कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
430

चीनले अमेरिकी कम्प्युटरमा जासुसी गरी डेटा चोरेको आरोप लागेका बेला चिनियाँ टेक कम्पनी लेनोभो र जेडटीईको सेयर मूल्यमा ह्रास आएको छ । अमेरिकी सरकारी नियोगले प्रयोग गरेका डिभाइसहरूबाट माइक्रोचिपको मद्दतबाट डेटा चोरिएको जनाएको समाचार ब्लुमबर्गले छापेपछि चिनियाँ कम्पनीको सेयरमा ह्रास आएको हो ।
लेनोभोको सेयर १५ प्रतिशतले घटेको हो भने जेडटीईको सेयरमा १० प्रतिशतले कमी आएको देखिएको छ । लेनोभोले सुपर माइक्रोबाट आफूले सामान खरिद नगरेको जनाएको छ ।

समाचारमा जनाइए अनुसार सुपर माइक्रोले सर्भर उपलब्ध गराएको र सो सर्भरमा प्रयोग गरिएको चिपको माध्यमबाट चिनियाँ जासुसले सूचना चोरेका छन् । सुपर माइक्रोले ब्लुमबर्गको समाचारलाई खण्डन गरेको छ । सुपर माइक्रोले ब्लुमबर्गको समाचारमा सत्यता नभएको जनायो ।
एप्पल र अमेजनले पनि यो समाचारलाई गलत बताएका छन् ।
चीनको सरकारी स्वामित्वमा रहेको जेडटीई एक अगुवा कम्पनी हो । जुलाईमा वासिङ्टनले जेडटीईमाथि अमेरिकी कम्पनीसँगको व्यवसाय प्रतिबन्धलाई हटाएको थियो । डेस्कटप कम्प्युटर बनाउने विश्वका सबैभन्दा ठूलो कम्पनी लेनोभो रहेको छ । यो कम्पनीले सन् २००५मा आरबीएमको घाटामा रहेको पर्सनल कम्प्युटर निकाय खरिद गरेको थियो ।