जगन्नाथ दुलाल
आइतवार, फाल्गुन ५, २०७५
1027

वीरबहादुर बलायर
नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्, वीरबहादुर बलायर । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा चर्चित हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका बलायर डोटी जिल्लाबाट सांसद समेत निर्वाचित भइसकेका छन् । प्रस्ट विचार र जुझारु स्वभावका बलायर पार्टी कार्यकर्ताबीच लोकप्रिय नेता मानिन्छन् । जिल्लामा विकासवादी नेताको छवि बनाएका बलायर अडान भएका नेताका रूपमा चिनिन्छन् । कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीमा विधानमै समावेशी प्रतिनिधित्व गराउनुपर्ने उनको अडानका कारण ७ जना समावेशीतर्फबाट सहमहामन्त्री राख्ने सुनिश्चित भएको छ । भौैतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका नेता बलायर वर्तमान सरकारले आकाशे सपना बाँडिरहेको र जनता सन्तुष्ट नरहेको बताउँछन् । सरकारको गतिविधिले जनतालाई सडकमा आमन्त्रण गरिरहेको बताउने उनी यसैगरी अगाडि बढे सरकारलाई बीचैमा जनताले फ्याँक्न सक्ने जिकिर गर्छन् । पार्टीको जारी केन्द्रीय समितिमा भइरहेको विधानमाथिको बहस, केपी ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षको सन्दर्भ र कांग्रेसको आगामी यात्राका बारेमा केन्द्रित रही कांगे्रस नेता बलायरसँग कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

नेपाली कांग्रेसको केन्द्रीय समितिमा महासमिति बैठकले पारित गरेको भनिएको विधानमा अझै कुरा मिलिसकेको देखिएन । खास विवाद के हो ?
विधानमा खासै समस्या केही छैन । कांग्रेसको केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेर महासमितिमा पेस गरिसकेपछि महासमिति बैठकबाट पनि अनुमोदन भएर केन्द्रीय कार्यसमितिमा आइसकेको छ । यसमा केही प्राविधिक पक्षलाई मात्रै मिलान गरेर जारी गर्ने कुरा हो । विधानको सन्दर्भमा जुन किसिमले बाह्य हौवा गरिएको छ यो यथार्थ होइन । कांग्रेसको विधान केन्द्रीय समितिले अनुमोदन गरिसकेकाले त्यसमा धेरै बहस गरिरहनुपर्ने आवश्यकता होइन । तर, अहिले केही केन्द्रीय समितिको क्षमताभन्दा बाहिरका कुरा उठाइएका छन् । केन्द्रीय समितिले अनुमोदन गरेर महासमितिले समेत पारित गरेर पठाएको विधानमा धेरै उतारचढाव र परिवर्तन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई पनि छैन । त्यसैले अब धेरै त्यही विषय उठाउनु कांग्रेसले आफैंलाई पछाडि धकेल्नु हो । त्यसैलाई यो धकेलाई नरहोस् भनेर हामी लागिरहेका छौं र सभापति शेरबहादुर देउवा पनि त्यही बाटोमा हुनुहुन्छ ।

केन्द्रीय समितिमा रहेकाहरू पनि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्छ भन्ने विषय अलि बढी उठेको छ । केन्द्रीय समितिमा रहेका नेताहरू तल जान डराएको हो ?
हिजो प्रस्ताव गरेर लैजाँदा कुनै केन्द्रीय सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएन । विधान केन्द्रीय समितिले सर्वसम्मत अनुमोदन गरेर महासमितिमा लगेको हो । सर्वसम्मत गरिसकेपछि अहिले आएर व्यक्ति विशेषले कुरा उठाउनुको कुनै अर्थ छ भन्ने मलाई लाग्दैन । केन्द्रीय समितिमा रहेकाहरू तल जानै डराए भन्ने खालको अतिरञ्जित गरेर यो विषय आएपछि यसमा अब हाम्रो पनि चासो बढेको छ । यो व्यवस्था सभापति देउवाको कार्यकालमा आएको होइन नि त । गिरिजाबाबुकै बेलादेखि केन्द्रीय समितिमा रहेकाहरू स्वतः महासमिति सदस्य हुने प्रावधान हो । अब यो प्रावधान हटाउनका लागि केन्द्रीय समितिले मात्र गरेर हुँदैन । यो महाधिवेशनले टुङ्गो लगाउने कुरा हो । न यो सभापति देउवाले ल्याउनुभएको हो ।

