हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा किरण केसी, लोकप्रिय गायकद्वय सत्यराज आचार्य, स्वरुपराज आचार्य तथा नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा नेपग्यास्मले आफ्नो पाँचौं संस्करणको स्ट्यान्डअप कमेडी सम्पन्न गरेको छ । नेपग्यास्मका डोरेस खतिवडा, लेखमणी त्रिताल, विवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारीको प्रस्तुतिमा राजनीति, समाज आदिका अनेक किस्सा अनि व्यंग्यले राष्ट्रिय सभागृहमा उपस्थित दर्शक रमाएका थिए ।
डोरेस खतिवडाबाट प्रारम्भ भएको स्ट्यान्डअप कमेडीको समापन ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणी त्रितालको प्रस्तुतिबाट सम्पन्न भएको थियो । सो अवसरमा मदनकृष्ण श्रेष्ठ तथा किरण केसीलाई सम्मानपत्र पनि प्रदान गरियो । सम्मानपछि कलाकार केसीले दर्शकहरुको अपार उपस्थिति र नयाँ कलाकारहरुको काम देखेर हर्षित भएको र नेपाली हाँस्यव्यंग्यको डोरी नयाँ पुस्ताले मज्जाले हाँक्नसक्ने विश्वास व्यक्त गरे ।