धर्मेन्द्र कर्ण
शुक्रवार, चैत्र १, २०७५
375

धार्मिक सिरियलहरूमा नारद कैलाशबाट फुत्त विष्णुका अगाडि बैकुण्ठ पुगेको र फुत्त ब्रह्मलोकमा ब्रह्माको अगाडि पुगेको दृश्य यस्ता सिनेमा देख्नेहरूलाई थाहा नभएको विषय होइन । अब तपाँई पनि फुत्त यहाँ फुत्त त्यहाँ जाने गरी आफ्नो अवतार निर्माण गर्न सक्नुहुन्छ । फेसबुकको ‘भीआर अवतार’ले तपाँई को आफ्नै अवतार बनाउने छ ।
सूचना प्रविधिको उन्नत विकासको मध्येको एक पद समूहको संक्षिप्त संकेत भीआर हो । ‘भर्चुअल रियालिटी’ जसलाई भीआर भनिन्छ, हामी वास्तविक संसारमा बाँचिरहेका हुन्छौ । यसलाई ‘रियल वल्र्ड’ भनिन्छ । राति निदाउँछौ र सपना देख्छौं । जे जे देख्छौं त्यो सबै यथार्थ हुन्छ । त्यसले दिने संवेदना ‘रियल वल्र्ड’ जस्तै हुन्छ । ठीक यसैगरी आभास दिलाउने यथार्थलाई बोध गराउने टेक्नलजिकल पद समूह हो ‘भर्चुअल रियालिटी’ ।

फेसबुकले भीआर टेक्नलजिको उपयोग गरी मानिसको अनुहारको ‘थ्रीडी रेप्लिका’ सिर्जना गर्न लागेको छ । मानिसहरूले टाढा बसेको मानिससँग कुरा गर्दा निजकै बसेर गफ गरेको जस्तो आभास दिने खालको यथार्थ गफगाफ गर्ने अवसर पाउने दिन अब टाढा नरहेको फेसबुकका विज्ञहरूले भन्न थालेका छन् । पहिला पहिला अमेरिका, बेलायत पुगेका छोरानाति, ज्वाई छोरीको हालचाल बुझ्न महिनौ कुर्नुपर्ने हुन्थ्यो । हुलाकीको माध्यमबाट महिनौंअघि लेखिएको चिट्ठी मार्फत आफन्तको राम्रो–नराम्रो अनुमान लगाउने गरिएको थियो । सूचना प्रविधिको नविनतम विकासले हुलाकीको जमानालाई धेरै पछाडि छोडिदिएको छ । अहिले त आमनेसामने कुरा गर्ने प्रविधि आइसकेको छ । ‘चाहे अमेरिका होस् कि जापान, आफन्त नजिकै छ भन्ने भान हुन्छ । तर, अहिलेको प्रविधिले सँगै बसेर गरेको गफगाफको महशुस सपनामा भएजस्तो हुँदैन ।
फेसबुकले यसको विकास आफ्नो ‘रियालिटी ल्याब’ गरिरहेको छ । हालैको अनुसन्धानात्मक विकासले ‘भर्चुअल रियालिटी’को महशुस गराउने खालको भिडियो गफगाफ गर्ने मौका मानिसलाई उपलब्ध हुनेछ । ‘रियल वल्र्ड’मा गफगाफ गर्दा बोल्नेहरूले एक अर्काको हाउभाउ, गतिविधिबाट आनन्द र अभिशापको अनुभव लिने गरेजस्तै यो विधिबाट प्राप्त हुनेछ । यसलाई कोडेक अवतार भनिएको छ । यो प्रविधिबाट सेकेन्ड सेकेन्डमा मानिसहरूको बदलिँदो अनुहार आँखा अगाडि झुल्किरहने छ । यसलाई विश्वासिलो बनाउन फेसबुकको रियालिटी ल्याबले शृंखलामा भिडियो बनाएको छ ।
