धन्य हामी सहनशील जनता
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५
623

अब हाम्रा युवापुस्ताले विदेशको भूमिमा पसिना बगाउनु पर्दैन । अब पूर्वाधार निर्माण, पर्यटन क्षेत्र, ऊर्जाक्षेत्र, कृषिक्षेत्र, वनजङ्गल आदि क्षेत्रमा रोजगारीका अवसरहरू मिल्ने छन् अरे !

विश्वका अन्य मुलुकको भौतिक–आर्थिक प्रगतिका बारेमा थोरबहुत हामी पनि जानकार छौं । हाम्रो देश पनि अब आर्थिक विकासतर्फ उन्मुख हुने भन्ने कुरा सुन्दै आएका छौं । सन् १९९६ बाट सन् २००६ सम्म देशमा ठूलै राजनीतिक द्वन्द्वको मारमा बितायौं । त्यतिबेला राज्य र विद्रोही पक्षबाट प्रत्यक्ष रूपमा ठूलो अपमानजन्य व्यवहार भए, विगतका ती दिन स्मरण गर्ने र पीडाबोध हुने व्यक्तिहरूको संख्या निकै छ ।
सन् २००६ पश्चात् अब नेपालमा केही हुन लाग्यो अरे भन्ने पनि सुनियो र विगतको त्यो त्रासबाट केही हदसम्म छुट्कारा पाउनु नै निकै महत्वपूर्ण ठानियो, मानौं योभन्दा ठूलो उपलब्धि केही हुनै सक्दैन । त्यसपश्चात् वर्षमा एक–दुईवटा सरकार गठन हुने, विघटन हुने क्रम चल्यो; मानौं त्यो पनि हाम्रा लागि ठूलो उपलब्धि थियो । जुन राष्ट्र विश्वमै गरिब देशका रूपमा परिचित छ त्यही देशमा संविधानसभाको चुनाव पनि दुई–दुई पटक गर्नुपर्ने बनाइयो । मानौं, यसमा पनि हामी जनताको पूर्ण समर्थन थियो, यो नै ठूलो उपलब्धि थियो । यस्ता विभिन्न बहानामा विगत १२ वर्ष पनि बिताइयो । आज हामी संघीयतामा गएका छौं अरे र यो धेरै ठूलो उपलब्धि हो । ७५ बाट ७७ वटा बनाइएको जिल्लाबाहेक आज ७ सय ५३ स्थानीय निकाय गठन भएको छ । ती निकायमा अझै पनि आफ्नो कार्यक्षेत्र तथा अधिकारका बारेमा अन्योलकै अवस्था छ । हामी कति सहनशील छौं विश्वका धेरै मुलुक हाम्रो सहन सक्ने क्षमता देखेर दङ्ग हुनुपर्ने हो ।
उपलब्धि राम्रै भएजस्तो छ, अब हालको सरकारले स्वदेशमै वार्षिक ५ लाख हाराहारीको रोजगारी सिर्जना गरेर हाल वार्षिक रूपमा विदेश गइरहेको युवापुस्तालाई यतै रोजगारी दिने अरे । मानौं, अब हाम्रा युवापुस्ताले विदेशको भूमिमा पसिना बगाउनु पर्दैन । अब पूर्वाधार निर्माण, पर्यटन क्षेत्र, ऊर्जाक्षेत्र, कृषिक्षेत्र, वनजङ्गल आदि क्षेत्रमा रोजगारीका अवसरहरू मिल्ने छन् अरे !

हामी नेपालीको सहनशीलतालाई उजागर गर्नुपर्दा :
द्वन्दका बेला १७ हजार मानिसको मृत्यु र निकै ठूलो संख्यामा विस्थापित हुँदा फरक नपर्ने, जति जना सभासद् हुँदा र मन्त्री हुँदा तथा जति पटक जति पढेको मन्त्री हुँदा पनि फरक नपर्ने, नेपाललाई आवश्यक थियो वा थिएन, तर जति प्रदेश बनाए पनि फरक नपर्ने, दिनमा १८ घण्टा लोडसेडिङ हुँदा पनि फरक नपर्ने, जति महिनाको नाकाबन्दी पनि फरक नपर्ने, हप्तामा एक दिन खानेपानीको धारामा एक–दुई घण्टा मात्र पानी आउँदा पनि फरक नपर्ने, जसले जुनसुकै बहानामा जति दिन बन्द–हड्ताल घोषणा गरे पनि फरक नपर्ने, जसले जति घुस खाए पनि फरक नपर्ने, जति वर्ष लगाएर रिङरोड बनाए पनि फरक नपर्ने, जथाभावी फोहर फाल्दा र थुक्दा पनि फरक नपर्ने, जथाभावी बाटो काट्दा पनि फरक नपर्ने, राजनीतिको नाममा जति पटक बम पड्काए पनि फरक नपर्ने, विषयवस्तुको अध्ययन नगर्दा पनि फरक नपर्ने अनि हामी जनताले यो सबै किन सहनुपर्ने ? धन्य भोले बाबा !
शिवप्रसाद पोखरेल