कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५
1051

विदेशमा लामो समय बसोबास गर्दै आएका लाखौं नेपालीको सीप, ज्ञान र आर्जनलाई मात्र लगानी गर्न सके नेपालको समृद्धि टाढा छैन । गैरआवासीय नेपालीको पुँजीलाई ल्याउन सरकार, जनता र स्वयं गैरआवासीय नेपालीले पनि प्रयास गर्नुपर्छ । नेपालीले विदेशी भूमिमा रहेर सिकेको ज्ञान, सीप प्रविधि र आर्जन गरेको पुँजीलाई नेपालको समृद्धिका लागि गरेको प्रयास र सफलतालाई अनुभवका रूपमा लिँदै नेपालमा प्रयोग गर्नुपर्छ । कारोबार दैनिकले आयोजना गरेको ‘कारोबार इकोनोमिक कन्क्लेभ–२०१८’ मा गैरआवासीय नेपालीको लगानी अभ्यास र भूमिका सम्बन्धमा बहस सञ्चालन भएको थियो । सोही कन्क्लेभमा विदेशमा लामो समय बसेर नेपालमा गरेको लगानी अभ्यासका विषयमा व्यवसायी लक्षिन गुरुङ, रामेश्वर शाह र उपेन्द्र महतो व्यक्त गरेको विचारको सार :


विदेशलाई बनाउन सक्नेले नेपाललाई नसक्ने कुरै छैन
उपेन्द्र महतो
संस्थापक अध्यक्ष
गैरआवासीय नेपाली संघ
हामी अहिले जुनै फोरममा गए पनि नेपाली युवा बिदेसिए भनेर खुब चर्चा चलिरहेको सुन्न पाइन्छ । हामी त्यसबाट डराउने होइन । नेपाली युवा बिदेसिए भनेर डराउने होइन । विदेश गएर प्राप्त गरेका सीप, अनुभव, प्रविधि र अलिकति कमाएको पैसा नेपाल फर्केर आउँदा सदुपयोग गर्न सक्छ कि सक्दैन, त्यो विषयमा चाहिँ डर/चिन्ताको कुरा हो । विदेशमा गएका लाखौं नेपालीले विदेशलाई बनाउन सक्ने तर नेपाललाई किन बनाउन नसक्ने भन्ने कुरा हो । नेपाल बनाउने भनेको नेपाल र विदेशमा रहेका नेपाली मिलेर नै हो । विदेशी लगानी, विदेशी प्रविधिको जति कुरा गरे पनि मन नेपाली हुनुपर्छ । जब नेपालीको मनमा म नेपाल बनाउँछु भन्ने भावनाको विकास हुँदैन तबसम्म कुनै विदेशीले आएर नेपाल बनाउँदैन । गैरआवासीय नेपाली किन यति आत्तिएर बोलिरहेका हुन्छन् । तपाईं लाग्छ, विदेश जाने नेपाली मस्ती र आनन्दले बसिरहेको होलान् । किनभने विदेश बस्दा नेपालको माया र विदेशमा हेपिएको कुरा सम्झँदा आफ्नो देशको मौलिकता बिर्सन सकिँदैन । त्यही भावनाले नेपाल नै लगानी गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ ।
