किरण आचार्य
मंगलबार, कार्तिक २०, २०७५
441

कुमार कसजू श्रेष्ठ
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । घरआँगनमा तिहारको झल्को दिइरहेका छन् रंगीचंगी फूलले । तिहार आएको सन्देश महिना दिन अघिदेखि नै दिइरहेका छन् रंगीचंगी फूलले । तिहारमा मात्र हैन, नेपालमा जन्मकर्मदेखि मृत्युपर्यन्त नै विविधि धार्मिक, सांस्कृतिक कार्यमा पनि फूल अनिवार्यजस्तै छ । फूलको धार्मिक, सांस्कृतिक मात्र नभई वातावरणीय हिसाबले पनि उत्तिकै महत्व छ । मुलुकको अर्थतन्त्रमा पनि फूलले योगदान गरिरहेको छ । विश्वमा उपहारका रूपमा फूल दिनुलाई निकै महत्वका साथ हेरिन्छ । नेपालमा पनि पछिल्ला दिनमा भाँडा, प्लास्टिकका सजावटका सामग्रीदेखि स्वागत तथा बिदाइका बेला ओढाइने खादाको स्थान पनि फूलले लिन थालेको देख्न सकिन्छ । बाग्मतीमा फालिएका खादाले वातावरण प्रदूषण गरिरहेको भन्दै तत्कालीन बाग्मती सरसफाइ अभियानका अभियन्ता तथा हाल चीनका राजदूतका रूपमा कार्यरत लीलामणि पौडेलले सार्वजनिक कार्यक्रममा खादा वहिष्कार अभियान सञ्चालन गरेपछि त्यसको स्थान फूलले लिन थालेको छ । यो संस्कृति राजधानी हुँदै मुलुकभर फैलँदैछ । फूलको महत्वका विषयमा उपभोक्ता स्तरमा पनि सचेतना बढ्दो छ । करेसाबारी हुनेले करेसाबारीमा र नहुनेले घरघरमा गमलामा सजाएर फूल रोप्नु संस्कृृतिजस्तै बनेको छ । यो आफैमा सराहनीय कदम हो, स्वाथ्य र संस्कृतिका हिसाबले पनि । नेपालमा फूलको व्यावसायिक उत्पादन पनि उल्लेख्य बढ्दै छ । बर्सेनि फूलको आयात तथा निर्यात र स्वेदशमै खपत बढेको पाइन्छ । पुष्प प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीति नै ल्याएको छ भने फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले पुष्प प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पुष्प प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहेको संस्था फ्यानको नेतृत्व गरिरहेका छन् दुई दशकदेखि पुष्प व्यवसायको क्षेत्रमा लागिपरेका कुमार कसजू श्रेष्ठले । नेपाल फूलमा करिब–करिब आत्मनिर्भर बनिसकेको बताउने उनी नेपालले रैथाने फूल प्रवद्र्धन गरेर विश्वबजारमा नेपालका फूलहरू बिक्री गरेर डलर भिœयाउन सकिने विश्वास राख्छन् । विश्व बजारमा निकै महत्वका साथ लिइने फूलको आर्थिक, सामाजिक, सांस्कृतिक महत्वका बारेमा नीति–निर्माताहरू नै अनभिज्ञ रहेको उनको अनुभव छ । फूलको महत्व बुझाउन प्रदेश सरकारसँग नियमित अन्तत्र्रिmया गरिरहेको बताउने फ्यानका अध्यक्ष कसजूसँग पुष्प क्षेत्रको व्यावसायिक विषयका विभिन्न पाटामा केन्द्रित रहेर कारोबारकर्मी किरण आचार्यले गरेको कुराकानीको सार :