लोकतान्त्रिक पार्टीमा तल्लो तहमै गएर माथि प्रतिनिधित्व गर्ने कुरा अझ बढी प्रजातान्त्रिक हुन्छ भन्ने पनि मत छ । त्यो मतलाई सम्मान गरिदिँदा पनि समस्या त नहोला नि, होइन ?
केन्द्रीय समितिका रहेकाहरूलाई पनि तल जान कुनै गा-हो छैन । कुरा के हो भने, यो जुन लिगेसीमा आएको छ त्यसलाई सभापतिजीले पनि सोच्नुभयो होला । हिजोका सभापतिहरूले ल्याएको कुरालाई आफ्ना कार्यकालमा आफ्नै केन्द्रीय समितिलाई त्यसबाट विमुख गराउनुहुन्न भन्ने उहाँको पनि चाहना होला । एकातिर नयाँ नेतृत्व पनि विकास होस् भन्ने अर्कातिर तल जानुपर्छ पनि भन्नु विरोधाभासपूर्ण छ । केन्द्रीय समितिमा रहकाहरूले महासमितिमा प्रतिनिधित्व गर्ने हो भने उनीहरूको ठाउँमा त नयाँ नेतृत्व आउने हो । सय जना नयाँ मानिस आउनका लागि कम्तीमा पनि ५ सयको प्रतिस्पर्धा हुन्छ । त्यसबाट केही निर्वाचित भएर आउनेछन् । सभापतिजीको चाहनाअनुसार आएको होइन, यो विगतको कुरा हो । विगतमा तिनै साथीहरूलाई महासमिति स्वतः हुँदा सन्चो लागेको थियो । अहिले किन बिसन्चो लागेको छ ? मैले बुझ्न सक्या छैन । केन्द्रीय समितिमा मैले प्रस्टताका साथ कुरा राखेको छु । यहाँ कोही कमजोर भएर अथवा तल मासलाई फेस गर्न नसकेर नजाने कुरा होइन । कुरा पद्धतिको हो । रितिको कुरा हो । विधानको कुरा हो । हिजोको विधानमा आएको चिजलाई महासमिति बैठकमा पेस गर्दैगर्दा कार्यसमितिमा नोट अफ डिसेन्ट लेख्नुपर्ने थियो नि त । रोकिनुपर्ने थियो । त्यतिबेला किन रोकिएन ? त्यतिबेला साथीहरू नरोक्ने अनि अहिले अर्कै कुरा गर्न पाइन्छ ।
केन्द्रीय समितिका मानिस स्वतः महासमितिमा जाने कुरालाई चाहिँ हामी इन्कार गर्ने कुरा गरिरहेका छौं । तर, भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट आउनेहरू सक्रिय सदस्य पनि नभएको मानिसहरू पनि आएका छन् नि त । त्यो बारेमा बोल्दैनौं । जहाँ जटिलता छ त्यहाँ बोलेनौं हामी । तर, आफूले आफूलाई प्रश्न उठायौं जुन निरर्थक छ । यो निरर्थक दोहोरीमा लाग्नुको कुनै अर्थ छैन । नेविसंघबाट महासमितिमा प्रतिनिधित्व हुन्छ । नेविसंघको सदस्य त होला तर पार्टीको सक्रिय सदस्य छ–छैन लेखाजोखा छैन । शुभेच्छुक र भ्रातृ संस्थाबाट आउनेले प्रतिस्पर्धा गर्नै नपर्ने तर कांग्रेसको सर्वोच्च निकास केन्द्रीय समिति जो कार्यकारी अंग हो, यसमा आफूले आफूलाई प्रश्न उठाइरहेको अवस्था हो । यसमा गहिराइमा गएर बहस भएको छ । यसले छिट्टै किनारा पाउँछ अब । हिजो नेतृत्वलाई गुमराहमा राखेर जसले यो व्यवस्था राख्यो आज उहाँहरूकै किन टाउको दुख्यो थाहा छैन ।