विदेशमा नेपाली भएको नाताले हेपिएको कुरा महसुस गर्दा नेपालमै केही गर्छु भन्ने संकल्प मनमा आउँछ । यस्तो संकल्प हुँदा मात्र नेपाली आफ्नो देश नेपाल आउन चाहन्छ । म सबै गैरआवासीय नेपालीलाई भन्ने गर्छु— तपार्इंहरू यति धेरै मेहनत गरेर विदेशमा बस्नुभएको छ, नेपाल जाँदा मनलाई दह्रो बनाएर जानुहोस् । विदेशजस्तो छिटो निराश हुने मानसिकता लिएर नेपाल नजानुहोला । नेपालमा गएर छिट्टै निराश हुनुभयो भने निराश हुने जमात नेपालमा धेरै हुन्छन् र केही काम गर्न सकिँदैन । त्यसकारण नेपालमा आउँदा कति दु:खी र खुसी भइन्छ । नेपाल व्यवहारबाट दु:खी र मनबाट खुसी मिल्ने ठाउँ हो । खुसी पैसाले किन्न पाइने कुरा होइन । विदेशमा जति पैसा कमाए पनि, जति राम्रो घरमा बसे पनि नेपालमा आउँदा जुन आनन्द, सम्मान र आफ्नोपन आउँछ, त्यो अरू ठाउँमा पाइँदैन ।
नेपालमा जे–जति समस्या छ । यो एक दिनमा समाधान हुने समस्या होइन । जब सबै नेपाली एक भएर हामी गरौं भनेर अघि बढ्छौं तब मात्र त्यो समस्या हट्न सक्छ र समस्या बिस्तारै हल हुँदै जान्छ । नेपालमा काम गर्ने मानिस धेरै छौं, कन्ट्रोल गर्ने मानिस कम छन् । जब देशप्रतिको माया र जिम्मेवारी हँुदैन, स्वदेशमा भएर पनि विदेशमा पलायन भए बराबर हो । त्यस कारण मेरो गैरआवासीय नेपालीलाई अनुरोध छ— ढिलो नगर्नुहोस्, नेपाल आएर छिटै केही गरिहाल्नुहोस् ।
देशमा लगानीको कुरा गर्दा सानो लगानी, मध्यम र अर्को ठूलो लगानी हो । सानो र ठूलो लगानीमा धरै नेपाली फिट हुन सक्छन् । त्यसमा पुँजी चाहिन्छ, तर बैंकले दियो भने गर्न सकिन्छ भन्ने मानसिकता राख्ने होइन । पुँजी भनेको आइडिया पनि हो । पुँजीलाई पैसाका रूपमा चाहिएको हो भने, राम्रो भिजन छ भने साथीभाइहरूबाट पनि पाउन सकिन्छ । नेपाल जाडो, गर्मी, भोकका कारण धेरै दुख पाएका मानिस बसेको देश होइन । नेपाल गरिबलाई पनि दिनमा दुई छाक खान समस्या नहुने देश हो । नेपाली युवालाई धेरै कुरा गर्ने अवसर छ । केही व्यवसाय गरेर, यदि सफल हुन सकेन भने पनि खान–लगाउन दु:ख नै हुँदैन । त्यसैले किन लगानी नगर्ने ? नेपाली विदेशमा मेहनत र बहादुरी गरेर चिनिएका मानिस हौं, तर हामी आफ्नै देशमा गर्न लाज मान्छौं, डराउँछौं । हामी सबै पैसा कमाउन चाहन्छौं, तर पैसा कमाउनेसँग ईष्या गर्छौं । यति ईष्या गछौं कि त्यो पैसा कमाउनु पाप हो भनेभैंm गछौं । देश विकास राज्यव्यवस्था परिवर्तनले मात्र हुने होइन । नेपालमा काम गर्न असजिलो छ भन्ने कुरा होइन, यहाँ काम गर्ने धेरै अवसर पनि छन् । नेपालमा असफल हुने सम्भावना जति छ, त्योभन्दा बढी सफलता पाउने अवसर छ । त्यसैले नेपालमा लगानी गर्दा असफलता कुरा मात्र होइन, सफलताका कुरा पनि गर्नुपर्छ । नेपालीले विदेशमा जति पैसा कमाए पनि त्यसको इज्जत हुँदैन । विदेशमा बस्ने नेपालीले आफ्नो कमाइसँगै विदेशमा आफ्नो इज्जत र मानसम्मान बढाउन देशलाई पनि सम्पन्न बनाउँदै लैजानुपर्छ ।
