कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५
819

नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा ल्याएको गरेको छ । नयाँ एपमार्फत टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने कम्पनी जनाएको छ ।
त्यसैगरी फ्रन्ड एन्ड फेमिली (एफएनएफ) सेवाबाट टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।

यो एपमार्फत आफ्नो मोबाइलबाट टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरू गिफ्ट दिन पनि सकिने कम्पनी जनाएको छ । साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरू डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ ।
उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरूको महसुल दरबारे जानकारी लिन पनि सकिनेछ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिनेछ ।