कारोबार संवाददाता
बिहिवार, फाल्गुन २, २०७५
448

नेपालमा सूचना र प्रविधिको क्षेत्र अन्यको तुलनामा निकै छिटो अघि बढेको छ । सूचना प्रवधिको विकासले फड्को मार्नुमा सरकार र निजी क्षेत्र दुवैको उत्तिकै देन छ । सम्भावना भएको क्षेत्रका रूपमा हेर्दा सूचना प्रविधि क्षेत्र अगाडि आउने गर्छ । त्यही सम्भावनालाई अधिकतम फाइदा लिने र नेपाललाई दक्षिण एसियामै सूचना–प्रविधिका लागि उचित गन्तव्य बनाउने लक्ष्यका साथ काभ्रेको बनेपामा सूचना–प्रविधि (आइटी) पार्क स्थापना गरिएको थियो । यो पार्कमा नयाँ–नयाँ प्रविधिको उपस्थिति गराई विदेशी लगानी भिœयाउने, रोजगारीका अवसर सिर्जना गर्ने, नेपाललाई सूचना–प्रविधिको ‘हब’ बनाउनेसम्मका महत्वाकांक्षी योजना पनि नराखिएको होइन । तर, २०५७ सालमा स्थापना भएको यो पार्क अहिलेसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । दुई वर्षअगाडि पार्क सञ्चालन गर्ने सरकारले काठमाडौं विश्वविद्यालयसँग सम्झौता ग-यो र पनि पार्क उद्देश्यअनुरूप चल्न सकेको छैन । स्वीजरल्यान्डको युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन) ले काठमाडौं विश्वविद्यालयलाई सुपर कम्प्युटर उपहार दियो । उक्त कम्प्युटर अहिले यही पार्कमा छ । झन्डै आठ टेराबाइटको -याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर हेर्न जानेको संख्या दिन–प्रतिदिन आइटी पार्कमा बढ्दो छ । डाटा आदानप्रदान गर्न उच्च प्रविधिका स्विचहरूसहित आवश्यक डिभाइस सेरेनले नै उपलब्ध गराएपछि आइटी पार्कको चर्चा एकाएक चुलिएको छ । आइटी पार्कमा कम्पनीहरू जाने इच्छा नगरेका पनि होइनन्, तर लामो समयदेखि समयसापेक्ष व्यवस्थाको अभावले गर्दा एकातिर पार्क खालि रह्यो भने सम्भावित लाभ गुमेको छ । बेलाबेलामा चर्चामा आउँदै हराउँदै गर्ने पार्कको वर्तमान अवस्था, त्यसको औचित्य र भावी दिनमा पार्क सञ्चालनका विषयमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानीको सार :

उद्देश्यअनुरूप नै पार्क सञ्चालन गर्नुपर्छ
हेमन्त चौरसिया
अध्यक्ष, क्यान महासंघ
नेपालमा सूचना–प्रविधिको विकासमा उच्चतम टेवा पु-याउने मुख्य उद्देश्य राखेर काभ्रेको बनेपामा सूचना–प्रविधि पार्क स्थापना भएको हो । सूचना–प्रविधिका लागि नेपाल उचित गन्तव्य हो भनेर मात्रै हुँदैन, त्यसका लागि वातावरण पनि सिर्जना गरिनुपर्छ । आइटी पार्क निर्माण गर्ने समयमा जुन उद्देश्य राखेर निर्माण गरिएको थियो, सोहीबमोजिम अगाडि बढ्न नसक्दा नेपालले यो क्षेत्रबाट धेरै अवसर र लगानी गुमाएको छ । यदि अहिले आइटी पार्क पूर्ण रूपमा चलेको भए र राम्रा कम्पनीले भरिभराउ हुन्थ्यो भने विदेशी लगानी पर्याप्त आउँथ्यो । निर्माण भएको एउटा आइटी पार्कमा पनि कुनै कम्पनी जान चाहँदैनन । नीतिगत व्यवस्था स्पष्ट नहुँदा सफ्टवेयर हार्डवेयरको सट्टा पार्कका कोठाहरू खाली भएका हुन ।
