कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
537

काठमाडौं/यूएई । हिन्दू महिलाको प्रमुख चाड तिज प्रवासमा रहेका नेपाली महिलाले पनि भव्य रुपमा मनाएका छन् । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि विदेशमा बस्दै आएका महिलाले आफ्नो समय अनुकूल तिज मनाउँछन् । विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा आयोजना गरी तिज मनाएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का विभिन्न समितिले तिज कार्यक्रमको आयोजना गरेको समाचार प्राप्त भएको छ ।

फ्रान्समा तिज धमाका
फ्रान्समा तिजका लागि ३ जना नेपाली कलाकार पुगेका थिए । नलिना चित्रकार, मिलन लामा र रिता केसीको उपस्थितीमा प्रस्तुत गरिएको सांगीतिक कार्यक्रममा उल्लेख्य रुपमा नेपालीहरूको सहभागिता रहेको थियो । गायिका रिता केसीले आफ्ना तिजका गितहरू गाएर महिलाहरूलाई नचाएकी थिइन् । सो अवसरमा फ्रान्समा रहेका नेपाली महिला दिदीबहिनीहरूलाई निःशुल्क तिजको दर खुवाउने कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परालाई आत्मसात् गर्दै नेपाली समाजमा एकता, भातृत्व र सद्भावलाइं निरन्तरता दिने उद्देश्यले कार्यक्रम गरिएको हो । सो अवरमा एनआरएनए एनसीसी फ्रान्सका अध्यक्ष एकबहादुर मल्ल, प्रमुख अतिथि फ्रान्सस्थित राजदूत अम्बिका देवी लुइँटेल, एनआरएनए एनसीसी फ्रान्सका पूर्व तथा वर्तमान पदाधिकारीहरू, अन्य संघसंस्थाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

अमेरिकाको भर्जिनियामा ‘तिज कार्यक्रम २०७५’
नेपाली महिलाको महान पर्व तिजको अवसरमा अमेरिका–नेपाल सहयोगी समाजले अमेरिकाको भर्जिनियामा ‘तिज कार्यक्रम २०७५’ भव्यताका साथ सम्पन्न गरेको छ । भर्जिनियाको हे मार्केटमा आयोजित कार्यक्रममा डिसी मेट्रो एरियामा बस्ने नेपालीहरूको उल्लेखनिय सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरू रातो साडी, चोलो तथा विभिन्न किसिमका गरगहना लगाएर सहभागी भएका थिए । तिजको भाकामा छमछमी नाचेर नेपाली महिलाले रमाइलो गरेका थिए । संस्थाले स्थापनाकालदेखि नै परम्परा, संस्कृति तथा सहयोगी भावनालाई प्रवर्धन गर्दै विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको आयोजकले बताएका छन् ।

मेलबर्न र जिलोङमा पनि कार्यक्रम
दिदीबहिनी समाज भिक्टोरियाले विगत चार वर्षदेखि मेलबर्नमा आयोजना गरिने तिजबाट संकलित रकम नेपालको सुदूरपश्चिमका बलात्कृत ४५ जना महिलालाई पुनस्र्थापनाको खर्च व्यवस्थापनका लागि स्थानीय संस्थालाई सहयोग गरिएको छ । बलात्कारका घटना बढिरहेकोले दिदीबहिनी समाज भिक्टोरियाले मेलबर्नमा आयोजना गरिने तिजको खर्च घटाई आर्थिक सहयोग गर्ने योजना रहेको जनाइएको छ । नेपालका बलात्कृत महिलालाई पुनस्र्थापनाको लागि संकलित रकम बढाउने उद्देश्य अनुरुप संस्कृति जोगाऔं, आशा जगाऔं नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) संग संयुक्त रुपमा आयोजना गरिएको सो तिज कार्यक्रममा ६०० भन्दा बढीको उपस्थिति थियो ।
त्यस्तै जिलोङमा आयोजित तिज कार्यक्रममा संकलित रकम दिदीबहिनी समाज भिक्टोरियामार्फत् नेपालका बलात्कृत महिलालाई पुनस्र्थापनाको लागि सहयोग गर्न दिदीबहिनी समाज भिक्टोरियालाई हस्तान्तरण गरिने भएको छ । लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहुआयामिक महत्व हुँदाहुँदै यसरी आयोजना गरिने कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठूलो महत्व हुने बताए ।

चितवन समाज यूएइद्वारा निःशुल्क दर
चितवन समाज युएईको आयोजनामा गत शुक्रबार वरदुबईको सिल्भर स्पोन रेस्टुरेन्टमा निःशुल्क दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हेर्नकै लागि पैसा असुल्ने परिपाटी चलिरहेको बेला समाजले युएईमा सांस्कृतिक कार्यक्रमको साथमा निःशुल्क दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । प्रवासमा रहँदा माइतीको झझल्को मेटाउन समाजले गरेको काम सहरानिय रहको सहभागी महिलाले बताएका छन् ।
समाजका अध्यक्ष गणेश न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा युएईमा रहेका विभिन्न संस्थाका प्रमुख, पत्रकारलगायत नेपाली नारीहरूको उल्लेखनीय सहभागीता रहेको थियो । स्वागत मन्तव्य राख्दै सीता सुवेदीले माइती बनेर दर खुवाउने कार्यक्रम गर्ने आयोजकलाई धन्यवाद दिँदै सबैलाई कार्यक्रममा मनोरञ्जन लिन पनि आग्रह गरेको एनआरएनए न्युजले जनाएको छ । यसैगरी कपिलवस्तु समाज सेवा परिषद् युएईले पनि तिज कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै स्याङजा सहयोग समाज युएई र रुपन्देही सेवा समाज युएईले पनि तिज कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