गैरआवासीय नेपालीको सबैभन्दा ठूलो लगानीको आधार भनेको नेपालप्रतिको माया नै हो । नेपालप्रतिको माया भएन भने लगानी गर्ने वातावरण र मनस्थिति नै बन्न सक्दैन । नेपालमा मुनाफा धेरै छ भन्ने कुरा पनि विदेशमा रहेका नेपालीलाई बताउनुपर्छ । लगानी गर्ने सोच लिएर आएका नेपालीहरूका लागि यहाँको ऐन–कानुनका बारेमा जानकारी दिने उपयुक्त स्थानको व्यवस्था गरिनुपर्छ, जसले गर्दा जो–कोही नेपालीले पनि लगानी गर्न इच्छा देखाउन् । अर्को कुरा, गैरआवासीय नेपालीले आपूmसँग विदेशमा बसेका अरू लगानी गर्न चाहने विदेशी तथा स्वदेशीलाई आउन प्रोत्साहन गर्नुपर्छ । नेपालमा लगानी गर्न विदेशी, गैरआवासीय नेपाली र यहाँ रहेका नेपालीको पुँजी मिलाएर पनि गर्न सकिन्छ । यसमा नेपाल सरकारले सबैभन्दा ठूलो जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्छ । नेपालले लगानी भिœयायो भने लगानीयोग्य परियोजनाको पनि तयारी गर्नुपर्छ । पसल खोल्न कोठा मात्र भएर हुँदैन, त्यसका लागि बेच्ने सामानको पनि व्यवस्था गर्नुपर्छ । नेपाल सरकारले विदेशी लगानी भिœयाउन यो–यो क्षेत्रमा सकिन्छ भनेर परियोजना तयार गर्नुपर्छ ।


लगानी गर्न इच्छाशक्ति चाहिन्छ
रामेश्वर शाह
पूर्वउपाध्यक्ष
गैरआवासीय नेपाली संघ
सन् २००३ मा एनआरएनए गठनको कुरा चलिरहेका बेला म मलेसिया थिएँ । त्यही बेला मैले नेपाल फर्केर केही गर्ने योजना बनाइरहेको थिएँ । सन् २०११ देखि २०१३ सम्मको अवधिमा म एनआरएनएको उपाध्यक्ष थिएँ । त्यो बेला मेरो धेरै समय विदेशमा बित्यो । मैले सेक्युरिटी आउटसोर्सिङ व्यवसायमा धेरै लामो समयसम्म विदेशमा बसेर काम गरें । मलेसियामा बसेर मैले जे अनुभव हासिल गरें, नेपालमा पनि त्यही व्यवसाय सुरु गरें । नेपालमा आउटसोर्सिङ सेवा व्यवसायकै रूपमा स्थपित हुन पुग्यो । हामी नेपाली विश्वभर नै बहादुर भएर चर्चित त भयौं, तर त्यो प्रख्यातिलाई सेवा र व्यवसायमा लगानी गर्न सकेका छैनौं । यसैले नेपालीको बहादुरीलाई पुँजी र देशको सेवामा लगाएर नेपालीको बहादुरीलाई सम्मानित बनाउन केही गर्नुपर्छ भनेर नेपाल आएर लगानी गरेको हुँ । उताको काम छोडेर नेपालमै केही गर्नुपर्छ भनेर नेपाल आएँ । आएर बिजनेस सुरु गर्दा साथीभाइहरू नै विश्वास गर्दैनथे । विदेश बसेको मानिस नेपालमा काम गर्न सक्दैन भन्ने साथीहरूको भनाइ थियो ।
