कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
383

भू–क्षय, बाढीपहिरो नै भित्री मधेसको चुनौती
भीमबहादुर साउद
प्रमुख पर्शुराम नगरपालिका, डडेल्धुरा
पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदसँग वि.सं २०४९ मा तत्कालीन जोगबुढा गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भई काम गरेको अनुभव छ । उनी तत्कालीन डडेल्धुरा जिल्ला विकास समितिको सदस्य पनि बने । माओवादी सशस्त्र द्वन्द्वपछि भने उनी राजनीतिबाट टाढा रही निर्माण व्यवसायको क्षेत्रमा लागे । व्यवसायको क्षेत्रबाट पुनः उनी गतवर्ष स्थानीय तहको प्रमुखको निर्वाचनमा विजयी भएका छन् । उनै साउदसँग नगरपालिकाको विकास निर्माणका बारेमा कारोबारकर्मी हरिश चन्दले गरेको कुराकानीको सार : 
नगर सञ्चालनको अनुभव कस्तो छ ?
हामीले चुनावका बेला जनताका माझ जेजति प्रतिबद्धता जनाएका थियौं, तिनै प्रतिबद्धताका आधारमा रहेर १२ वटै वडा कार्यालयबाट जनतालाई सेवा प्रदान गर्दै आएका छौ । पहिलो काम जनताको घरदैलोमा सेवा भनेर काम गर्येउ भने दोस्रो काम कतिपय स्थानमा सडक बाटो थिएन अहिले ११ वटै वडामा सडक पुगेको छ ।
नगरको प्राथमिकताको क्षेत्र सडक नै हो ?
त्यसका साथै हामीले करिब २६ करोड विकास निर्माणका लागि आएको बजेटमध्ये अरु वर्षको तुलनामा थुप्रै काम भएका छन् । अहिले हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, गोरेटो बाटोलगायत अन्य क्षेत्रमा पनि उतिकै रूपमा काम गरिरहेका छौं । यहाँको त्रिवेणी क्याम्पसलाई आंगिक क्याम्पस बनाई सकेका छौं । पर्शुरामधाममा रहेको संस्कृत विद्यापीठलाई पनि आंगिकका रूपमा विकास गर्ने लक्ष्य राखेका थियौं यो पनि सफल भएको छ । नेपाल सरकारले निर्णय गरेको छ । जोगबुढा अस्पताललाई हामीले कम्तीमा पनि २५ देखि ५० शैयाको बनाउने सोच बनाएका थियांै । यसलाई पनि सरकारले ५० शैयाको बनाउने भनेर घोषणा गरिसकेको छ । पर्शुरामधामलाई धार्मिक पर्यटकीय रूपमा विकास गर्नका लागि डिजाइन इस्टिमेट पास भई टेन्डरको प्रक्रियामा छ ।
चालू आवमा जुन पर्शुरामसँग २६ करोड बजेट थियो यसलाई कसरी विनियोजन गर्नु भयो ? अनि आन्तरिक आय स्रोत के छ ?
सबै वडालाई समान तरिकाले बाँडेका थियौं । आवश्यकताका आधारमा कुनैलाई बढी रकम पनि गयो । ५० लाखदेखि अढाइ करोडसम्म एक वडालाई विनियोजन गरेका थियौं । आन्तरिक आए न्यून छ । आगामी दिनमा यसलाई बढाउने योजनामा छौ ।

