मेगराज खड्का
बिहिवार, चैत्र २१, २०७५
607

रुकुम पूर्वको भूमे गाउँपालिकाले गाउँको मुहार फेरेको छ । पहिले विभिन्न आफूखुसी रङ भएका घरहरु भएपनि अहिले भूमेको बस्ती नै हरियाली बनेको छ ।
सबै बस्तीहरु हरियो बनिरहँदा गाउँको मुहार नै सुन्दर भएको छ । गाउँ नै हरियाली बनेपछि हरियो नै गाउँको पहिचान बनेको भूमे ३ सिमाका रविन्द्र पुनले बताए । उनका अनुसार अन्य ठाउँबाट हेर्दा हरियो गाउँ देखिएपछि भूमे नै हो भन्ने चिन्न सजिलो पनि भएको छ । “गाउँपालिकाले लिपपोत गरेर हरियो रङ लगाउने कार्यक्रमले हामीलाई घरआँगन सरसफाइमा प्रतिस्पर्धाले काम गर्नेमा प्रेरणा मिलेको छ,” पुनले भने, “घरछिमेक सिँगारेर सफा गर्नुपर्ने रहेछ भन्ने ज्ञान आएको छ ।”

हरियाली गाउँ बनाउनको लागि भूमे गाउँपालिकाको गाउँसभाबाट निर्णय भएको थियो । जस अनुसार भूमे गाउँपालिकाले ‘ग्रिन भूमे, क्लिन भूमे’ को नारा सहित अभियान सञ्चालन गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनका अनुसार गाउँपालिकाले हरेक घरलाई निःशुल्क पाँच किलो हरियो रङ दिने निर्णय गरेको थियो । “उक्त रङले नपुगे घरधनी आफैं थप्नुपर्ने निर्णय भएको थियो र कोही कोहीले थपे पनि,” अध्यक्ष बुढामगरले भने, “हरियो टोल निर्माण गर्ने अभियानले तिव्रता पाइरहेको छ । ३ हजार ८ सय ३६ घरधूरीमध्ये हालसम्ममा ४० प्रतिशत घर हरियो बनेका छन् ।”
गाउँ टोल हरियाली बनाउन गाउँपालिकाले गत वर्षदेखि नाङ्गो वनपाखाको लागि बिरुवा रोप्ने काम पनि चलाइरहेको छ । नाङ्गो पाखामा वृक्षारोपण गरेर हरियो गाउँसँगै भूमे वातावरण नै हरियो बनाइने गाउँपालिकाले जनाएको हो ।