महासमिति बैठकको समापनमा शीर्ष नेतृत्वले हात उठाएर कांग्रेसमा अब बलियो एकता भयो भनेर घोषणा गर्नुभएको थियो । तर, त्यसको केही दिन नबित्दै फेरि उहाँहरूमा तिक्तता देखियो नि ?
एकता बाध्यकारी छ कांग्रेसका लागि । कांग्रेसभित्र रहँदा यसका नियमहरू छन् । विधान छ । विधानको सर्वोच्चता भनेकै पार्टी सभापति हो । पार्टी सभापतिलाई म मान्दै मान्दिनँ भन्ने हो भने त्यो पार्टीमा बसिरहनुको के अर्थ छ ? पार्टीको सर्वोच्चता भनेको पार्टी सभापति हो । उहाँको कमी–कमजोरीका बारेमा बोल्न मिल्छ । यो लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र आफ्ना भावना विधानअन्तर्गत रहेर राख्न पाइन्छ । धेरै उच्छृंखल र अहंताले धेरै ठूलो उपलब्धि हासिल हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । धेरै ठूलो संघर्ष गरेका छौं । कांग्रेसभित्र धेरैले बलिदानी गरेका छन् । त्यसैले मैले मात्र गरेको छु भनेर अहं पाल्नुको कुनै अर्थ छैन । मेरो प्रस्ट कुरा छ, जसले नेतृत्व नै मान्दिनँ । सभापति नै मान्दिनँ भन्छ भने त्यस्तोले त्यो पार्टीभित्र बसिरहनुको अर्थ छैन । पार्टीभित्रै बसेर पार्टीलाई धमिल्याउने अर्थ छैन । त्यसो गर्नेहरूलाई स्थान पनि छैन । पार्टीभित्रका असहमतिलाई सहमतिमा ल्याएर पार्टीलाई अगाडि बढाउन सभापतिले प्रयत्न गरिरहनुभएको छ । पार्टीका अंग–प्रत्यंग सञ्चालन नहुँदा अहिले समस्या छ । सभापतिले सबैलाई मिलाएर अघि बढ्न खोज्दा चारैतिरबाट बाधा व्यवधान भयो । यदि उहाँ आफैंले आफ्नो स्वेच्छाले प्रयत्न गरेको भए अहिलेसम्म धेरै ठूलो अप्ठ्यारो आइसक्थ्यो । अब सभापतिको धैर्यता पनि धेरै छैन । लोकतन्त्रका लागि, कांग्रेसका लागि लोकतान्त्रिक गणतन्त्रका लागि अहिले धेरै ठूलो चुनौती आएपछि त्यो चुनौतीलार्ई सामना गरेर लोकतान्त्रिक गणतन्त्रलाई सबल दिशामा कसरी लैजाने भन्ने कांग्रेसको चिन्ताको विषय हो । छिटोभन्दा छिटो पार्टी सभापतिले अग्रसरता लिनुहुनेछ ।


तपाईं भौतिक पूर्वाधार मन्त्रालयसमेत समालिसक्नुभएको व्यक्ति हुनुहुन्छ । सरकारले पूर्वाधारमा धेरै काम भएको दाबी गरेको छ । पानी जहाजको कार्यालयसमेत उद्घाटन भइसकेको छ । सरकारको कामप्रति तपाईंको धारणा के हो ?
मैले छोटो अवधि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालें । निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा मैले सो मन्त्रालयको जिम्मेवारी पूरा गरेँ । प्रधानमन्त्री केपी ओलीजीले पानी जहाज ल्याउँछु भन्नुभएको छ । पानी जहाज ल्याउनका लागि प्राविधिक कहाँ छन् ? उहाँले जहाज ल्याउँछु भनेर कार्यालय होइन त्यसका लागि चाहिने प्राविधिकहरू तयार गर्नुपर्दछ । उहाँले टनेल बनाउने भनेर अहिलेको बजेटमा राख्नुभएको छ । कति टनेल बनाउनुभयो त ? बजेट आएदेखि अहिलेसम्म टनेल निर्माणमा कति उपलब्धि भयो त्यो देखाउनुपथ्र्यो, सक्नुभएन । रेल ल्याउँछु भन्नुभएको छ । रेल त्यसै आउँदैन । रेलका कति इन्जिनियर छन् उहाँसँग ? नेपालको अहिलेको आर्थिक सामथ्र्यबाट रेल आउन सक्दैन । उहाँले नेपालमा रेल ल्याउन आर्थिक सुनिश्चितता दिने दातृ संघसंस्था, निकाय पहिचान गर्न पनि सक्नुभएको छैन । चीनबाट रेल ल्याउने कुरामा उच्च हिमाली भेगबाट ल्याउनुपर्दछ । उच्च हिमाली भेगबाट ल्याउँदा वर्षमा कम्तिमा ६ महिना हिउँ पर्छ । हामीले थर्मल सिस्टमका आधारमा त्यहाँ नयाँ प्रविधि जडान गर्नुपर्छ । जसले गर्दा रेलमार्गमा हिउँ जम्न नसकोस् । त्यो विश्वको सबैभन्दा महँगो प्रविधि हुनजान्छ । हामी त्यो प्रविधिका बारेमा सचेत छैनौं । प्राविधिक तयार गर्न गम्भीर छैनौं । तर, उहाँले हावातालमा रेल ल्याउँछु, पानी जहाज ल्याउँछु, टनेल खन्छु भन्नुभएको छ । तर वास्तविकता उहाँले बुझ्नु भएको छैन । अब विस्तारै बुझ्नुहुन्छ । उहाँको हावादारी कुराले न नेपाली जनताको जीवनस्तरमा सुधार हुन्छ । न त्यो भाषाले जनताको पेट अघाउँछ न जनताको मस्तिष्कले सन्तुष्टि पाउँछ । उहाँले जे गर्दै हुनुहुन्छ सरकारविरुद्ध जनतालाई सडकमा आमन्त्रण गर्दै हुनुहुन्छ । कम्युनिष्ट सरकारले आफ्नो आयु छोट्याइरहेको अवस्था हो यो । हामी केही गरेर देखाउनुस् भन्न चाहन्छौं । कति दिनसम्म जनताले हावा खाएर पेट भर्नुपर्ने ? यसरी सम्भव छैन ।

