कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५
285

कमिककन नेपालको आयोजना र मोडेलग्लोबल भिजा कन्सल्टेन्सीको मुख्य प्रायोजनार होन्डाको सह–प्रायोजनमा यही भदौ ३० गते शनिबार काठमाडौंको भृकुटीमन्डपस्थित बगैंचामा ‘कमिककन नेपाल–२०१८’ महोत्सवको आयोजना हुने भएको छ ।
विशेष गरी कस्प्ले प्रेमीहरूलाई कमिककल्चरमा समावेश गराउने उद्देश्यसहित सञ्चालन हुन लागेको उक्त महोत्सवले सम्पूर्ण उमेर समूहलाई समावेश गराउने भएको छ । उक्त मेलामा १० हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कमिककन नेपालले यस्तो जानकारी गराएको हो । कमिककन नेपालकी निर्देशक सृष्टि श्रेष्ठले यो मेलाले नेपालमा रहेका कस्प्ले प्रेमीहरूलाई आफ्नो कला र ट्यालेन्टलाई प्रस्टफुटन गर्नका लागि विदेश जान नपर्ने विश्वास व्यक्त गरिन् ।
नेपालमा पनि कला, संगीत, चलचित्र, नाटक, भिडियो गेममा एनिमेसन प्रविधिको विकासमा यो मेलाले टेवा पुराउने श्रेष्ठको दाबी छ । उनले भनिन्, “अहिलेको पुस्ताको छुट्टै इच्छा र चाहना छन्, उनीहरूलाई परिवारले डाक्टर, इन्जिनियर बन्न दबाब दिइराखेका छन् । तर, हाम्रो यो महोत्स्वले उनीहरूलाई आफ्नो प्रतिभा र वास्तविक क्षमतालाई प्रस्फुटन देखाउन ठूलो सहयोग पुग्नेछ, जसले आधुनिक वाणिज्य व्यवस्थापनमा, कला, सांगीतिक प्रस्तुतिमा नयाँ प्रविधिलाई जोड्न मद्दत गर्छ । साथै, पश्चिमी पप संस्कृतिसँग जोड्न पनि सहयोग गर्छ ।”
“स्पाइडर म्यान, सुपरम्यान, वन्डर उमनजस्ता एनिमेटिभ प्रस्तुति देखाउन चाहनेका लागि यो मेला एउटा अवसर सिर्जना गरिदिने बाटो बन्नेछ,” श्रेष्ठले थपिन् ।
सहभागीहरूले आफ्नो प्रस्तुति देखाएपछि विजेता हुनेलाई दिल्ली कमिककनमा सहभागी गराउने र आयोजकले नै यो महोत्सवमा सहभागी हुने मध्येबाट छनोट गरेर टोकियो कमिककनमा पठाउने तयारी गरेको पनि कमिककन नेपालका अर्का निर्देशक अभिनव श्रेष्ठले जानकारी दिए ।
साथै, यस मेलामा अतिथिको रूपमा नेपालका लागि जापान, अस्ट्रेलिया र अमेरिकाका राजदूतहरूको उपस्थिति रहनेछ । राजदूतहरूको साथै, महोत्सवमा विभिन्न कलाकारहरूको उपस्थिति रहने पनि आयोजकले जानकारी दिएको छ । नेपाल चलचित्र विकास बोर्डका उपाध्यक्ष चेतबहादुर सिंह राजा र चलचित्रनिर्देशक सविन बास्तोलाको पनि उपस्थिति रहनेछ ।
महोत्सवमा नेपाली पपगायक सविन राई र टर्कीका चर्चित कस्प्ले बेस्टी अक्टेमको प्रस्तुति रहनेछ । मेला भदौ ३० गते शनिबारको बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । मेलामा सहभागीहरूको लागि अनलाइन रजिस्टर तथा टिकटको माध्यमबाट पनि दर्ता गराइने जानकारी पनि आयोजकले गराएको छ ।
नेपालमा पहिलोपटक कमिककन नेपाल सन् २०१७ को सेप्टेम्बर ९ मा कोटो इन्टरनेसनल एलएलसी र जिरोस्टारले ओटाकु क्लब नेपालको सहकार्यमा ललितपुरस्थित झम्सिखेलको हेरिटेज गार्डेनमा सम्पन्न भएको थियो ।