कारोबार संवाददाता
बिहिवार, भदौ २१, २०७५
302

अर्घाखाँची - असारे महिनामा खेत रोपाइँ गर्दामात्र घन्कने असारे बाली भाकाका गीत मंगलबार पञ्चेबाजासँगै सन्धिखर्कमा घन्किए । रोपाइँ गरेको अभिनय गर्दै सजिएर आएका रोपाहार पञ्चेबाजाको तालमा बाली गाउँदै नाच्दै सन्धिखर्क र चुत्राबेसीका गल्लीमा हिँडेको दृश्य मनमोहक देखिन्थ्यो ।
नक्कली गोरु बनाएर खोक लगाएको तथा पुरुषले महिलाको पोशाकमा गुन्यु चोलो लगाएर रोपाहारको अभिनय गरेको हेर्न लायक थियो । कृष्ण जन्माष्टमीको दोस्रो दिन श्रीकृष्णको रथ यात्रासँगै, रोपाइँजात्रा निकाल्दा भगवान कृष्ण प्रशन्न भई सुख शान्ति तथा ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

रथयात्रामा रहेका राधाकृष्णको पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । सन्धिखर्कको १०८ गणेश पञ्चायन मन्दिर र चुत्राबेसीको अर्घाखाँचीको युवा परिषद्ले छुट्टाछुटै रोपाइँ जात्रा निकालेका हुन् ।
रोपाइँजात्रा तथा रथयात्रा चुत्राबेसीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरबाट सुरु भई चुत्राबेसीका विभिन्न गल्ली परिक्रमा गरी पुरानो बस्पार्क, मिडियाचोक, मेनरोड, शान्तीबगैचा, बैंक रोड हुँदै त्रिवेणीपुर पुगेर फेरि सिद्धेश्वर शिवालय मन्दिरमा पुगेको थियो ।
लोप हुन लागेको संस्कृति परम्परालाई बचाउन र धार्मिक पर्यटक बढाउनका लागि सदाका वर्षमा झैं यस वर्ष पनि रोपाइँजात्राको आयोजना गरिएको अर्घाखाँची युवा परिषद्का सदस्य प्रकाश भुसालले बताए ।
पञ्चेबाजा र झाकीका साथ निकालिएको रोपाइँ जात्रामा भगवान श्रीकृष्ण र राधासँग सम्बन्धित भजन गाइएको थियो । रोपाइँजात्रा र रथयात्रा हेर्न सन्धिखर्क आसपासका क्षेत्रबाट सयौं मानिसको उपस्थिति थियो ।