सुदूर ठाउँमा रहेका परिवारजनबाट टाढिएर एकान्तको जीवनमा ‘रियल वल्र्ड’को पारिवारिक भेटघाटबाट प्राप्त हुने खुशी र आनन्द यो ‘भर्चुअल रियालिटी । थ्रीडी रेप्लिका’को संयोजनाबाट हुने फेसबुकले बताएको छ । फेसबुकले भन्छ, “टाढा भएपनि एउटै कोठामा कुरा गरे जस्तै आभास दिलाउँछ ।” अर्को शब्दमा भन्दा सपनामा भेटेर विपनामा हराए जस्तै । यसका अतिरिक्त यो उन्नत प्रविधिको प्रयोग गरी फेसबुकले व्यक्तिहरूलाई उनीहरूले रोजेको ठाउँ र समयमा भेट गर्न सक्ने अभास दिलाउने गरी भर्चुअल रियालिटीको प्रयोग भइरहेको छ ।
पिट्सबर्गस्थित फेसबुकको रियालिटी ल्याबका अनुसन्धान निर्देशक यासेर शेखले एक उदाहरण दिएका छन् । दुई जना व्यक्तिले जीवनमा कहिल्यै पेरिसको आइफिल टावरमा कुराकानी गरेको हुँदैनन् तर यो प्रविधिको प्रयोग गरी उनीहरूलाई पेरिसको आइफिल टावरमै बसेर कुराकानी गरेको अभास दिन लगाउने प्रविधि हो यो । यो कोडेक अवतारको निर्माण थ्रीडीले कब्जामा लिएको टेक्नलजि र एआई सिस्टमको उपयोग गरी भएको छ । कोडेक अवतारले मानिसलाई भविष्यको सिर्जनालाई महशुस गर्न लगाउन सक्छ । यो भर्चुअल रियालिटी मानिसहरूका लागि स्वाभाविक र सामान्य लाग्न थाल्नेछ ।
अवतारहरू अहिलेसम्म भिडियो गेम र एपहरूमा केही वर्षदेखि आइरहेका छन् । तर यो मानिसको जीवनमा महशुस गराउने खालको भएर आउन थालेको शेखले जनाए । फेसबुकको रियालिटी ल्याबले केही वर्ष यतादेखि यो क्षेत्रमा काम गरिआएको छ । उपभोक्ताको टाउकोमा जीवनजस्ता पुनर्सृजना थ्रीडीको माध्यमबाट कसरी गर्न सक्छ भन्ने क्षेत्रमा यो ल्याबमा एक एकाइ स्थापना गरी कार्य अगाडि बढाएको हो । मुख, आँखाले व्यक्त गर्ने भाव र मुख र आँखासहितको अनुहारले व्यक्त गर्ने चालको यसले अध्ययन गरेको छ ।
उपभोक्ताको अनुहार र शरीरका बारेमा विवरणात्मक गतिविधिको संकलन माइक्रोफोन र सयौं हाइ रिजोलुसनका क्यामराको प्रयोग गरी क्याप्चर स्टूडियोबाट गरिएको छ । यो हाइ रिजोलुसन क्यामराले संकलन गर्ने डेटाको दर प्रति सेकेन्ड १ गिगाबाइट भएको फेसबुकको रियालिटी ल्याबले जनाएको छ । १ हजार ७ सय माइक्रोफोन प्रयोग गरे एक स्टुडियोले थ्रीडीमा साउन्ड फिल्डको पुनर्सरचना गर्छ । यसरी संकलित गरिएको डेटालाई व्यक्तिको थ्रीडी प्रोफाइलमा संयोजन गरिन्छ । जब हेडसेटमा यसलाई जडान गरिन्छ, अनि टाउकोमा यस्तो अनुभव गराउँछ ।
फेसबुकको अवतारमा अडियोको कोड र भिडियोको भिजुअल संकेतलाई संयोजन गरिन्छ । यसबाट पठाउनेले पठाएको तस्विर पाउनेसम्म ठीक ढंगबाट पुग्ग्छ । पाउनेले तस्विर पनि हेर्न पाउँछ र बोली वरिपरिको आवाज प्राकृतिक रूपमा सुन्न पाउँछ । यो हेडसेट अहिले प्रोटोटाइपको छ । यसले इन्फ्ररेड लेजर किरणका शृंखलालाई बीमको माध्यमबाट व्यक्तिको अवतारको दृश्यमा पु¥याइन्छ ।
