कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
261

पाल्पा- नेपालीहरूको महानपर्व शुभदीपावली (तिहार) नजिकँदै गर्दा पाल्पा जिल्ला सदरमुकामलगायतका बजारहरूमा उपभोक्ताहरूको तिहार किनमेल गर्ने भीड बढेको छ ।
दैनिक उपभोग्य सामग्रीहरू चामल, ध्यू, तेल, मैदा, भेली, टीकाको सामग्री, चिनीलगायतका उपभोग्य वस्तुहरूको खरिद बिक्री बढेको छ । यस्तै तिहारमा उपाहार दिनका लागि उपहारका सामग्री, ढाकाका कपडा, फेन्सीहरूमा समेत ग्राहकको भीड बढेको छ ।

तिहारमा अन्य समय प्रायः सुनसान देखिने फेन्सी, कस्मेटिक, खाद्य स्टोर्सहरूसमेत अहिले ग्राहकले भरिभराउ र निकै नै चहलपहल बढेको सम्बन्धित व्यवसायीहरूले रानीमहललाई बताए ।
पछिल्लो समयमा पाल्पा सदरमुकाम तानसेनमा खाद्य तथा फेन्सी पसल, भारतीय टीका व्यापारीकहाँ उपभोक्ताको भीड नै लागेको छ, पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्षसमेत रहेका व्यवसायी शैलेन्द्र भट्टराईले भने, तिहार नजिकिँदै गर्दा व्यवसायीको कारोबारसमेत बढेको छ ।
अन्य समयको तुलनामा तिहारमा बढी उपभोग्य सामग्री चामल, चिनी, तेल, मिठाइलगायतका सामग्रीहरूको बढी माग हुने गरेको भट्टराईले बताए, अन्य समयको तुलनामा यहाँका व्यवसायीको कारोबारसमेत दोब्बर तेब्बर हुने गर्छ ।
तिहारको समयमा आफ्ना दाजुुभाइलाई उपाहार दिने प्रमुख माध्यमको रूपमा परम्परादेखि नै पाल्पाली ढाकाको प्रयोग हुने गरेको छ, कार्की ढाकाका सञ्चालक समेत रहेका पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमल कार्कीले भने, तिहारको समयमा ढाकाको व्यापार दोव्वर, तेब्बर हुने गर्दा यहाँका व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।
ढाकाको टोपी, स्टाकोट, पछ्यौरी, चोलीलगायतका वस्तुहरू तिहारमा उपाहरको रुपमा दिने गरिन्छ ।