कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
1671

काठमाडौं-वृद्धलाई कुटपिट र दुव्र्यवहार गरेको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ परेका छन । केयर गिभरको काम गर्दै आएका नेपाली युवा प्रकाश पौडेललाई एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।
वृद्धको हेरचाह गर्ने काम गर्दैै आएका पौडेलले वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरको भिडियो फुटेज सार्वजनिक भएपछि अष्ट्रेलियन प्रहीले उनलाई पक्राउ गरेको थियो । ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी थिइन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् ।
बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो । डेभिड एड्भान्स डिमेन्सियाबाट ग्रस्त थिए । यही कारण उनको पूरै हेरविचार होस् भनी उनलाई परिवारले नर्सको जिम्मामा केयर होममा राखेको एनआरएन न्युजले जनाएको छ । प्रकाशले काम गर्ने एजेन्सीले उनलाई जागिरबाट निकालिदिएको छ । तर, यो उनले काम गर्ने एकमात्र ठाउँ भने होइन । उनी ह्वीलर हाइटको अर्को नर्सिङ होममा पनि पार्टटाइम काम गर्छन् । उनलाई नर्सिङ होमबाटै पक्राउ गरिएको हो ।