कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
667

तेह्रथुम- यूएईको दुबई जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२ मझुवाका खड्कबहादुर जोगी बचाउ अभियान सुरु भएको छ । हत्या आरोपमा जेलमा रहेका जोगीलाई बचाउन अभियान सुरु गरिएको फेदाप गाउँपालिका घर भई हाल ईजरायलमा कार्यरत देव बास्कोटाले बताए ।
बास्कोटाका अनुसार जोगीलाई नेपाल फर्काउनका निम्ति विभिन्न समिति निर्माण गरी अभियान सुरु गरिएको छ । दुबई पुगेको १४ महिनापछि हत्या अरोपमा जेल परेका जोगीलाई ब्लडमनी तिर्न नसके मृत्यृदण्ड दिने तयारी त्यहाँको सरकारले गरेको छ ।

उनी जेल बसेको करिब चार वर्ष पुगिसकेको छ । ५ वर्षसम्म पनि ब्लडमनी करिब नेपाली रुपैयाँ ६० लाख तिर्न नसके उनलाई मृत्यृदण्ड दिइने बताइएको छ । अल गल्फ डिप्लोमन्ट कम्पनीमा कार्यरत जोगी एक फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा जेल परेका हुन् । ड्युटी जाने क्रममा उनीसँगै गाडीमा बसेका फिलिपिन्सका नागरिक गाडीबाट झरेको र कम्पनीका सुपरभाइजरको निर्देशनमा आफंैले अस्पताल लग्दा घाइतेको मृत्यु भएको थियो ।
काठमाडौंको एक कम्पनीमार्फत् दुबई पुगेका जोगीले भनेजस्तै काम र दाम पाएपछि सुरुसुरुमा उनी निकै दंग थिए । कम्पनीको सबैभन्दा इमान्दार कामदारका रुपमा परिचय बनाएका खड्कबहादुरले काम गर्न थालेकोे दश महिनामा आफू जाँदा लागेको ऋण चुक्ता गरेका थिए । गाडीबाट झरेका घाइते व्यक्तिको ज्यान बचाउन खोज्दा अस्पतालमै उसको मृत्यु भएको र आफू निर्दोष रहेको अदालतमा पटक पटक बयान दिए पनि सुनुवाई नभएको उनले दुखेसो पोखेका छन् ।
राजधानी आबुदाबीस्थित सेन्टर जेल नं. ११०२८१७२३१२७७८७४ मा थुनिएका जोगीलाई दुबई अदातलले ब्लड मनिको रुपमा नेपाली रुपैयाँ करिब ६० लाख माग गरेको उनकी श्रीमती डम्बाकुमारी जोगीले बताइन् । दुई छोराछोरी, श्रीमती र आमा गरी ६ जना रहेको जोगी परिवारलाई ब्लडमनि जम्मा नगरे आफ्नो घरको मुख्य सदस्य नै गुमाइने चिन्ताले सताएको छ । आर्थिक अवस्था कमजोर रहेको जोगी परिवारमा कमाउने व्यक्ति जेल परेपछि उनका परिवारले ब्लड मनि संकलन थालेका छन् । ५० वर्षिय जोगीलाई फाँसी हुनबाट बचाउन आर्थिक सहयोगका लागी सबैसँग याचना गरेको खड्कबहादुरका आफन्त कुमार गिरीले बताए ।