कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
848

पछिल्ला फ्ल्यागसीप मोबाइलमा थपिँदै गरेको वायरलेस चार्जिङको फिचर पिक्सेलको तेस्रो सिरिजका स्मार्टफोनमा पनि पाइने भएको छ । हालै सार्वजनिक गरेको गुगलको पिक्सेल थ्री र पिक्सेल थ्री एक्सएलमा यो सुविधा उपलब्ध हुनेछ ।
कम्पनीले यसअघि ल्याएको गुगल पिक्सेल २ को अपडेटेड भर्सनको रुपमा पिक्सेल ३ ल्याएको हो । हालसम्म एप्पल र सामसङले वायरलेस चार्जिङ फिचर प्रयोगमा ल्याइसकेका छन् भने वनप्लसले पनि वनप्लस सिक्स टीदेखि योे फिचर थप्दैछ ।

पिक्सेल ३ र पिक्सेल ३ एक्सएलमा वायरलेस चार्जिङका लागि आवश्यक पर्ने १० वाटको चार्जर पनि सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वायरलेस चार्जिङको लागि पिक्सेल स्ट्याण्ड भने छुट्टै किन्नुपर्ने हुन्छ । न्युयोर्कमा एक कार्यक्रमका बीच गुगलले पिक्सेलका दुई स्मार्टफोनसँगै पिक्सेल स्लेट र गुगल होम हब स्मार्ट स्पीकर पनि सार्वजनिक गरेको छ ।
गुगलका नयाँ स्मार्टफोनहरुमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने दुबैमा ४ जीबीकोे ¥याम रहेको छ । फोन दुई स्टोरेज अप्सन ६४ जीबी र १२८ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । पिक्सेल ३ मा ५.५ इन्चको डिस्प्ले राखिएको छ भने पिक्सेल ३ एक्सएलमा ६.३ इन्चको डिस्प्ले छ ।
फोटोका लागि स्मार्टफोनमा सिंगल क्यामरा सेटअप रहेको छ, जसमा १२.२ मेगापिक्सेलको अप्टिकल स्टेबलाइज्ड इमेज सेन्सर क्यामरा राखिएको छ । यसको क्यामरामा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने यसले अनेकौं फोटो सटमध्येबाट उत्कृष्ट फोटो छान्न सक्छ ।
दुवै फ्रन्ट क्यामराहरु ८ मेगापिक्सेल सेन्सरका छन् । गुगलको नयाँ फ्ल्यागशिप स्मार्टफोनमध्ये पिक्सेल ३ मा २ हजार ९१५ एमएएचको ब्याट्री रहेको छ भने पिक्सेल ३ एक्सएलमा ३ हजार ४३० एमएएचको ब्याट्री जडित छ ।
गुगल पिक्सेल ३ को शुरुवाती मूल्य ७९९ अमेरिकी डलर र पिक्सेल ३ एक्सएलको मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ । दुबै फोनको लागि प्रि–अर्डर शुरु गरिएको छ । अमेरिकामा बिक्री अक्टोबर १९ तारिखदेखि र युरोपिएन बजारमा नोभेम्बर २ तारिखदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । गुगलले पछिल्ला वर्षहरुमा गुगल होमपोड, पिक्सेल स्मार्टफोन, हेडफोन र स्पीकरहरु ग्याजेटका रुपमा बजारमा ल्याएको छ भने ड्राइभरलेस कार लगाएतका ठूला प्रोजक्ट पनि अगाडि बढाइरहेको छ ।