नेपालमा व्यवसाय गर्न गाह्रो भए पनि प्रयास गर्न छोड्नु हुँदैन । हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने भन्ने हो । नेपाललाई हामी समृद्ध बनाउँछौं भन्ने सबै नेपालीको सोच हुनुपर्छ । मेरो भनाइ नेपाली विदेश गए पनि केही गर्न नेपाल नै आउनुपर्छ भन्ने हो । नेपालमा लगानी गरेर ब्रान्ड स्थापित गर्न जति समय लाग्छ, विदेशमा लगानी गरेर स्थापित हुन त्यसको दोब्बर समय लाग्छ । नेपालमा लगानी गर्न असजिलो छ, तर त्यो असजिलो पार गर्न सक्यो भने मौका पनि धेरै नै छ । हामी एनआरएनहरू आफै नेपालमा लगानी गर्न उत्साहित हुँदैनौं, अनि कसरी आउँछ विदेशीको लगानी । पहिला गैरआवासीय नेपालीले नै लगानी गरौं र पछि विदेशमा रहेका आफ्ना साथीलाई अनुरोध गरौं । नेपालमा केही क्षेत्रमा लगानी गर्यो भने त्यसको प्रतिफल पनि राम्रो आउने गरेको छ । नेपालमा लगानी गर्न पुँजीको कमी छैन, केवल इच्छाशक्तिको कमी मात्र देखिन्छ । यसमा गैरआवासीय नेपालीले आएर सुधार गर्न सहयोग गर्नुपर्छ । नेपालमा बनेका कानुन पनि लगानीमैत्री नै रहेका छन् । जस्तै, हालै संशोधन भएको श्रम ऐनलाई हेर्ने हो भने पनि श्रमिक र लगानीकर्ताका लागि यो क्षेत्रमा नै उत्कृष्ट रहेको छ, तर यसको कार्यान्वयनचाहिँ ठूलो कुरा हो ।
विदेशमा रहेका नेपालीमा तीनवटा कुरा हुन्छ । त्यो भनेको ज्ञान, सीप र पैसा हो । यी तीन कुरा लिएर प्रत्येक नेपाली स्वदेश फर्किएको हुन्छ । दैनिक २ हजारको हाराहारीमा नेपाली युवा विदेश गइरहेका छन् भने १ हजार ८ सयको हाराहारीमा फर्किरहेका छन् । विदेशमा नेपालीको संख्या ६०/७० लाख पुगिसकेको अवस्था छ । यसरी फर्केका नेपालीहरूले के सिके त ? त्यसको तथ्यांक नै छैन । विदेशमा सिकेको त्यो सीप र पुँजीलाई व्यवस्थित तरिकाले नेपालमै सदुपयोग गर्ने हो भने देशलाई सम्पन्न बनाउन अरूसँग पैसा मागिरहनु पदैन । यसरी हेर्दा नेपाल फर्केका गैरआवासीय नेपालीको क्षमताअनुसारको डाटाबेस बन्न सकेको छैन । सरकारले यस्ता कामदारको तथ्यांक बनाएर नेपालमा आवश्यकताअनुसार प्रयोग गर्न सक्छ । नेपालीले विदेशमा हरेक क्षेत्रमा काम गरिरहेको छ । उसले सीप र ज्ञान प्राप्त गरिरहेको छ, तर विदेशमा रहेका नेपालीको लगानी भिœयाउन र लगानी गर्न नेपालमा देखिने प्रक्रियागत झन्झटलाई सहज गर्नुपर्छ । हाम्रो भनाइ र गराइमा एकरूपता छैन । लेख्नुप¥यो भने एकथोक लेख्छौं र गर्नुप¥यो भने अर्को थोक गर्छाैं । हामी जे लेख्छौं त्यही नै लागू गर्नुपर्छ । त्यही नै अभ्यास गर्न सरकारले पनि सहयोग गर्नुपर्छ । नेपालमा स्वास्थ्य, शिक्षा र फाइनान्स क्षेत्रको हब बनाउन सक्ने सम्भावना धेरै छ । नेपालमा कुनै क्षेत्रमा पनि लगानी गर्दा यसको प्रतिफल २० प्रतिशत भन्दा बढी नै आउने देखिन्छ । त्यसैले कतिपय अवस्थामा सरकारले लगानीकर्तालाई लगानीको निश्चित प्रतिशत ग्यारेन्टी पनि गर्नुपर्छ । नेपालमा भन्ने बेलामा वान विन्डो भनिन्छ, तर भित्र पसेपछि सयौं विन्डो देखा गर्ने गरेको छ । यी सबै कुरामा सुधार गर्यो भने लगानी पनि आउँछ र देश पनि चाँडै समृद्धिमा जान्छ ।


