कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५
507

गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा बेलायतस्थित गैरआवासीय नेपाली समुदाय लगायत देश विदेशबाट आउने पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो ।
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुबेदीको आथित्यमा सम्पन्न अपाङ्गता भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रममा एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी आदिको प्रस्तुतिलाई दर्शकले मन पराएका थिए ।

त्यस्तै नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी, नेत्र राना, अलिशा लामा सुची राइ, बिनाका पुन लगायतले आफ्ना विशेष प्रस्तुति दिएका थिए भने पूर्व मिस युके नेपाल गौमाया गुरुङ कार्यक्रम संचालन गरेका थिए । संघ बेलायतका उपाध्यक्ष प्रेम गाहा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बेलायत स्थित संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु लगायतको उपस्थिति रहेको नेपाल ब्रिटेन अनलाईनले जनाएको छ ।
अपाङ्गता भएकाहरुको सहयोगार्थ कार्यक्रमले सहयोग राशी जम्मा पार्ने काममात्र नभई अन्य शारीरिक रुपले सबलहरुलाई पनि हौसला र प्रेरणा दिने काम गरेको भन्दै यस्तो महान कार्यको लागि संघका उपाध्यक्ष प्रेम गाहा मगर धन्यवाद दिएका थिए । संघ बेलायतका अध्यक्ष योग कुमार फगामीले अपाङ्गगता भएकाहरु शारीरिक रुपले अपाङ्गता भएता पनि मनोबल र इच्छा शक्तिले अपाङ्गता नहुने सन्देश दिए ।