नागोयामा तिज विशेष एकल नृत्य प्रतियोगिता
तिजको अवसरमा जापानको नागोयामा तिज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ जापान होकुरिकुको आयोजनामा नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा एकल तिज गीत नृत्य प्रतियोगिता तथा निःशुल्क दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सेप्टेम्बर ८ मा दिउँसो १ बजे बाट साँझ ८ बजेसम्म नागोयाको नाकाकुस्थित साकुरा काईकान हलमा भएको आयोजकले बताएका छन् ।
जापानबासी नेपाली दिदिबहिनीहरूको कलालाई मध्यनजर गर्दै सेप्टेम्बर ५ तारिखसम्मका लागि नामावली दर्ता खुल्ला गरिएकोमा बाह्र जना प्रतियोगिहरू सहभागी भएका थिए । प्रतियोगितामा तनुजा शर्मा, मार्साङ लामा, जानकी राना, सहारा पौडेल, अस्मिता खरेल, मिरा थापा, एलिना लामा, अनिता राई, यमु थापा, माया पुर्जा मगर, पूजा अर्याल र दिपा सिटौलाको एकल नृत्य प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरूले नाच्ने गीत ५ मिनेटभन्दा कम हुनु पर्नेछ भने प्रतियोगीहरूको भेषभुषालाई पनि विशेष प्राथमिकतामा राखिएको आयोजकले बताएका छन् । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिलाई क्रमशः ५० हजार, ३० हजार र १० हजार जापानी येन नगद पुरस्कार तथा प्रतियोगी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । धादिङ समाज जापान, क्षेत्रीय समिति नागोया समेत सहआयोजक रहेको उक्त कार्यकममा निःशुल्क दर खुवाएका थिए ।

युएईमा ३९ वटा तिज कार्यक्रम, ८३ लाख खर्च
नेपाली नारीहरूको चाड तिजको अवासरमा युएईमा सानाठूला ३९ वटा कार्यक्रम कतै सकिएका छन् भने कतै कार्यक्रम हुने तयारीमा छन् । प्रवासी नेपाली मञ्चले युएईले अबुधाबिको फल्कोर थिएटर हलमा अगस्ट दश तारिख तिज विशेष कार्यक्रम गरेसँगै युएईमा तिज कार्यक्रमहरू सुरु भएका छन् । गायिका सम्झना भण्डारी, गायक वैकुण्ठ महत र हास्य कलाकार पुरुषोत्तम भण्डारीको विशेष प्रस्तुति रहेको कार्यक्रममा युएईमा रहेका नेपाली कलाकारहरूको पनि विशेष प्रस्तुति रहेको थियो ।
शुक्रबार बिदा हुने युएईमा यही बिदाको दिन पारेर कार्यक्रमहरू भएका हुन् । नाचगानको चाड भएको हुनाले पनि वर्षमा एकपटक सबैले कार्यक्रममा जाने योजना बनाउने हुदा पनि अहिलेसम्म तिजको अवसर पारेर गरिएका कार्यक्रमहरू आर्थिक रूपमा सफल हुने देखिएको छ ।
करिब एक सयको हाराहारीमा युएईमा रहेका सामाजिक संघसंस्थाले कहिले संयुक्त त कहिले छुट्टाछुट्टै कार्यक्रमहरू गरेका हुन् । प्रायः संघसंस्थाले नाफा भएको रकम समाजिक कार्यमा लगाउने भनेर घोषणा नै गरेर कार्यक्रम तय गरेका छन् भने कतिपयले युएईमा भएका दिदिबहिनीलाई जम्मा गरेर दर खुवाउने कार्यक्रम गरेका छन् ।

खर्चिलो कार्यक्रम
युएईमा करिब एक सयको हाराहारीमा सामाजिक संस्थाहरू रहेको पाइन्छ । प्रायः सबै जिल्लाका आ–आफ्नै संस्थाहरू छन् । त्यसबाहेक गाउँपालिका स्तरीय, प्रदेश स्तरीय, विभिन्न जातजाति, राजनीतिक दलका भ्रातृ संघसंगठनहरू पनि सकृय छन् । प्रायः समाजले तिज कार्यक्रम गर्ने गरेको यो परिपाटीमा कसैले संयुक्त त कसैले एक्लाएक्लै कार्यक्रम गरेका छन् ।
नेपालबाट कलाकार ल्याएर गरिने कार्यक्रम युएई सरकारबाट मान्यता लिएर गर्नुपर्ने हुन्छ । यस्ता कार्यक्रमको खर्च पनि ठूलो हुन्छ । यस्ता कार्यक्रम गर्दा कम्तीमा पनि युएई २१ हजार दिराम (नेपाली ६ लाख ५० हजार) खर्च लाग्ने गर्दछ । यस्ता प्रकृतिका कार्यक्रम दश वटाजति छन् ।
युएईमा टिकटमात्रै काटेर होइन, महिलाहरूलाई जम्मा गरेर निःशुल्क दर खुवाउने कार्यक्रम पनि भएका छन् । यस्ता कार्यक्रम गर्दा युएई सरकारबाट कार्यक्रम गर्नको लागि स्वीकृति लिनुपर्दैन । यस्ता साना कार्यक्रम गर्नको लागि कम्तीमा पनि युएई दिराम दुई हजार (नेपाली ६२ हजार) खर्च हुन्छ । यस्ता साना कार्यक्रममा मात्रै करिब नेपाली १८ लाख खर्च भएको छ ।