व्यावसायिक पुष्प उत्पादन तथा प्रवद्र्धनको क्षेत्रमा हामी कुन अवस्थामा छौं ?
अन्तर्राष्ट्रिय पुष्प व्यवसायको क्षेत्रलाई हेरेर तुलना गर्ने हो भने त हामी धेरै नै तल छौं । हामी बामे सर्न पनि सकिरहेको अवस्था हैन । तर, नेपाली पुष्प बजारमा विगतलाई तुलना गरेर हेर्ने हो भने हामी आत्मनिर्भर हुने तरखरमा छौं । एकैपटक धेरै फूल आवश्यक पर्ने तिहार, भ्यालेन्टाइनलगायतका अवसरमा बाहेक अरू समयमा हामीलाई धेरै आयात गरिहरनु पर्दैन । गत वर्ष औपचारिक रूपमा १ अर्ब ८६ करोडको कारोबारमध्ये ११ करोडको मात्र आयात भएको छ । यसको अर्थ हामी पुष्पजन्य वस्तुमा आत्मनिर्भरको सँघारमा छौं भन्ने देखिन्छ । तर, यही नै सन्तुष्ट हुने अवस्था भने होइन । किनकि हामीले उपभोक्ताको रुचिहरूको उत्पादन दिन सकिरहेका छैनौं । हामीले हरेक वर्ष गर्ने मेला प्रदर्शनीको मुख्य उद्देश्य उपभोक्ताको रुचिका विषयमा जानकारी लिनु रहेको हुन्छ । पछिल्ला वर्षहरूमा उपभोक्ताको रुचि हेर्दा उपभोक्तासम्म हामीले पुराइरहेको उत्पादन मात्र नभई नयाँ–नयाँ उत्पादनमा उपभोक्ताको रुचि बढेको पाएका छौं । त्यसैले हामीले उपभोक्ताको मन जित्न गर्नुपर्ने धेरै बाँकी छ ।
पहिले–पहिले उपभोक्ता हामीले जे उत्पादन गर्छौं त्यही नै लैजाने गर्थे । अहिले यत्तिमै सीमित छैन । उपभोक्ताहरू आउनुहुन्छ, हेर्नुहुन्छ तर मन पर्ने वस्तु आएको छैन भने खाली हात फर्कनुहुन्छ । उहाँहरू आफूहरूले चाहिएको एक खालको र हामीले दिएको फरक खालको भएकाले किन्न नचाहेको भनेर प्रतिक्रिया दिने गर्नुहुन्छ । तत्काललाई व्यापार भएन भनेर चिन्ता त होला तर दीर्घकालमा उपभोक्ताको प्रतिक्रियालाई आधार मानेर वस्तु बजारमा लैजानु नै व्यावसायिक कर्तव्य ठानेर हामी उपभोक्ताको रुचिलाई प्राथमिकतामा राख्न थालेका छौं ।

उपभोक्ताको रुचिमा आएको परिवर्तन वा नयाँ चाहना कस्ता छन् ? तपाईंहरूले कति पूरा गरिरहनुभएको छ ?
पछिल्लो समयमा उपभोक्ताले ह्यान्डलिङमा पनि सजिलो हुने, सानो चटक्क परेको, जहाँ पनि राख्न मिल्ने, सानो गमलामा पनि धेरै वर्ष राख्न सकिने र हेर्दाखेरि आकर्षक बिरुवा जो डाइनिङ टेबलमै राख्न सकिने खालको फूल उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । भद्दा खालको, धेरै माटो, ठूलो गमला र धेरै उचाइ भएका रूख, बिरुवा उपभोक्ताको रुचिबाट हराउँदै गएका छन् । यस पटकको गोदावरीमा हामीले नेदरल्यान्डबाट आयात गरिएका मसिना बिरुवाहरू प्रदर्शनीमा राखेका थियौं, त्यसमै उपभोक्ताको आकर्षण बढेको पायौं । हामीलाई अब आफ्नो इच्छा वा अनुकूलताको मात्र उत्पादन बजारमा लगेर उपभोक्ता सन्तुष्ट नहुने देखियो । उपभोक्ता सचेत बनेका छन् । उनीहरूको रुचिको ख्याल गर्नुपर्ने भएको छ । यो हाम्रो धर्म पनि हो । यही कुरा मनन गरेर हामीले उपभोक्ताका रुचिअनुसारका फूलका बिरुवाहरू बर्सेनि बढाउँदै आएका छौं ।
उपभोक्ताका रुचिअनुसारको बिरुवा आजको भोलि नै दिन सकिने अवस्था हुदैन । त्यसैअनुसारको स्रोत, साधन, लगानी र सरोकारवालासँगको समन्वय पनि उत्तिकै खाँचो पर्छ । हामी परम्परागत रूपमा जे सकिन्छ त्यही मात्र उत्पादन गर्ने र मेला प्रदर्शनीमा पनि आफूले उत्पादना गरेर जे छन् त्यही मात्र प्रदर्शनीमा बानी परेका छौं । कुनै समय ब्यापार भएन भने प्रचारप्रसार पुगेन भनेर चित्त बुझाउने चलन व्यवसायीहरूमा छ, तर यसो होइन । यो कुरा मनन गरेर हामी व्यवसायीहरू पनि उपभोक्तामैत्री उत्पादन बजारमा लैजानमा केन्द्रीत हुनुपर्ने देखिन्छ । फ्यानले यस विषयमा व्यावसायिको ध्यानाकर्षण गराउने काम गरिरहेको छ । यद्यपि कतिपय व्यवसायीले आयात गरेर भए पनि उपभोक्ताका रुचिअनुसारका पुष्पजन्य उत्पादन बिक्री वितरण गरिरहेका छन् ।

आत्मनिर्भरताको कुरा निकै उठ्छ, तपाईं आफैंले पनि फूलमा आत्मनिर्भरताको नजिक छौं भन्नुभएको छ । फूल उत्पादनमा मात्र नभई फूलको मल, बीउ, प्रविधि, प्राविधिकलगायतमा हामी कहिले आत्मनिर्भर र निर्यात गर्न सक्ने हुने ?
हामीले प्रविधि ल्याइरहेका छौं, प्रविधि पनि बाहिरबाट ल्याइरहेका छौं । फूल उत्पादन आफैंमा प्राविधिक कुरा हो । यस विषयमा एड्भान्स तालिम दिनुपर्यो भने हामीसँग जनशक्ति हुदैन, बाहिरबाट बोलाउनुपर्ने अवस्था छ । यसमा आत्मनिर्भर हुन अझै समय लाग्छ । हामीले प्राविधिक चाहियो भनेर सरकारलाई भनिराख्दा बल्ल एउटा क्याम्पसमा बीएस्सी फ्लोरिकल्चरको पढाइ सुरु गरिएको छ । दक्ष प्राविधिक जन्माउने आशा हामी आशावादी छौं । करिब–करिब ८० प्रतिशत फूलका बीउ बाहिरबाट ल्याउने हो । बीउ बनाउने प्राविधिक यहाँ छैन । यहाँ बनाइने बीउ पनि बाहिरबाट ल्याएकाबाट बढाउँदै लैजाने हो । हाइटेक प्रविधिबाट बीउ उत्पादन गरेर निर्यात गर्नेमा विश्वमा हल्यान्डलगायत निकै थोरै मुलुक छन् ।
उत्पादनसँग जोडिएका ग्रिन हाउस प्रविधि पाँच वर्षयता प्रयोगमा आउन थालेको छ । प्रविधिले उत्पादन र उत्पादकत्वमा हुन्छ तथा गुणस्तर पनि हुन्छ । गत वर्षसम्म मात्र सरकारसँग मिलेर हामीले ४० हजार वर्गमिटर क्षेत्रफलमा ग्रिन हाउस जडान ग¥यौं । यसले गर्दा भ्यालेन्टाइनमा पनि नेपालका फूल बजारमा आउन थाले । यस्ता ग्रिन हाउस १ लाख वर्गकिलोमिटरमा विस्तार गर्न सके फूल उत्पादनमा आत्मनिर्भर हुन्छौं । त्यसमा पनि हिटिङ कुलिङ प्रविधि जोड्न सक्यौं भने राष्ट्रिय माग पूरा गरेर निर्यात गर्ने हैसियतमा पुग्छौं ।

