कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५
556

चर्चित लोक गायक खड्ग गर्बुजाको आत्मकथा ‘मोडिएको बाटो’ पुस्तकमाथि अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा गर्बुजाले आफूले राम्रो कुरा बाहिर आउन्, नराम्रो कुरा भित्रै लुकुन् भन्ने प्रकारको पुस्तक पढिरहेको वर्तमान समयमा आफूले भित्र जे छ त्यही देखाएर किताब लेखेको बताए ।
जीवनमा दुर्घटनाको कारण आफ्नो खुट्टा नचल्ने भएर ह्वीलचेयरमा हिँडनुपर्ने भए पनि आफू अविरल लोक संगीतमा लागेको उनले सुनाए । “जीवनको मोडमा खाना खाने पैसा नहुँदा राजधानीमा दुःख पाएको, यौन जीवन, गायन जीवनलगायतका कुरा पुस्तकमा ल्याएको छु । जे–जस्तो हुँदा पनि गायन आफूसँगै शरीरजस्तै हिँडेको छ,” उनले भने ।

लेखन कुञ्जमा भएको कार्यक्रममा पुस्तकका सम्पादक अमृत दाहालले पुस्तकको उत्पत्ति फरक क्षमताका बाबजुद लडिरहेको देखेर खड्ग गर्बुजाको पुस्तक सम्पादन गरेको बताए । “बजारमा आएका बायोग्राफÞीभन्दा नितान्त फरक छ , प्रेरणादायी कुरा पुस्तकमा समेटिएको छ,” उनले भने ।
घोष्ट राइटिङ नेपालका सम्पादक टंक पन्तले राज्यले माया गर्ने राज्यका लागि चाहिने व्यक्तिको पुस्तक मोडिएको बाटोमा आएको बताए । प्रकाशक घोष्ट राइटिङ नेपालले प्रत्येक मान्छे पुस्तक भएको र त्यसका लागि आफू लागिरहेको र खड्ग गर्बुजाको पुस्तकले ग्लुकोजकै काम गर्ने उनले बताए ।
फरक क्षमताका लेखक खड्ग गर्बुजाले फरक क्षमताका मान्छेलाई नेपालमा भएको दुःखको बारेमा प्रस्ट पारे । “हामी आफ्नो ढङ्गमा बाँचेर आफूले अरूलाई पाल्न सकिने अरूको भर पर्नु नपर्ने यसले देखाउँछ,” उनले भने ।