यत्रो दुइतिहाईको बलियो सरकारविरुद्ध यति छिट्टै सडकमा आउने अवस्था बनिसकेको छ र ?
हिजो जनताका बीचमा जे बाचा गर्नुभयो । ५ वर्ष त जनताले त्यही प्रतिबद्धता पुरा गर्नका लागि दिएको हो । यदि त्यो प्रतिवद्धता पुरा भएन भने नेपाली जनताले आफूले प्रयोग गरेको मताधिकार अन्तरिम समयमै फिर्ता लिन सक्छन् । त्यसका लागि जनता सडकमा आएर सरकार तिमीलाई हाम्रो समर्थन छैन भनेर भन्न सक्छन् नि त । अहिलेको सरकार, सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले दिनुभएको वक्तव्यले छिटोभन्दा छिटो जनतालाई सडकमा आमन्त्रण गरेको छ । त्यसैले आज कुनै पनि जनता र उहाँकै पार्टीका नेता, कार्यकर्तासमेत सरकारसँग सन्तुष्ट देखिएका छैनन् ।
यत्रो ठूलो भ्रष्टाचार छ । उहाँकै पालामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त भ्रष्टाचारी पुष्टि हुनुपर्ने अवस्था छ । अख्तियारकै आयुक्त भ्रष्टाचारी प्रमाणित हुनुले उहाँको शून्य सहनशीलताको सिद्धान्त कहाँ प्रयोग गर्नुभयो ? आज मन्त्रालयका सचिवहरू मन्त्रीको परामर्शविना आफ्नै तजविजमा पठाउँदै हुनुहुन्छ । विभागका डिजिहरू आफै पठाउँदै हुनुहुन्छ । सबै कुरा उहाँले एक्लै गर्न खोज्नुनै यो सरकारको विफलता हो । मन्त्रीको पनि नेता प्रधानमन्त्री हो । उसको जवाफदेहीता प्रधानमन्त्रीप्रति रहने भएकाले पद खुस्कने डरले प्रधानमन्त्रीलाई प्रतिवाद गर्न नसकेको अवस्था हो । विशेषगरी आर्थिक चलखेल हुने मन्त्रालयभित्र प्रधानमन्त्रीको सिधा हस्तक्षेप छ । उहाँ भ्रष्टाचारीको अनुहार हेर्न चाहन्न भनेर भन्नुहुन्छ । सारा कुरा आफैंले गर्ने हो भने भ्रष्टाचारीको अनुहार हेर्नै जानुपर्दैन । यो कुरा उहाँले बुझे हुन्छ । उहाँको अभिव्यक्ति र कार्यशैलीले जनता आश्वस्त भएका छैनन् । जनता आक्रान्त भएका छन् । उहाँको एक वर्षे कार्यकालले जनतालाई सडकमा आउन निम्तो दिएको छ ।

