रजनी श्रेष्ठ
बिहिवार, कार्तिक १५, २०७५
808

प्रविधिको विकाससँगै परम्परागत जीवनशैली पनि फेरिँदो छ । दैनिक घरायसी काममा मात्र नभई ज्ञान आर्जनसमेत हिजोका दिनका तुलनामा निकै सहज भइरहेको छ ।
गुरुकुल, स्व–अध्ययनजस्ता ज्ञान आर्जनका प्राचिन शैली फेरिइसके । अहिले सूचना प्रविधिको प्रयोगले ज्ञान हासिल गर्ने माध्यम पनि फेरिएको छ । जसका कारण ज्ञानको दायरा फराकिलो हुँदै गए पनि कम्प्युटरका किबोर्डका माध्यमले धेरै काम सम्पन्न हुने भएकाले आफ्नै हातले लेख्ने प्रवृत्तिमा भने संकट उत्पन्न भएको छ ।

कुनै समयमा मसीमा चोपेर प्वाँखले लेख्ने र पछि कलमको आविष्कार भएपछि लेख्ने प्रविधिमा थप विकास भयो । टंकण (टाइप) तथा कम्प्युटरको अविष्कार भएपछि लेखन शैलीका युगान्तर परिवर्तन नै भयो । पछिल्लो समयमा कार्यालय लगायत विभिन्न लेखनमा कम्प्युटर लेखनलाई सहज र सरलका साथसाथै आधुनिक पनि बनाएको छ ।
तर, चिन्ताको कुरा के छ भने कम्प्युटरको प्रयोगले हस्तलेखनको दुनियाँ हराउन थालेको देखिन्छ । तर, नेपालमै हस्तलेखनलाई जोगाउनका लागि प्रयास गर्ने धेरैमध्ये एक शान्त महर्जन पनि छन् । उनले दुर्लभ बनेको र लुप्त हुन लागेको हस्तलेखनको संरक्षणका लागि करिब तीन वर्षबाट १ हजारभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क रुपमा हस्तलेखन सिकाउने प्रक्रियामा तल्लिन हुँदै आएका छन् । उनको बसोबास चन्द्रागिरी नगरपालिका–१२ बलम्बुमा रहेको छ ।
नेपालमा खासै यस्तो लेखनको इतिहास त पत्ता लागेको छैन, तर सन् १८४८ मा अमेरिकाका प्लाट रोजर्स स्पेन्सर भन्ने व्यक्तिको पहिलो लेखन तरिका उनको किताब ‘स्पोन्सर यन्ड राईट्स सिस्टम अफ बिजनेस यन्ड लेडिज पेनम्यानशीप’ अर्थात् हस्तलेखन प्रकाशन गरियो । उनलाई ‘फादर अफ पेनम्यानशिप’ भनेर पनि चिनिन्छ ।
हस्तलेखनको प्रेरणा उनले आफ्ना भिक्षु दाजु मंगलबाट पाए, जो ३७ वर्षदेखि ताइवानमा हस्तलेखन गर्दै र शिक्षा दिँदै आएका छन् । हुन त ५५ सालमा नै चन्द्रागिरि नगरपालिका–१२ बलम्बुको बलम्बु साप्ताहिक भित्ते पात्रोका हाते लेखक तथा उनका केही साथीसँग प्रकाशक समितिका सदस्य भएर पनि काम गरेका थिए, जुन पत्रिका नव समाज निर्माण पुस्तकालयबाट प्रकाशन गरिन्थ्यो ।
“त्यो जमानामा त प्रविधिको विकासले जरो समातेको थिएन, समाचार पढ्न भित्तामा टाँसिएको हस्तलिखित पत्रिका पढ्न मानिसहरूको भिड लाग्थ्यो । तर अहिले बेग्लै दुनियाँ भइसकेको छ, जहाँ हातले भन्दा कम्प्युटरले धेरै कार्य सम्पन्न हुन्छन् । यस्तो युगमा हस्तलेखनप्रति अहिलेका युवा र विद्यार्थीहरूमा जोस र चासोलाई उत्प्रेरित गर्न पाउँदा निकै नै गौरवान्वित ठान्छु । नेपालभरि नेपाली हस्तलेखन लैजाने लक्ष्य लिएको छु,” महर्जन भन्छन् ।
उनले आफ्ना विद्यार्थीका लेखनको प्रदर्शनी दुईपटक गरिसकेका छन् । हालसालै उनको हस्तलेखनको प्रदर्शनी थाइल्याण्डमा पनि प्रसंशासहित सम्पन्न भयो । उनको र उनका भिक्षु दाजुको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा राज्यले गर्नुपर्ने काम व्यक्तिको प्रयासमा यति ठूलो काम हुँदा गर्व लाग्छ भनेकी थिइन् ।
हस्तकला एक प्रकारको ध्यान पनि हो, जहाँ एकाग्ररुपमा ध्यान केन्द्रित गरेपछि मात्र चाहेको लेखनको स्वरूप निस्कन्छ । यसले मानिसमा ध्यान शक्ति र धैर्यताको विकास पनि गर्छ । उनका सबै विद्यार्थीका अभिभावक आफ्ना बच्चाहरूबाट आएको व्यवहार र लेखनशैलीको फरकले प्रफुल्ल छन् । आफ्नै घरमा चार कोठामा विद्यार्थीलाई हस्तलेखनको ज्ञान दिन्छन् भने ४ स्कुलमा पनि हस्तलेखनको कक्षा बिना शुल्क सिकाउँछन् । शान्त महर्जन सास हुन्जेलसम्म आफू यसमा लागिपर्ने बताउँछन् ।