लगानीका लागि ऋण लिने प्रक्रिया सहज बनाउनुपर्छ
लक्षिन गुरुङ
लगानीकर्ता
गण्डकी रेन्बो ट्राउट फार्म
म विगतमा १५ वर्ष हङकङ र २ वर्ष बेलायत बसें । त्यसपछि हाम्रो देशमा भन्दा अन्य देशमा धेरै अवसर पाइन्छ भनेर अमेरिका, चाइना र एसियाका विकसित अन्य धेरै राष्ट्रको भम्रण गरें । हाम्रो देशजस्तो राम्रो काम गर्ने अवसर भएको देश अन्य कहीँ पनि भेटिनँ र नेपालमै आएर लगानी गरें । अहिले मैले गण्डकी रेन्बो ट्राउट फार्म भनेर एउटा माछापालन गरेको छु । यो जातको माछा नेपालमा आएको २७/२८ वर्ष भयो, तर यसको व्यावसायिक पालन भने गरिएको थिएन । मैले यो व्यवसाय बेलायतमा बस्दा नै सञ्चालन गर्ने सोच बनाएको थिएँ ।
आफ्नै देशमा केही गरौं भनेर माछापालन व्यवसायका लागि नुवाकोटदेखि सबै क्षेत्रको अध्ययन गरें । पोखरामा यो माछापालन व्यवसाय छैन भनेर गोदावरी मस्त्य अनुसन्धानदेखि सिंहदरबारतिर सबै क्षेत्रमा सहयोग गर्ने निकायसँग कुरा भयो । तर, सन्तुष्ट हुने गरी कतैबाट पनि सुझाव पाउन सकिनँ । त्यस बेला यो माछा १२/१३ सय रुपैयाँ प्रतिकिलो थियो । यति महँगो माछाको व्यावसायिक पालन गर्दा विदेशमा कमाएजति यहाँ नै कमाउन सकिन्छ भन्ने पनि सोच आयो । यसका लागि सबै विज्ञ र अनुसन्धान गर्ने व्यक्तिसँग राय–सुझाव संकलन गरें । सुझाव दिने मानिसबाट उत्पादन लागत प्रतिकिलो ५ सय पर्ने र बिक्री १२ सयमा हुने सुझाव पाएँ ।
२०६८ सालमा ८ सय रुपैयाँ प्रतिकिलो माछा बजारमा ल्याउने सोच गरेर व्यावसायिक उत्पादन सुरु गरें, तर नेपालमा यस्तो व्यवसाय गर्न धेरै गाह्रो रहेछ । मसँग भएको ६०/६५ लाख रुपैयाँ यो व्यवसायका लागि लगानी गरिसकें । यो माछा उत्पादन गर्न महँगो छ । १ किलो उत्पादन गर्न ३ किलो दाना चाहिने रहेछ । यसको दाना प्राणीजन्य प्रोटिनबाट मात्र उत्पादन हुने भएकाले नेपालमा पाइँदैन । यो कार्निभोरस जातको माछा भएकाले यसलाई हुर्काउन धेरै गाह्रो छ । यसको दाना भारतबाट आउने भएकाले पनि यो व्यवसाय धेरै चुनौतीपूर्ण रहेछ । व्यवसायका लागि पूर्वाधार तयार गर्दागर्दै भएको पैसा सबै सकियो । काम गर्छु भन्नेका लागि नेपालमा बैंक ऋण दिन धेरै गाह्रो रहेछ । लोन लिन जाँदा नगरपालिकाभित्र जग्गा छ भने मात्र लोन दिने बैंकले जनायो । त्यसैले लगानी गर्नेका लागि ऋण लिने प्रक्रियालाई सहज बनाउनुपर्छ । अझ आफ्नो नाममा जग्गा नभए तर लगानी गर्छु भन्नेका लागि नेपाल त्यति सहज छैन ।