पर्शुराम नगरपालिकाका मुख्य चुनौती र अवसर के के हुन् ?
मुख्य चुनौतीभन्दा ठूलो समस्या भू–क्षय हो । चुरे क्षेत्रसँग जोडिएको नगरपालिका भएकाले भू–क्षयले गर्दा यहाँको धेरै उर्वराभूमि नोक्सान भएको छ । तत्कालीन जोगबुढा–२ सिमलखेत अहिलेको पर्शुराम–६ भएको छ, त्यो पूरै वडा तथा बस्ती नै बाढीले बगाएको छ । शीर्षमा, कलेना, कटालमा पनि बाढी पहिरोले बगाएको छ । साँदनी, पुन्तुरा खोलाले दुःख दिएको छ । पर्शुरामाको सबैभन्दा ठूलो समस्या भनेको नदी नियन्त्रण हो । बस्ती जोगाउन नै मुस्किल छ ।
यसका साथै अवसर भनेको यहाँ खेर गइरहेको प्राकृतिक स्रोत साधान नै हुन् । नदीमा गिट्टी, बालुवामाथि उठेको अवस्था छ । यसलाई हामीले वैज्ञानिक ढंगबाट आईई गरेर राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने आम्दानीको स्रोत बन्न सक्छ । कृषिका लागि पनि उर्वरा जमिन प्रशस्त छ । जडिबुटीको सम्भावना पनि उच्च छ ।
नगरका दीर्घकालीन सम्भावित स्रोतहरू अरू के के बन्न सक्छन् ?
मैले भनिसकें गिट्टी, बालुवा, काठ, जटिबुडीलगायत अन्य वैन पैदावारको ठूलो सम्भावना छ । यससँगै जनसंख्या बढी भएको क्षेत्र भएकाले एकीकृत आयकरले पनि आय स्रोत बढाउँछ । यतिले मात्रै पुग्दैन हामीले भोलिका दिनमा यहाँ उद्योगधन्दा जस्तै क्रसर, इँटा उद्योग खोल्न सक्छौं । अन्य विभिन्न घरेलु उद्योग पनि खोल्न सक्ने सम्भावना छ । पर्शुरामधाममा पर्यटनको ठूलो सम्भावना र महत्व छ । अहिले त्यसको गुरु योजनासहित बोलपत्रका रूपमा संरक्षण, संवद्र्धनसँगै भौतिक पूर्वाधार निर्माण गर्दै अघि बढिरहेका छौ । रंगुन नदीमा पुल बन्न लागेको छ भने सडकको स्तरोन्नति कालोपत्रे गरी फराकिलो बनाउने योजना छ । प्रायः सबै वडाका बस्तीमा सडक पुगिसकेको छ । अब कुन स्थानमा कृषि तथा पशुजन्य चिज वस्तु उत्पादन हुन्छ यसको अध्ययन अनुसन्धान गरी उत्पादनमुखी बनाई रोजगार प्रदान गर्नेछौं ।
तपाईं स्थानीय सरकार प्रमुख पनि ? क वर्गको निर्माण व्यवसायी पनि ? निर्माण व्यवसायीको लापरबाहीका कारण भौतिक पूर्वाधारका काम रोकिएका छन् ? दुईवटैमा तपाईं हुदा केलाई प्राथमिकतामा राख्नु भएको छ ?
म निर्माण व्यवसायी मेरो आफ्नो प्रालि हो । अहिले मैले निर्माण व्यवसायको काम आफ्नो घर परिवार र कर्मचारीको जिम्मा दिइसकेको छु । म अहिले विशुद्ध राजनीतिमा लागेर जनताको सेवा गरिरहेको छु । नगरपालिकाले बोलपत्रमार्फत गरेका विकास निर्माणका काम अधिकांश सम्पन्न भइसकेका छन् भने केही काम अन्तिम चरणमा छन् ।
तपार्इंले निर्माणको प्रसंग जोड्नु भयो । निर्माणका कतिपय ठाउँमा राज्यले निर्माण व्यवसायीमात्र काम गर्दैन भन्ने दोष दिन्छ । त्यसमा मेरो सहमति छैन । कुनै ठाँउमा कुनै निर्माण व्यवसायीले नगरेको हुनसक्छ । तर मुख्य कुरा के भने राज्यले डिजाइन इस्टिमेट गरेर बोलपत्र आह्वान गर्छ । बहुवर्षीय ठेक्काहरू निस्कन्छ बहुवर्षीय ठेक्काअनुसारको रकम छुट्याएको हुदैन । कतिपय ठाउँमा डिजाइन स्पष्ट हुँदैन । कुनै ठाउँमा मुआब्जाको समस्या छ । कुनै ठाउँमा डिजाइन परिवर्तनको समस्या छ । प्राविधिकको पनि कमी छ । यी र यस्ता कयौ कारणले योजना सम्पन्नमा ढिलाइ भएका छन । निर्माण व्यवसायीलाई मात्रै दोष दिने ठाउँ छैन । देशभरि अहिले निर्माण व्यवसायीले पैसा नपाएर पनि काम रोकिएको अवस्था छ ।

निर्माण व्यवसायीलाई यस्ता समस्या आउन नदिन पर्शुरामको स्थानीय सरकारले के गर्छ ?
हामीसँग जेजति स्रोतसाधन र बजेट छ, त्यसैअनुसारका योजना सञ्चालन गर्छौं । रंगुन नदी तटबन्धको गुरुयोजना नै बजेट अभावले प्रभावित भएको छ । नयाँ आर्थिक वर्षमा पनि बजेट छैन भन्ने सुनिएको छ । यो दुर्भाग्य हो । नेपाल सरकारले टेक्न लगाउने अनि पैसा दिन नसक्ने समस्या हो । यसका लागि हामीले माननीयज्यू र सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं ।