कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
3922

यूएई - स्याङ्जा चापाकोट नगरपालिका–१० घर भएका जीवन पंगेनी १० वर्षपछि दसैं मान्न यही शुक्रबार घर फर्कंदैछन् । स्याङ्जाकै प्रकाश ढकाल भने गत हप्ता नै नेपाल फर्किसकेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा १५ वर्ष यूएईमा बिताएका पंगेनी यो अवधिमा एक पटकमात्रै दसैंको टीका लगाउन दसैं पुगेका छन् । वैदेशिक रोजगारीको बेलामा दसैंको बेलामा छुट्टी नपाएको अनुभव सुनाउँदै उनले ९० वर्षकी हजुरआमाको हातबाट टीकाजमरा लगाउन १४ दिनको लागि नेपाल फर्किन लागेको सुनाए । यूएईमा ड्राइभिङ काम गर्दै आएका पंगेनी अरु वर्षको भन्दा यस वर्षको दसैं विशेष हुने बताउँछन् ।
पंगेनी र ढकाल त प्रतिनिधिमात्रै हुन् । दुई लाख ५० हजार नेपाली रहेको यूएईबाट मात्रै दसैं मनाउनको लागि करिब एक लाख नेपाली नेपाल फर्कंदैछन् । नेपालीहरुको महान चाड दसैं मान्नको लागि आफ्नो देश फर्कने चाहना त कसलाई हुन्न र ? तरपनि कतिपयले छुट्टी नै पाउँदैनन् भने कतिपयले छुट्ठी पाए पनि महँगो टिकटका कारण नेपाल फर्कन पाउँदैनन् ।
देशमा रोजगारी नभएपछि बिदेसिन बाध्य भएका नेपालीहरुले प्रवासमा न त चाडबाडको रौनक नै चाख्न पाउँछन् न त बिरामी हुँदा गतिलो उपचार नै । तैपनि घर परिवारको खुसीका लागि फोनमा बोल्दा या पत्र लेख्दा भने आफू सञ्चै रहेको सन्देश दिन्छन् । चाडबाडको नजिक पर्ने शुक्रबार पारेर कार्यक्रम चाड बाड मनाउने गर्छन् प्रवासीहरु ।

उडान थप
धेरै नेपालीहरु नेपाल फर्कने हुँदा एयरलाइन्स कम्पनीहरुले पनि यही अवसर पारेर भाडा निकै महँगो गर्ने गरेका छन् । कतिपयले त यही दसैंको अवसर पारेर नियमित उडानभन्दा केही बढी उडान पनि गरेको पाइन्छ । भाडा पनि अन्य महिनामा भन्दा डबलसम्म गर्ने गरेका छन् ।
अन्य महिनामा दैनिक तीनवटा नेपालको लागि उडान गर्ने एयर अरेबियाले दसैंको एक महिनाको लागि दिनको सात वटा उडान गरेको छ । १५८ यात्रु बोक्ने क्षमता भएको जहाजले मात्रै दसैंको लागि ३३ हजार १ सय ८० नेपाली बोक्ने अनुमान छ ।
त्यस्तै, दैनिक दुईवटा उडान गर्ने फ्लाई दुबईले भने दसैंको लागि चार वटा उडान गर्दैछ । १७९ यात्रु बोक्न सक्ने जहाजले दसैंको एक महिनामा मात्रै २१ हजार ४ सय ८० यात्रु बोक्छ । नेपाल एयरलाइन्सले दैनिक उडानमा १५८ का दरले यात्रु बोकेको हुन्छ । त्यस्तै, हिमालय एयरलाइन्सले पनि दैनिक १५८ का दरले यात्रु बोकिरहेको छ भने इतिहाद एयरलाइन्सले दैनिक १८० प्यासिन्जरसहित दुई वटा उडान गर्छ ।
कतिपयले दसैंको लागि सिधै नेपाल उडान नगरे पनि अन्य देश हुँदै नेपाल जानको लागि यूएईबाट उडान गर्ने गर्छन् । ओमन हुँदै सलाम एयरलाइन्सले १५८ यात्रु क्षमताससहित नेपालको लागि उडान गर्छ भने ओमन हुँदै ओमन एयरलाइन्सले १८० सिट क्षमता भएको जहाजबाट दुईवटा गर्ने गर्छ ।
विभिन्न देश गएर केही समय रोकिएर भए पनि यतिबेला नेपालको लागि उडान भर्ने जहाजहरु सबै सिट भरिएको नै देखिन्छ । त्यस्तै, भारत हुँदै जेट एयरलाइन्सले नेपालको लागि दैनिक चारवटा उडान गर्छ । त्यस्तै, १५८ सिट क्षमता भएको इन्डिगो एयरलाइन्सले दैनिक एउटा उडान गर्ने गर्छ । १५८ सिटसहित एयर इन्डियाले दुईवटा उडान गर्छ ।
अन्य समयमा भन्दा पनि धेरै उडान गरेपनि धेरै नेपालीहरुले टिकट नपाएको नमस्ते ट्राभलका सञ्चालक एकेन्द्रबहादुर थापाले बताए । विगतका वर्षभन्दा यस वर्ष दसैंमा घर जाने नेपाली बढेको उनको भनाइ छ ।

दसैंमा घर फर्किन नपाउनेको पीडा
रोजगारको सिलसिलामा यूएईमा रहेका ओखलढुंगा चिसङ्खु–७ ओखरेका अर्जुन गुरुङले दसैं नमनाएको पाँच वर्ष भयो । यूएईमै रहेका गोपीकृष्ण पंगेनीले पनि दसैंमा टीका नलगाएको १५ वर्ष भयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार, साउदी हुँदै हाल यूएईमा रहेका गुरुङ चाडबाडको बेलामा आमाबुबा, भाइबुहारीलगायत घरपरिवारको निकै सम्झना आउने बताउँछन् । रोजगारीसँगै गीतसंगीतमा लागेका गुरुङले प्रवासी कलाकारहरुको प्रतिभा उजागर गर्न युट्युब च्यानलसमेत सञ्चालन गर्दै प्रवासमा रहेका प्रतिभाहरुलाई स्थान दिँदै आएका छन् ।
करिब दुई लाख ५० हजार नेपाली रहेको यूएईमा करिब एक लाख दसैं मान्न घर फर्किए पनि अन्य नेपालीले भने गुरुङ र पंगेनीले जस्तै दसैंको दिन काम गरेरै बिताउने गर्छन् ।

संघसंस्थाहरूका कार्यक्रम
धेरै नेपालीहरु नेपाल फर्किने हुँदा अन्य चाडबाडमा जस्तो दसैंमा संघसंस्थाहरुले धेरै कार्यक्रम आयोजना गरेको पाइँदैन । गत हप्ता धादिङ समाज यूएईले पानीजहाजमा दसैं शुभकामना कार्यक्रमको आयोजना गर्यो । त्यस्तै, विगतका वर्षमा श्री कृष्णगण्डकी सहयोग समाजले पनि सामूहिक टीका लगाउने कार्यक्रम गर्दै आएको थियो । यस वर्ष पनि विभिन्न संघसंस्थाले सामूहिक टीकाटालो कार्यक्रम गर्ने जनाएका छन् ।
-भूपराज बस्याल