व्यवसायीकरणका बीच स्थानीय जातका फूलहरू मासिने खतरा पनि उत्तिकै छ । रैथाने जातको संरक्षण गर्दै व्यावसायिक उत्पादनमा जान तपाईंहरू के गरिरहनुभएको छ ?
बहुसंख्यक व्यावसायिक प्रजातिका फूलहरू आयात गरिरहँदा स्थानीय जातका फूलहरू ओझेलमा पर्ने जोखिम बढेको गुनासो केही हदसम्म सही हो । स्थानीय जातका विरुवा संरक्षण गर्नुपर्छ भन्नेमा हामी पनि सरोकारवालासँगको सहकार्यमा केही अभियानमुखी र अनुसन्धानका कामहरू गरिरहेका छौं । व्यावसायिक क्षमता राख्नेलाई व्यावसायिक उत्पादनमा लैजाने र व्यावसायिक क्षमता नराख्नेलाई संरक्षण गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, संरक्षण संवद्र्धनभन्दा पनि व्यावसायिक उत्पादन प्रवद्र्धनका हिसाबले गर्दा बजारमा प्रतिस्पर्धी र उपभोक्ताको मागअनुसारको उत्पादन पुराउनमा हामी केन्द्रित हुनुपर्ने हाम्रो बाध्यता हो । रैथाने जातका फूल, वनस्पतिहरूको पहिचान, संरक्षण र संवद्र्धन गर्नुपर्ने मुख्य दायित्व सरकारी निकायको हो । संरक्षण गर्ने निकाय पनि छन्, सरकारी । सरकारले यसमा गम्भीरतापूर्वक काम गरोस् भन्ने लाग्छ । निजी क्षेत्रका तर्फबाट हामीले निर्वाह गर्नुपर्ने जिम्मेवार तोकिएमा सोही अनुसार हामी पनि संरक्षण संवद्र्धनमा लाग्छौं ।
हामीसँग सयौं प्रजातिको लालीगुराँस छ भनेर मात्र पुष्प क्षेत्रको प्रवद्र्धन हुने होइन । हामीसँग सयौं थरीका निकै भिन्न र नेपालमा मात्रै पाइने विशेषताका वनस्पतिहरू छन् । तर, छन् मात्र भनेर त भएन नि । तिनमा अध्ययन अनुसन्धान हुनुपर्यो । व्यावसायिक उत्पादनका लागि बीउहरू तयार गरेर हामीलाई दिनुपर्यो, हामी उत्पादन गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न लैजान्छौं । काठमाडौं विश्वविद्यालयसँग मिलेर घरमा सजाउन मिल्ने, वातावरण अनुकूलनमा सहयोगी हुने प्रजातिको फूलमा अनुसन्धान गरिरहेका छौं । अनुसन्धानमा सफलता हात लाग्यो भने आधुनिक समाजमा निकै उपयोगी उत्पादन हामीले विश्व बजारमा लैजान सक्छौं । यद्यपि यस क्षेत्रमा सरकारी लगानी पुगेको छैन । हामीले अवसर कम चुनौती बढी बेहोर्नुपरिरहेको छ ।

पुष्प क्षेत्रको व्यावसायिक अवसर र चुनौती के–कस्ता छन् त ?
नेपालमा पुष्प क्षेत्रमा व्यवसाय गर्न चाहनेलाई अवसरको खानी नै छ । व्यवस्थित हिसाबले अध्ययन गरेर लगानी गर्न सके मुनाफा आर्जन गर्न पनि सहजै सकिन्छ । नेपाली बजार दिनानुदिन फराकिलो भइरहेको छ । नेपालमा पुष्प कल्चरको विकास भइरहेको छ । सामान्य घर बनाउने मान्छेले पनि घरमा फूलका गमलाहरू राखिरहेको छ । फूलको माग बर्सेनि बढ्दो क्रममा छ । सरकारको नीति नै टोलटोलमा बगैंचा र सडक सडकमा हरियाली र पुष्प रोप्ने रहेको छ । हरेक नगरपालिकाले फलफूलको बिरुवा रोप्नुपर्छ, सहर हरियाली हुनुपर्छ भन्ने अवधारणा छ । यो आफैमा अवसर हो ।
नेपालमा पुष्पजन्य वनस्पति, अर्किड, जर्मप्लाजमहरूको अथाह भण्डार छ । तर, नेपालका राष्ट्रिय स्रोतहरूलाई व्यवसायीकरण गर्न नसक्नु पहिलो चुनौती हो । विश्वका मुलुकहरू आफ्नो देशका स्रोत उपयोग गरेरै विकास गरेका छन् । सरकारले वनस्पति विभाग बनाएको छ । तर, कुन बिरुवाको व्यावसायिक उत्पादन गर्ने भनेर अझसम्म पहिचान गर्न सकेको छैन । जोसँग कानुनी अधिकार छ सो निकायहरूले यो काम गम्भीरतापूर्वक गर्नुपर्ने हो तर हुन सकेको छैन । अहिले वन क्षेत्रका वनस्पति अध्ययन गर्नपर्यो भने हामीलाई सजिलो छैन । साथै हामी निजी क्षेत्रले पनि आफ्नो फाइदा मात्र हेर्नु भएन, राज्यप्रति उत्तरदायी बन्नुपर्यो । राज्यका नियम कानुनको पूर्ण पालना गरेर कर्मचारीका सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । हामी संस्थागत हिसाबले यही विषयमा सचेतना अभियान चलाइ पनि रहेका छौं ।