सरकार गठन हुँदा ‘सुखी नेपाली समृद्ध नेपाल’जुन नारा दिएको थियो । त्यसलाई पुरा गर्ने आफ्नो प्रतिबद्धताबाट सरकार च्यूत भयो, अधिनायवादको बाटोमा अघी बढ्यो भनेर सरकारमाथी आशंका गर्नुपर्ने बलियो कारण छ र ?
एक वर्षको कार्यकाल चलाउँदै गर्दा विदेशी राष्ट्र र दातृ संस्थाबाट सरकारले पाएको ऋण र अनुदान कति हो ? त्यो देखाउनुप-यो । आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताको र नेपाल राष्ट्रको समृद्धिका लागि विदेशी लगानी के छ उहाँहरूसँग ? लगानीका लागि प्रधानमन्त्री ओलीजीले आह्वान गर्नुभयो । धनाढ्य राष्ट्रका अगाडी पनि उहाँ कचौरा लिएर जानुभयो । के लिएर आउनुभयो ? उहाँले देखाउन सक्नुभएको छैन । किनकी अहिले नेपाल नेपाल विश्वको पाँचौं, छैटौं कम्युनिष्ट राष्ट्रमा सूचीकृत भएको छ । लोकतान्त्रिक व्यवस्था र सोच भएका राष्ट्रले नेपाललाई त्यो किसिमले हेरेको छ । उहाँको शासनको जुन शैली छ त्यसलाई विश्वले मापन गरिरहेको छ । लोकतन्त्रका हिमायती विश्वका राष्ट्रहरूले यो सरकार र सरकार सञ्चालनको पद्धतिलाई नियालिरहेका छन् । उहाँका गतिविधिका आधारमा विश्वस्त गराउनसक्नुभयो भने वैदेशिक लागनी, वैदेशिक ऋण, वैदेशिक अनुदान हामीले लिन सक्छौं ।
तर, सरकारको प्रमुख प्रधानमन्त्री कुनै धर्मसँग सम्बन्धित संस्थाको कार्यक्रमका लागि होटलमा ३-४ दिन बस्नु भनेको राष्ट्रिय स्वाभिमानमाथीको प्रहार हो । त्यहाँ सम्माननीय प्रधानमन्त्री केपी ओली जानुभएको होइन, नेपाल राष्ट्र गएको हो । त्यहाँ कम्युनिष्ट पार्टी मात्र गएको होइन । सिंगो देश गएको हो । उहाँले सबै नेपालीको प्रधानमन्त्री हुँ भन्ने कुरा बिर्सिसक्नुभयो । उहाँले कम्युनिष्ट र्पाीको प्रधानमन्त्री हुँ भन्ने मात्र सम्झनुभएको छ । होटल सोल्टीमा ३ रात बिताएर उहाँले जुन स्वाभिमान गुमाउनुभएको छ यो विश्व मानचित्रमा र र नेपालको इतिहासमा यो भन्दा ठूलो कलंक केही हुनसक्दैन नेपाली राजनीतिको । हामी कूटनीतिक रूपमा फेल खाएका छौं । भेनेजुएलासँग हाम्रो दौत्य सम्बन्ध पनि छैन । त्यहाँको दुईटै पक्ष लोकतान्त्रिक बाटोबाट हिँडिरहेका छैनन् । हामीले बोलिहाल्नुपर्ने अवस्था छैन । किन बोलिहाल्नुपर्ने अवस्था आयो ? जोसँग पनि हामी जिस्कनचाहीँ सकिहाल्ने । विश्वव्यापी रूपमा लोकतान्त्रिक पद्धति र बाटोमा आफ्नो छाप छोड्नचाहीँ नसक्ने ? यी गतिविधिले नेपाललाई कहाँ पु-याउँछ ? लक्ष्य लिएर मात्र हुँदैन त्यसका लागि कदम पनि, अनुशासन पनि बन्दोबस्ती पनि गरेर गयौं भने मात्र लक्ष्यमा पुगिन्छ । वर्तमान सरकारले लिएका कुनै पनि कुरा कुरामा सिमित हुनेछन्, उपलब्धिमा हुने छैन ।

भारतबाट रेल ल्याउने कुरा ३५ किलोमिटर त मेरै पालामा भएको हो नी त । रेल किन्न मै तयार थिएँ । नागढुंगाको सुरुङ (सितापाइला–नौबिसे टनेल) मैले नै फाइनल गरेको हो । अर्काले गरेको विकासबाट लिएको उपलब्धिलाई खाली हामी जनतालाई सपना बाँड्दैछौं । सपनाबाट जनताको पेट भरिन्न । जनता नगद चाहन्छन् । त्यो भनेको परिणाम हो । सुखसुविधा हो, प्रगति हो ।