भर्चुअल भिडियो चाटलाई अझ बढी लोकप्रिय बनाउने एक मात्र बाटो ठीक किसिमको अवतारको उत्पादन गर्नु भएको कम्पनीले जनाएको छ । अनुसन्धान वैज्ञानिक टोमस साइमन भन्छन्, “यो यर्थाथवाद ठोस र सही डेटाबाट परिचालित हुन्छ जसका लागि असल मापन आवश्यक हुन्छ ।” वास्तविक अवतार बनाउने साँचो भनेको मानिसको अभिव्यक्तिको भौतिक विवरणको मापन गर्नु हो । उदाहरणका लागि कुनै व्यक्ति आँखालाई कतिखेर डेढो पार्छ वा कतिखेर नाक खुम्च्याउँछ, त्यसको भौतिक मापन महत्वपूर्ण विषय भएको उनले जनाए ।
अनुहारका सबै अभिव्यक्ति र हाउभाउको विवरणात्मक संकलन गरिएको विषयलाई पुष्टि गर्ने कार्य आफैमा कठिन काम हो । “हामीले ‘अहँ परीक्षण (इगो टेस्ट) र ‘मातृ परीक्षण (मदर टेस्ट)लाई सामानरूपले आवश्यक ठान्छौं,” ल्याबका निर्देशक शेख भन्छन्, “तपाईले आफ्नो अवतारलाई माया गर्नुपर्छ र तपाईकी आमाले पनि तपाईको अवतारलाई माया गर्नुपर्छ । यो ठूलो बाधा हो ।” फेसबुकका अनुसन्धानकर्ताहरूले अवतारका बारेमा अझ केही अनुसन्धान गर्न बाँकी रहेको छ ।
फेसबुक इन्जिनियरले एक भिडियोमा दुई भीआर अवतारले ‘हट योगा’को बारेमा छलफल गरिरहेको देखिन्छन् । यी अवतारका मुख, आँखा र गालाले त्यसैगरी प्रतिक्रिया जनाइरहेको देखिन्छ जसरी कुनै सद्दे मानिसका मुख आँखा र गालाले वास्तविक जीवनमा प्रतिक्रिया जनाइरहेको हुन्छ । वास्तविक जीवनमा मानिसको अनुहारमा आँखा स्थिर देखिन्छ । भीआरको क्षेत्रमा आधारभूत रूपमै सुधार भएको छ । मानिसहरूले आफ्नो अवतारलाई आफ्ना मित्रहरूसँग गफ गर्न लगाउन सक्छ ।
अनुसन्धान वैज्ञानिक जेसन सारागि भन्छन्, “कुनै व्यक्तिको स्वचालित रूपमा अवतार बनाउने यो पहिलो प्रयास हो ।” कुनै व्यक्तिलाई अगाडि राखेर वास्तविक रूपमा कुरा गरेको अनुभव लिन पाउनु आफैमा ठूलो कुरो भएको उनले जनाए । भीआर र एआर ग्लासको माध्यमबाट एक अर्कासँग कसरी संवाद गर्न सकिने विषयलाई प्रविधिले परिवर्तन गर्न लागेको फेसबुकको बुझाइ छ । भविष्यमा कोही बाँच्छ वा बाँच्दैन तर उसका सन्ततिले पुर्खासँग गफ गरेको महशुस गर्न सक्छ ।
“यासेरका आमाबाबुले आफ्ना नाति नातिना र पनाति पनातिनाका लागि सन्देश रेकर्ड गरेका छन्,” टेक्निकल प्रोग्राम म्यानेजर डानिएले बेल्कोले भने । उनीहरूले टाइम क्याप्सूलमा संवाद सिर्जना गरेका छन् । भविष्यको पुस्तासँग कुरा गर्न सकिने र पुर्खाका अवतारसँग कुरा गर्न सकिने प्रविधिको विकास भएको छ । जीवित नभएका व्यक्तिको अवतार बनाउन उनको बारेमा बुझिएको सुनिएको विषयलाई यस किसिमको विधिबाट अवतार बनाउन सकिन्छ ।