कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५
681

पाथीजस्तै आकारको डाँडा (३ हजार ७ सय ९४ मिटर) । हिउँदयामको बिहानी । उघ्रिएको मौसम । न जाडो न गर्मी । न झरी न बादल । निलो आकाश । पहाडका थाप्लामा सेतो कुहिरो । आँखै अगाडि सेताम्मे कञ्चनजंघा हिमाल (८ हजार ५ सय ८६ मिटर) ।
मान्छेको पासपोर्ट फोटो आकारको कुम्भकर्ण हिमाल (७ हजार ७ सय १० मिटर) । चारैतिर जंगलले ढाकेको पहाडमा उदाउँदो सूर्यको किरण । मन्दिर वरिपरि परेवाको माकमाक...घुर्रघुर्र आवाज । किर्लिङ किर्लिङ र गर्लाङ गर्लाङ साना–ठूला घन्टीको एकोहोरो आवाज । धुपको सुगन्ध । ज्याकेट÷स्विटरमा सजिएका बालबालिकादेखि वृद्धवृद्धासम्मका दर्शनार्थी । प्रायःको हातमा पूजा सामग्री । कोही पूजा सकेर फर्कदै गरेका त कोही तयारीमा जुटेका । अनि पृष्ठभूमिमा हिमाल देखिने गरी मोबाइलबाट तस्बिर खिच्ने र खिचाउनेको होड ।

यस्तै दृष्य देखिन्छ आजभोलि पाथीभरामा । के तपाईं पनि पाथीभरा आउने तयारीमा हुनुहुन्छ ? हो भने मौसम अनुकूल छ । असोज–कात्तिक उत्तम मानिन्छ यहाँ आउन । सडक र पैदलमार्ग व्यवस्थित छ । सदरमुकामदेखि सुकेटारसम्म ८ किलोमिटर पक्की सडक । सुकेटार–काफ्लेपार्टी ९ किलोमिटर कच्ची सडक छ । तर टु ह्विल गाडी सरर पुग्छ । भाडामा जानुपरेमा एकतर्फी भाडा तीन सय पर्छ । दुई घण्टामा गाडीबाट काफ्लेपार्टीसम्म पुगिन्छ । काफ्लेपार्टीदेखि पाथीभरा देवीधामसम्मको दूरी ४ किलोमिटर ।
पैदलमार्ग सजिलो छ ढुङ्गा बिछ्याइएको । आधाजति बाटोमा दायाँबायाँ रेलिङ छ । ढिलागरी हिड्नेहरू पनि ३ घण्टामा पुग्छन् । पैसा तिरेर हिँड्न नसक्नेहरूलाई बोकेर लैजाने सुविधा छ । माथिल्लो फेदीमा प्रहरी चौकी छ । समस्या भइहाले मद्दतको व्यवस्था छ । औषधोपचारबाहेक स्वास्थ्यसम्बन्धी परामर्शका लागि १ जना अहेब राखिएको छ । खान–बस्न समस्या छैन । सादा खाना काफ्लेपार्टीमा २ सय पर्छ । माथिल्लो फेदीमा २ सय ५० । छुट्टै कोठा चाहिए रातको ५ सय ।
नुहाउनका लागि तातो र चिसो पानीको सुविधा छ । पानी पिउन समस्या छैन । बिजुली छ । हिँड्न गाह्रो भए टेक्नका लागि दुई प्रकारका लोरो होटलमा उपलब्ध छ । १०० रुपैयाँ धरौटी बुझाएमा आफूले रोजेको पाइन्छ । फर्केर आएपछि धरौटी फिर्ता हुन्छ । ठाउँ–ठाउँमा आराम गर्नका लागि बनाइएका छन्, चिटिक्क परेका चौतारा ।
पैदलमार्गमा आवतजावत गर्ने दर्शनार्थीको दृश्यले आफ्नो पाइला सरेको ख्याल हुँदैन । काफ्लेपार्टी–पाथीभरासम्मको पैदल दूरीले आनन्दित तुल्याउँछ । हाईकिङ रुचाउनेका लागि साँच्चिकै मज्जा ! वरिपरि गुराँसका रुख । चैत–वैसाखमा राताम्मे देखिने गरी गुराँस फुल्छ । नफुले पनि जंगल हरियो देखिन्छ । जंगलभित्र विभिन्न प्रजातिका चिर्रविर्र चराचुरुंगीका आवाज । अझ रेडपान्डा संरक्षित क्षेत्र पनि हो । सामुदायिक वन संरक्षित भएकाले हरियो वन नेपालको धन भन्ने झल्को दिन्छ ।
जंगल हेर्ने र हिमाल हेर्नेको धीत पूरा हुन्छ । इच्छुकले पाथीभराको विशिष्ट वा आजीवन सदस्य प्राप्त गर्न सक्छन् । दुई वटा समिति छन्– स्थानीय स्तरमा २०४५ मा गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र अर्को २०५३ सालमा नेपाल सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समिति । दुवैको उद्देश्य पाथीभराको विकासमा काम गर्नु हो । सदरमुकाममा कार्यालय छन् । फर्कंदा यातायात काउन्टर नजिक जोकसैको सहयोगमा दुवैको कार्यालयमा पुगेर सदस्यता लिन गाह्रो छैन ।
काफ्लेपार्टीमा करिब आधा दर्जन होटल छन् । माथिल्लो फेदीमा १६ वटा होटल छन् । एउटै होटलले एक रातमा तीन सयसम्म दर्शनार्थी राख्न सक्छन् । माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्र नारायण भट्टराईका अनुसार यो सिजनमा होटलहरू भरिएका छन् । अध्यक्ष भट्टराईले भने, “दर्शनार्थीको घुइँचो छ । वर्षेनी बढ्दो छ । आउँदा जति उत्साह बोकेर आएका हुन्छन्, फर्कंदा उति बढी खुसी देखिन्छन् ।” यहाँका दर्जनौं होटल फस्टाएका छन् । स्थानीयले रोजगारी पाएका छन् । करेसाबारीमा उत्पादित सागसब्जीले आम्दानी गरेका छन् ।
यातायात व्यवसायी टिकेन्द्र नेपाली भन्छन्, “पाथीभरा ताप्लेजुङबासीको आम्दानीको श्रोत हो । धेरैको हातमुख जोर्न पाथीभरा माताको योगदान छ ।” यातायातमा सकेसम्म समस्या हुन नदिन व्यवसायीहरू संवेदनशिल बनेको नेपालीले बताए । प्रहरी र प्रशासनसँग समन्वय गरी दर्शनार्थीलाई सेवा सुविधामा कुनै समस्या हुन नदिन आफूहरू खटिएको व्यवसायीहरू बताउँछन् ।

देवराज गुरुङ