पोखरा नगरपालिकाभित्र मेरो जग्गा नभएकाले ससुरालीको जग्गामा व्यवसाय गरेको छु । यो देशमा गाडी किन्न ऋण पाइन्छ तर हामी जस्तो उत्पादन गर्छु भन्ने व्यवसायीले ऋण पाउँदैनन् । घर बनाउने लोन पाइन्छ तर कृषकलाई लोन लिन गाह्रो छ । नेपाल परनिर्भर हुनुको कारण सबै क्षेत्रबाट कृषिमा लगानी नगरेकाले नै हो । हामीले सस्तो ब्याजमा ऋण पायौं भने नेपालीलाई पुग्ने गरी आयात विस्थापित गर्ने गरी माछा यहीं नै उत्पादन गर्न सकिन्छ ।
यसरी नै कतिपय अन्य उत्पादन जुन नेपालमा मात्र उत्पादन हुने र विश्व बजारमा लोकप्रिय भएका पस्मिना कपडालगायतका वस्तुको कपि गरेर विदेशीले विश्व बजारमा बेचिरहँदा हामी नेपाली त्यो नक्कली उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बसिरहेका छौं । हाम्रो देशका केही मौलिक उत्पादन, वस्तु र सेवाको प्रवद्र्धन गर्ने हो भने कसैले पनि विश्वबजारमा नक्कल गरेर बेच्न सक्दैन । जस्तै नेपालको सगरमाथाको महत्व, ट्राउड माछा, हिमालको पानीलगायतका वस्तुको विश्व बजारमा राम्रो प्रवद्र्धन गरेर व्यवसाय गर्न सकिन्छ । नेपालका कतिपय अर्गानिक वस्तुलाई विश्व बजारमा प्रवद्र्धन गर्न सकिने सम्भावना छ ।
नेपालमा व्यवसाय र लगानी भिœयाउन सरकारका लागि केही चुनौती रहेका छन् । नेपालमा केही गर्नका लागि भ्रष्टाचार र ढिलासुस्ती रहेको छ । तर समग्रमा हेर्दा केही गर्छु भन्नेका लागि त्यति गाह्रो पनि छैन । देश धनी बनाउन जनता आफै स्वावलम्बी र मेहनती हुनुपर्छ । विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्छ । विदेशमा काम नगरी खानै पाइँदैन, तर काम नगरी खान पाउने देश भनेको नेपाल मात्र हो । देश समृद्ध बनाउन र युवाको सीप र ज्ञानलाई लगानी गर्नुपर्छ । विदेशमा गएर आएका कतिपय नेपालीले पैसा धेरै नकमाउलान, तर पैसा, समय के हो भन्ने बुझेको हुन्छ, त्यही नै ठूलो कुरा हो ।
विदेशबाट सबै नेपाली आएर लगानी गर्नुहोस् भन्नुभन्दा पनि हाम्रा दुई छिमेकी राष्ट्रमा व्यवसाय प्रवद्र्धन गरे मात्र पनि नेपालीले धेरै समृद्धि हासिल गर्न भन्ने कुरा पनि सोच्नुपर्छ । लगानीका लागि सहुलियतमा ऋण दिने नीति कार्यान्वयन गर्नुपर्छ । सरकारको ऋण लगानीमा सञ्चालन भएका व्यवसायमा लगानीअनुसार काम भए/नभएको अनुगमन गर्न छुट्टै संयन्त्र बनाएर काम गर्न सकिन्छ । बैंकिङ क्षेत्रलाई लगानीमैत्री बनाई त्यही अनुसार गर्नुपर्छ ।