राज्यका नीति तथा कानुनहरू पुष्प प्रवद्र्धन अनुकूल छन् ? नीतिगत व्यवधान पनि छन् कि ?
निकै जोडबलपछि नेपालमा हाल पुष्प प्रवद्र्धन नीत लागू भएको अवस्थामा छ । यही नीतिमा टेकेर सरकारले पुष्प प्रवद्र्धनमा बजेट पनि छुट्याउँदै आएको छ । यो आफैंमा सकारात्मक पक्ष हो । एकात्मक राज्यसत्ता भएका बेला निर्माण भएको यो नीतिमा आधारित भएर चार वर्ष केन्द्र सरकारसँग पुष्प प्रवद्र्धनका क्षेत्रमा काम पनि ग¥यौं । बजेट विनियोजन पनि भए । बजेट लिइसकेपछि खर्च गर्ने मापदण्ड हामीले पालना गर्नुपर्छ । बजेट स्वीकृत भएर आउँदा पहिलो चौमासिक जाने, बाँकी दुईमध्ये एउटा चौमासिक डकुमेन्ट बनाउँदा–बनाउँदै जाने र बाँकी एक चौमासिकमा काम गरेर कहिल्यै नभ्याउने समस्या रह्यो । यसो हुँदा आएको बजेट पनि फिर्ता जाने अवस्था आयो । अझै पनि नेपाल सरकारले २०३२ सालमा बनाएको सार्वजनिक खरिद ऐनअनुसार नियमन गरिरहेको छ, यसलाई परिमार्जन गर्न सरकारलाई केले रोक्या छ ? सार्वजनिक खरिद ऐन नसुधारिएसम्म गर्न खोजेको काम पनि हुदैन । हामीले गुणस्तरीयतामा काम गर्नुपर्ने हुन्छ तर सार्वजनिक खरिद ऐनले सस्तोमा मात्र जोड दिएकाले काम गर्न सकिएको छैन ।
नीतिमा भएका मुख्य तीन व्यवस्था आन्तरिक व्यवसायमा लागेकालाई सशक्तीकरण गर्ने, स्थानीय रैथाने बोटबिरुवाको संरक्षण, संकलन र व्यवसायीकरण गर्ने र गुणस्तरीय उत्पादनसहित अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने विषय हुन् । अब मुलुक प्रदेशमा गएको छ । बल्ल बल्ल केन्द्रीय सरकारले पुष्प क्षेत्र बुझेको छ । प्रदेश सरकारले फूल चिनेका छैनन् । हामीले सबै प्रदेशमा फूलका बारेमा महत्व बुझाउने र नीति बनाउन हामीले जोड दिइरहेका छौं । यद्यपि प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधिहरू सकारात्मक हुनुहुन्छ । संघीयता अनुकूल नीति बनाएर प्रदेश सरकारहरूले पनि यो क्षेत्रलाई गम्भीरतापूर्वक लिने वातावरण सिर्जना भएमा पुष्प क्षेत्रमा थप आसलाग्दा काम हुन सक्छन् । नीति यस्तो हुनुपर्यो पुरानो स्रोतसाधनलाई नयाँ सोचअनुसार सामूहिक पहलमा पुष्प क्षेत्रको व्यवसायीकरणको काम होस् ।

पुष्प प्रवद्र्धनको विषय उठ्नेबित्तिकै फ्लोरिकल्चर एसोसिसन नेपाल नै पहिलो नाम बनेको छ । तपाईंहरू संस्थागत हिसाबले यस क्षेत्रको प्रवद्र्धनका लागि के–कस्ता योजना ल्याउनु भएको छ ?
हामी संस्थागत विकास र पुष्प प्रवद्र्धनका काम सँगसँगै लैजाने योजनामा छौं । मुलक संघीयतामा गइसकेपछि हामीले पनि केन्द्रबाट समन्वय गरेर मात्र काम नबन्ने अवस्था आएको छ । त्यसैले हामी सातै प्रदेशमा समन्वय केन्द्र गठन गरेर जाँदैछौं । त्यो केन्द्रले त्यो जिल्लामा पुष्पसँग सम्बन्धित वस्तुस्थिति अध्ययन र स्थानीय सरकारसँग समन्वय गरेर पुष्प प्रवद्र्धनका काम गर्ने योजनामा छौं । नीतिगत बहस पैरवी र अनुसन्धान तथा विकासको काम संघीय सरकारसँग मिलेर काम गर्छौं । प्रदेश सरकारसँग उत्पादन र प्रवद्र्धनको काम गर्ने गरी काम गर्दैछौं । स्थानीय तहसँग पनि सहकार्य गरेर सोही अनुसारको काम गर्छौं ।