हामीले सम्भावना छ मात्रै भनिरहेका छाँै, तर व्यवहारमा लागू गर्न नसक्दा ‘ब्रेन ड्रेन’ भएको अवस्था छ । देशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना यत्तिकै खेर गएका छन् । आइटी पार्क बिल्कुल सूचना–प्रविधिका विकास विस्तार र यसै क्षेत्रलाई टेवा दिने उद्देश्यले स्थापना गरिएको हो, त्यसैले योभन्दा बाहिर जान हुँदैन । सरकारको उचित नीति र व्यवस्थापन नहुँदा निर्माण भएका कतिपय पूर्वाधार समेत बिग्रिने अवस्थामा पुगेका छन् ।
अब आइटी पार्कको पूर्ण सञ्चालनमा ढिलाइ गर्नु हुँदैन । निजी क्षेत्रलाई सहभागी गराएर वा निजी क्षेत्रले मात्रै पुगेन भने अन्तर्राष्ट्रिय निकायसँग पनि छलफल गर्न सकिन्छ । यदि कुनै कम्पनी आइटी पार्कमा गएर व्यवसाय गर्न चाहन्छ भने उसलाइ छुट दिनुपर्छ । पूर्वाधार, बजार र अत्यावश्यक सुविधामा सरकारले ध्यान दिनुपर्छ । सरकारले उचित अवसर दिएर कम्पनीहरूलाई बोलाउने हो भने धेरै कम्पनी इच्छुक पनि छन् । आइटी पार्क सञ्चालनका लागि प्याकेज ल्याउनुको विकल्प छैन ।

आइटी पार्कलाई नीतिगत न्याय भएन
मनोहर भट्टराई
विज्ञ, सूचना–प्रविधि
सूचना–प्रविधि पार्क सरकारले चलाएर चल्दैन । सरकारले निर्माण गरे पनि सञ्चालन र व्यवस्थापनको स्पष्ट खाका बनाएर निजी क्षेत्रलाई दिनुपर्छ । आइटी पार्क सञ्चालनमा अब ढिलाइ गर्न हुँदैन, अझै पनि सम्भावना छन् । नीतिगत न्याय गर्न नसक्दा नै पार्क सञ्चालन अन्योल भएको हो । अहिले काठमाडौं विश्वविद्यालयले लिए पनि आकर्षक ढंगले सञ्चालन गर्न सकेको देखिएन । सरकारले पूर्वाधार बनाएको ठाउँमा केही सहज वातावरण बनाइदिने हो भने निजी क्षेत्र आकर्षित हुन्छ । जग्गा लिज दिने सम्बन्धमा, पूर्वाधार निर्माणलगायतका विषयमा स्पष्ट व्यवस्था गरेर १०-१५ वर्षसम्मलाई लिजमा दिन सकिन्छ । सूचना–प्रविधि पार्कमा ‘नलेज वेस्ड इन्डस्ट्री’ लाई ठाउँ दिनुपर्छ । नेपालमा सूचना–प्रविधिको विकास भएको छ, अवसर पनि छ, यस्तो अवस्थामा निर्माण भएको पार्क प्रयोग नआउनुको मुख्य कारण सरकारी व्यवस्था प्रस्ट नहुनु नै हो । केही समयका लागि कर छुट, लिजमा सहजता, त्यहाँ उत्पादित प्रविधिको बजारीकरणमा सहजता दिन सक्ने हो भने आइटी पार्कमा व्यवसायीहरू अहिले पनि आउँछन् ।
करोडौंको लगानीमा निर्मित आइटी पार्क पछिल्लो समय राजनीतिक दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने ठाउँ भएको छ । पार्कमा व्यापारिक, प्रशासकीय एवं आवासीय भवनसमेत निर्माण भएका छन् । पार्कभित्र विद्युत् अप्टिकल फाइबर आदिको सुविधा रहे पनि प्रयोग नहुँदा ती जीर्ण हुँदै गएका छन् । पार्क समय–समयमा सञ्चालनका लागि प्रयास नभएका भने होइनन् । २०६३ सालमा नेदरल्यान्डको जाभ्रा कम्पनीले ६ महिना काम सञ्चालन पनि गरेको थियो । काठमाडौंदेखि आइटी पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको कारण देखाउँदै सो कम्पनीले पार्कमा काम छोडेको हो । पछि २०६५ आइटीसम्बन्धी काम गर्न अमेरिकी कम्पनी आईबीएमले पार्कमा काम पनि थाल्यो । तर, त्यो कम्पनीले पनि कामै नगरी बीचमै छाड्यो । सुरु–सुरुमा सूचना–प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको आइटी पार्क आयोग नै विघटनसँगै झन् अन्योलमा प-यो । २०५७ सालमा २ सय ५७ रोपनी जग्गा किनेर निर्मित पार्कमा ३० करोडको लगानीमा पहिलो चरणको पूर्वाधार निर्माण सम्पन्न भएको हो ।
सरकारले पूर्वाधार निर्माण गरेर धमिरा लगाउने भन्दा पनि कसरी हुन्छ सदुपयोग गर्नेमा ध्यान दिनुपर्छ । पहिलो चरणको कार्य पूरा भए पनि सञ्चालनमा नआउँदा दोस्रो चरणमा पार्कभित्र बैंक, स्कुल, पौडीपोखरीलगायतका अत्याधुनिक पूर्वाधार बनाउने योजना थिए । पार्क नै सञ्चालन नभएपछि त्यसपछिका अन्य योजना अगाडि आउने विषय पनि छायामा परे ।

सुपर कम्प्युटर हेर्न आउनेको संख्या बढेको छ
मनोज शाक्य
उपप्राध्यापक, काठमाडौं विश्वविद्यालय
सामान्य भाषामा भन्दा धेरै कम्प्युटरको संकलन तथा जोड नै सुपर कम्प्युटर अर्थात् हाई पर्फर्मेन्स कम्प्युटिङ (एचपिसी) हो । यसमा ठूलो तथा जटिल समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्न सक्ने क्षमता (फास्ट कम्प्युटिङ पावर) रहेको हुन्छ । कम्प्युटरमा सिपियू अर्थात् नोडको काम डाटा प्रोसेसिङ गर्ने हो । यसरी डाटा प्रोसेस गर्न कम्प्युटरमा सिपियू आवश्यक हुन्छ, जसलाई हामी कम्प्युटरको दिमागका रूपमा पनि बुझ्न सक्छौँ । त्यसैलाई अर्को शब्दमा नोड पनि भन्न सकिन्छ । सुपर कम्प्युटरमा १८४ नोड रहेका छन् । सबै नोड चलाउँदा २ हजारवटा कम्प्युटर एकैपटक चलाएर एउटै समस्या समाधानमा प्रयोग गरेबराबर हुन्छ । ती १ सय ८४ वटै नोडले एक–अर्कासँग सञ्चार गरेर काम गर्छन् । सामान्यतया पछिल्लो सातौँ पुस्ताको पिसी अर्थात् ल्यापटपमा बढीमा ८ वटासम्म सिपियू तथा नोड हुन सक्छ । सामान्य कम्प्युटरमा हुने चारवटा सिपियूको तुलनामा एचपिसीमा हुने सोहीबराबरका सिपियू धेरै नै शक्तिशाली हुन्छन् ।
सामान्य कम्प्युटरको चौथो पुस्ता नआउँदै समानान्तर रूपमा कम्प्युटिङको अवधारणा आइसकेको थियो । त्यसपछि नै एचपिसीको प्रयोग बढ्न थालेको हो । यद्यपि, त्यसको उपयोगिता भने क्रमश बढ्दै गएको हो । जब डाटा तथा तथ्यांक धेरै मात्रामा संकलन हुँदै गए, त्यसलाई प्रोसेसिङ गर्न एचपिसी आवश्यकता महसुस हुँदै गयो । खास गरेर एआई, क्लाउड कम्प्युटिङ, बिग डाटामा सुपर कम्प्युटर तथा एचपिसीको प्रयोग हुने गरेको छ ।
