कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
355

चिनियाँ कम्पनी भीभोले आफ्नो पछिल्लो स्मार्टफोन भीभो भी १५ प्रो नेपालमा सार्वजनिक गरेको छ । गत बिहीबार एक कार्यक्रमका बीच नेपालमा आधिकारिक प्रवेश गरको यो स्मार्टफोन अलिक फरक फिचर पपअप सेल्फी क्यामराजडित फोन हो ।
भीभो भी १५ नेपाली बजारमा पुग्नु भनेको भीभोको व्यापार मात्र नभएर पपअप क्यामरालाई उपभोक्ताले कसरी लिन्छन् भन्ने टेष्ट पनि हो । भीभोको यो फिचर ग्राहकले मन पराउने वा नपराउनेमा अर्को चिनियाँ कम्नपी वनप्लसको वनप्लस सेभेनको भविष्यसमेत निर्भर हुन सक्नेछ । किनकी लिक भएका सूचना अनुसार वनप्लस सेभेनमा पनि पपअप सेल्फी क्यामरा राख्ने योजना छ । यद्यपी विश्व बजारमा भिभोको यो फिचरलाई उपभोक्ताले कसरी लिन्छन् भन्ने भने हेर्न बाँकी नै छ ।

एलेभेटिङ क्यामरा पहिलो पटक मोबाइल वल्र्ड कंग्रेसमा प्रदर्शन गरिएको थियो । एआइ फिचर जडित एलेभेटिङ क्यामरा माथिल्लो भागको भित्रतिर रहेको छ । यो क्यामरा सेल्फी अन गरेपछि अटोमेटिक रुपमा बाहिर आउने गर्छ । फुल स्क्रीन डिस्प्लेका साथ आउने नच फिचरसमेतलाई रिप्लेस गर्ने गरि भिभोले पपअप क्यामरा जडित उत्पादन बाहिर ल्याएको हो । यसमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ फिचर त छँदैछ ।
नचलेस फुलस्क्रीन रहेको फोनमा रहेको पपअप सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ । भीभो भी१५प्रोमा ९१.६४ प्रतिशत स्क्रीन टू बडि रेसियो रहेको छ जसले गेमिङ र भीडियो हेर्नका लागि सहजता प्रदान गर्दछ । “हामी सधै गेम चेन्जिङ फीचरहरु ल्याउन प्रयासरत छौं, जसमा उच्च गुणस्तरको क्यामराहरु, स्मार्टर एआई सर्भिसेज लगायतले मोबाइल अनुभवलाई नयाँ आयाम प्रदान गर्दछ,” भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने, “उद्योगकै पहिलो एलेभेटिङ फ्रन्ट क्यामराले फोनमा बेजेललेस डिस्प्ले प्रदान गरेको छ । भीभो भी १५प्रो ग्राहकहरुको दैनिक जिवनलाई सहज बनाउन ल्याएको प्रडक्टको हामीले व्यक्त गरेको प्रतिबद्धताको उदाहरण हो ।”
भीभो भी १५ प्रोमा ६.३९ इन्चको सूपर एमोलेड अल्ट्रा फुलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ । यसको अर्को गज्जबको विशेषता भनेको एआई ट्रिपल क्यामरा हो, जसमा ४८ मिलियन क्वाड पिक्सेल सेन्सरजडित छ । ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सक्छ, जुन लो लाइट फोटोग्राफीको लागि पनि उत्कृष्ट मानिएको छ । यसको वाईड एंगल क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सकिने कम्पनीले जनाएको छ ।
पावर अन गर्नका लागि भी१५ प्रोको साइडमा भएको नयाँ स्मार्ट बटन प्रयोग गर्न सकिन्छ । एक क्लिकमा गूगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५ प्रोमा गूगलसँगको सहकार्यमा तयार पारिएको भ्वाइस कमाण्ड पनि राखिएको छ जसले तपाईँको आवश्यकताअनुसारको जवाफ दिन्छ । यसका साथै एआई फेस ब्यूटी, फोन मेमोरी क्लिनअप, खोजीलगायतका कार्य कमाण्डबाटै नै गर्न सकिन्छ । यसको अन्य विशेषतामा गेम मोड ५.० पनि अपग्रेडेड फिचर हो । क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टा कोर प्रोसेसर, ६ जीबी र ८ जीबी ¥याम अप्सनका सथा १२८ जीबी इन्टरनल स्टोरेज रहेको यो फोनमा ड्यूल इन्जिन फास्ट चार्जिङ टेक्नोलोजीका साथमा प्रयोगकर्ताहरुले केबल १५ मिनेटमा एक चौथाई चार्ज गर्न सकिनेछ । नेपालमा सुरुवाती मूल्य ५२ हजार ४९० तोकिएको भीभो भी १५ प्रो स्मार्टफोन फागुन २४ देखि नै बजारमा उपलब्ध छ ।