कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
324

संयुक्त अरब इमिरेट्स (यूएई) ले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका विदेशीलाई वैधरुपमा बस्न वा स्वदेश फर्कन समयावधि थप गरेको छ । वैधानिक हुन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महिनाका लागि थप गरेर मंसिर १५ गतेसम्म पु-याइएको हो
यसअघि यूएई सरकारले बिना कागजात रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीन महिने आममाफीको घोषणा गरेको थियो । आबुधाबीस्थित नेपाली दूतावासले बिना कागजात बसोबास गर्दै आएका नेपालीलाई यूएई सरकारले दिएको आममाफीको सदुपयोग गर्न पुनः आग्रह गरेको छ । आममाफीको समयावधि थप भएसँगै आगामी मङ्सिर १५ गतेसम्म उक्त कार्यक्रमबाट लाभ लिन सकिने दूतावासले जनाएको छ ।

प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरू आममाफी सम्बन्धी व्यवस्थाबाट लाभान्वित हुनसक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार यूएईको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविष्यमा यूएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।
साथै वैधरुपमा यूएईमा बस्न चाहनेले काम खोज्न यूएई सरकारले तोकेको ५०० दिराम (करिब रु १५ हजार) शुल्क तिरी ६ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्ने जनाईएको छ ।
त्यस्तै युएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।