पुष्प क्षेत्रमा लामो समय बिताइसकेको अनुभव तपाईंसँग छ । हालको अवस्थाबाट पुष्प क्षेत्र अबको १० वर्षमा कस्तो अवस्थामा पुग्छ जस्तो लाग्छ ?
पुष्प क्षेत्रमा निजी क्षेत्रको लगानी हाल ६ अर्बको छ । यसमा सरकारको हिस्सा कुल १२ करोड छ आजको दिनमा । सरकारले हाम्रो आधिकारिक संस्थाका रूपमा पुष्प विकास केन्द्र गठन ग¥यो । तर, पुष्पसँग विज्ञ मान्छे केन्द्रमा आएको पाइँदैन । फूलफूल, पशुपन्छी, तरकारी पढेका प्राविधिक आउँछन् र थोरै बुझ्न थालेपछि प्राविधिक सरुवा हुन्छन् । यस कारणले पुष्प क्षेत्रको संरक्षण संवद्र्धनका लागि काम गर्ने मियोको कमी महसुस भइरहेको छ । हाल एसोसिएसनसँग सम्बद्ध मात्र ७ सय व्यवसायी छन्, संगठिन नभएका ३ सय जति होलान् । यस क्षेत्रसँग प्रत्यक्ष अप्रत्यक्ष ४३ हजारको रोजगारी छ । गत वर्ष मात्र १ अर्ब ८६ अर्बको कारोबार भएकोमा ११ करोडको आयात र २ करोड ५० लाखको निर्यातको अवस्था छ । अहिलेसम्मको वस्तुस्थिति हो यो । अहिलेको वस्तुस्थिति रहँदा पनि अबको दशकमा पुष्प क्षेत्रले निकै फड्को मार्ने अवस्थामा पुग्छ भन्ने मलाई लाग्छ ।
२०७० को दशकको अन्त्यसम्म पुष्प क्षेत्रमा खासै देखिने खालको परिवर्तन कम मात्र देखिन पाइएला । अहिलेको अवस्थामा पुष्प क्षेत्रबाट राम्रो कमाइ गरेको छ, तर कमाएको ८० प्रतिशत रकम बाहिर खर्च गर्ने गरिएको छ । केटाकेटीको शिक्षादीक्षा, स्वास्थ्यका लागि, सुविधाका लागि मोटर, घर किन्नेमा खर्च गर्ने प्रवृत्ति हालका व्यवसायीमा छ । यसको ठीक उल्टो ८० प्रतिशत रकम आफ्नो बिजनेसमा खर्च गर्नुपर्ने हो तर यो अहिले देखिँदैन । २०८० को दशकको सुरुदेखि अहिलेको पुस्ता बिस्तारै किनारा लाग्ने र नयाँ पुस्ता पुष्प बजारमा आउन थाल्छन् । नयाँ पुस्ताहरू दीर्घकालीन भिजन लिएर आउँछन् भन्नेमा म धेरै आशावादी र विश्वस्त पनि छु । नयाँ पुस्ताले हालका पुस्ताको अनुभव र लगानीलाई पनि बुझेर नयाँ तरिकाले पुष्प क्षेत्रलाई अगाडि बढाउन थाल्नेछन् । कतिपय युवाहरू अहिले पनि लागिरहेका छन् तर माहौल नै बन्न समय लाग्छ । माटोरहित प्रविधिबाट नेपालमा खेती हुन थाल्छन् र निर्यातको मात्र निकै बढ्छ । अरबमा हाल मान्छे पठाइराखेका छौं, अबको दशकपछि अरबका खाडीमा नेपाली फूल पठाउने दिन आउँछ ।


स्लगहरू

गत वर्ष औपचारिक रूपमा १ अर्ब ८६ करोडको कारोबारमध्ये ११ करोडको मात्र आयात भएको छ । यसको अर्थ हामी पुष्पजन्य वस्तुमा आत्मनिर्भरको सँघारमा छौं भन्ने देखिन्छ ।

भद्दा खालको, धेरै माटो, ठूलो गमला र धेरै उचाइ भएका रूख, बिरुवा उपभोक्ताको रुचिबाट हराउँदै गएका छन् ।

रैथाने जातका फूल, वनस्पतिहरूको पहिचान, संरक्षण र संवद्र्धन गर्नुपर्ने मुख्य दायित्व सरकारी निकायको हो ।