आइटी पार्कमा सुपर कम्प्युटरको व्यवस्थापन काठमाडौं विश्वविद्यालयले गर्दै आएको छ । एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने क्षमता भएको सुपर कम्प्युटर मौसमका बारेमा तत्काल जानकारी लिन र दिन, भूकम्पीय जोखिमबारे विश्लेषण गरी पूर्व जानकारी दिन साथै तथ्याङ्कीय विश्लेषणमा प्रयोग गर्न सकिन्छ । यस कम्प्युटरमा कम्प्युटर प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले प्रयोगात्मक अध्ययनका लागिसमेत उपयोग गर्न सक्ने छन् । झन्डै २ हजारवटा सामान्य कम्प्युटरले गर्ने काम यो एउटा कम्प्युटरले गर्न सक्छ । आइटी पार्कमा विद्यार्थी, सञ्चार तथा प्रविधि क्षेत्रसँग सम्बन्धित काम गर्न सहकार्य गर्न गर्न सकिन्छ । हामीले यस बिनजेस मोडालिटीमा नयाँ के गर्न सकिन्छ भनेर तयारी गरेका छौँ ।

नयाँ तरिकाले सञ्चालन गर्ने तयारी गरेका छौँ
लक्ष्मीप्रसाद यादव
महानिर्देशक, सूचना–प्रविधि विभाग
सूचना–प्रविधि पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७२ बमोजिम पार्क सञ्चालन भएको छ । सूचना–प्रविधिसम्बन्धी दक्ष जनशक्तिको उत्पादन तथा सोसम्बन्धी अध्ययन–अनुसन्धान गर्न टेवा पु-याउने उद्देश्यले पार्क स्थापना भएको हो । पार्कमा स्वदेशका सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई समय सापेक्ष पुनर्ताजगी तालिम दिई क्षमता अभिवृद्धि गर्ने अवसर उपलब्ध गराउने तथा सूचना–प्रविधिमा आधारित सेवाप्रदायक कम्पनीको विकास र प्रवद्र्धनद्धारा रोजगारी सिर्जना गर्दै सेवा विस्तार र निर्यात प्रवद्र्धन गर्नु आइटी पार्कको मुख्य उद्देश्य हो । निर्देशिकाले पार्क व्यवस्थापन तथा सञ्चालनमा विश्वविद्यालय र निजी क्षेत्रलाई साझेदार बनाउन सक्ने व्यवस्था छ । सोही बमोजिम काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको हो ।
अहिले पार्कमा सुपर कम्प्युटर काठमाडौँ विश्वविद्यालयले नै राखेको छ । यसले आइटी पार्कको महŒव र प्रभावकारितालाई बढाएको छ । सम्झौताबमोजिम विश्वविद्यालयले सूचना–प्रविधि सिस्टम डिजाइन, विकास र सिस्टमहरूको एकीकरणका साथै तालिम, अनुसन्धान, विकास, कल सेन्टर बिजनेस प्रोसेस आउटसोर्सिङ र सूचना–प्रविधिमा आधारित सेवाहरू दिन सक्नेछ । प्रशिक्षण, विद्युतीय प्रशिक्षण, सम्मेलन गोष्ठी, हार्डवेयर फेब्रिकेसनलगायत सफ्टवेयर विशिष्टीकरण गर्न सकिन्छ ।
हालसम्मकै शक्तिशाली कम्प्युटर भित्रिएसँगै आमजनमानसमा त्यसप्रति चासो पनि बढेको छ । उक्त सुपर कम्प्युटरलाई आइटी पार्कमा राखेर विश्वविद्यालयले सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सही तरिकाले सञ्चालनमा आउन सक्यो भने आइटी पार्कको चार्म बढ्नेछ । आइटी पार्क सञ्चालन तथा व्यवस्थापन गर्ने समिति पनि छ, सो समितिले नयाँ ढंगले अगाडि बढाउने विषयमा छलफल पनि गरेको छ । २०७२ चैत २४ गते सूचना–प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम अनुसन्धानका लागि रिसर्च ल्याब सुरु गरेको हो । यस्तै, बिजिनेस इन्कुबेसन र फिनिसिङ स्कुलका रूपमा एजुकेससनल इन्नोभेसन सेन्टरसमेत सञ्चालनमा ल्याउने तयारी काठमाडौँ विश्वविद्यालयले गरेको छ ।