नाममा प्राप्त भएको १० हजार ९३३ दिनार अर्थात् ३५ हजार ९३८ अमेरिकी डलर समेत समावेश गरिएको दूतावासले जनाएको छ ।
साथै सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरुका विभिन्न जटिल समस्याहरु समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ कामदार र ४४५ घरेलु कामदारहरुलाई उद्धार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाएको जनाएको छ । त्यसैगरी कुवेत सरकारले घोषणा गरेको आममाफी अवधी २९ जनवरीदेखि २२ अप्रिल २०१८ मा गैरकानुनी हैसियतमा रहेका ३ हजार ७२० नेपालीलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको छ ।
त्यसको अतिरिक्त गत वर्ष कुवेतमा हृदयघात, विभिन्न स्वास्थ्य सम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटनाका कारण मृत्यु भएका ३६ पुरुष र १२ महिलासहित ४८ जना नेपाली कामदारको शव कानुनी प्रक्रिया पूरा गरी दूतावासबाट नेपाल पठाइएको थियो । त्यसैगरी कुवेतको कारागारमा विभिन्न आरोपमा बन्दी जीवन बिताइरहेका नेपालीको सजाय माफीका लागि कुवेत सरकारसँग सहकार्य गरी गत वर्ष विभिन्न कारागारमा रहेका ७६ नेपालीमध्ये मृत्युदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन गरिनुका साथै १८ जनाको सजाय माफी गरिएको छ ।

यूएई जेलमा २०० नेपाली
खाडीका अधिकांश देशमा रक्सी प्रतिबन्धित वस्तु हो । रक्सीको सेवन र ओसारपसारलाई कानुनमा कडा सजायको व्यवस्था छ । तर, नेपाली कामदारको मृत्यु र जेल सजायको एउटा प्रमुख कारकका रूपमा मादक पदार्थ सेवन हुन थालेकोे छ । नेपाली कामदारको बाहुल्यता रहेको खाडी मुलुकमा प्रायजसो कम आयस्रोत भएका श्रमिकका लागि मादक पदार्थ खरिद र सेवन पूर्ण रूपमा वर्जित छ । नेपालमा जस्तो सर्वसुलभ तरिकाले खाडी मुलुकमा मादक पदार्थ किन्न र सेवन गर्न पाइँदैन । त्यसैले रक्सीजन्य पदार्थबाट हुने हानी र दुर्घटना कम नै होला भन्ने सोच राखिन्छ । तर, त्यस्तो अवस्था छैन सबै खाडी मुलुकमा ।
४ लाख नेपाली भएको यूएईमा पनि मादक पदार्थ सेवनको कुलतमा फसेर विभिन्न अपराधका अभियोग लाग्ने क्रम बढिरहेको छ । मादक पदार्थ सेवन गरी अपराध अभियोगमा धेरै नेपाली यूएईको जेलमा सजाय काटिरहेका छन् । नेपाल सरकारको निकायले नै सार्वजनिक गरेको एक प्रतिवेदनमा रक्सीका कारण हुने मृत्यु बढ्दै गइरहेको जनाएको छ ।
नेपाली दूतावास अवुधाबीले ७ वटा इमिरेट्समा रहेका ८ वटा कारागारको भम्रण गरी १८८ पुरुष र १२ सहित २ सय नेपाली विभिन्न अभियोगमा जेलमा रहेको जनाएको छ । दूतावासले डिसेम्बर महिनामा कारागार भम्रण गरी जेलमा रहेका नेपालीको संख्या यकिन गरेको हो । यसरी जेल परेका मध्ये सबैभन्दा बढी अल अब्बा सेन्टरल जेलमा ९४, दुवई सेन्टरजेल ६४, अलअईन जेलमा १४, सारजाह जेलमा ७ जना, अजमान सेन्टरल र रस अल खैईमा जेलमा ४ र फुनेरा सेन्टरल जेलमा १ नेपालीले बन्दी जीवन बिताइरहेको दूतावासले जनाएको छ ।
यूएईमा सबैभन्दा बढी मादक पदार्थ सेवन र योसँग सम्बन्धित विभिन्न अभियोगमा ११६ नेपालीले जेल जीवन बिताइरहेको दूतावासले जनाएको छ । मदिरा सेवनकै ५७ प्रतिशत नेपाली यूएई जेलमा परेको दूतावासले जनाएको छ । यसरी जेल पर्नेमध्ये मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झगडा गर्ने कारणले धेरै नेपाली जेलमा रहेको देखिन्छ । यसैगरी चोरी र डकैती अभियोगमा २० जना अर्थात् १० प्रतिशत नेपाली यूएईका जेलमा रहेको दूतावासले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी ६ प्रतिशत अर्थात् १२ जना नेपाली हत्या र हत्या प्रयास अभियोगमा जेलमा रहेको जनाइएको छ । बाँकी अन्य विभिन्न अभियोगमा जेलमा रहेका छन् ।
नेपाली कामदार मदिराजन्य अपराधमा जेल पर्ने र मृत्यु हुने क्रम बढेपछि दूतावासले समेत चिन्ता व्यक्त गरेको छ । दूतावासले प्रतिकूल अवस्थामा मादक पदार्थ सेवन नगर्न समेत कामदारलाई सुझाव दिइएको छ । नेपाली नागरिक मदिराका कारण विभिन्न समस्यामा पर्न थालेपछि सचेतना कार्यक्रम नै गर्न दूतावास बाध्य भएको छ । २ वर्षको तथ्यांक हेर्ने हो भने नेचुरल डेथ (प्राकृतिक मृत्यु)मा मदिरा सेवनका कारण मृत्यु हुने तेस्रो स्थानमा रहेको छ । २ वर्षमा मात्र यूएईमा ९ नेपाली कामदारको अधिक रक्सी सेवनपछि मृत्यु भएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा दुई जना र ०७२÷०७३ मा ७ जना नेपाली कामदारको मृत्यु भएको थियो । मदिरा सेवनका कारण हुने मृत्युको संख्या एक वर्षको अन्तरालमा बढेको देखिन्छ ।