खेलकुद र अर्थतन्त्र
गौरव खतिवडा
बिहिवार, असार ७, २०७५
690

विश्वकप फुटबल, २०१८ को आयोजना रसियामा भइरहेको सन्दर्भमा आम नेपाली फुटबलप्रेमीमाझ यसको चर्चा चुलिएको छ । यहाँ चर्चा मात्र चुलिएको छैन, जर्सीको व्यापार, टिभीको व्यापार, डिजिटल सेटअप बक्सको व्यापार, रेस्टुराँ, किराना सबैतिरको व्यापार पहिलेभन्दा अकासिएको हामीलाई सर्वविदितै छ । प्रचलित शब्दमा भन्दा आजको वैश्य (व्यापार) युगमा खेलकुद क्षेत्र पनि वित्तमुखी र व्यावसायिक भएको छ ।

खेल क्षेत्रलाई पनि विकासका अन्य आधारस्तम्भहरूलाई जस्तै प्राथमिकताका साथ अगाडि बढाउनु आजको आवश्यकता हो ।

विकसित र विकासशील राष्ट्रहरूमा खेलकुदको व्यवसायीकरण भई अर्थतन्त्रमा राम्रो योगदानसमेत गरेका छन् । विभिन्न अध्ययनले समेत यसको पुष्टि गरेका छन् । विश्वकप फुटबल, ओलम्पिक खेलकुद, महादेशीय खेलकुदलगायत ठूला खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न राष्ट्रको प्रतिस्पर्धा केवल राष्ट्रिय गौरवका लागि मात्र नभएर यसमा बहुआयामिक पाटाहरू रहेका हुन्छन् । विभिन्न आयाममध्ये आर्थिक पाटो एक मुख्य पाटो हो । ठूला खेलकुदका महोत्सवहरूबाट भौतिक पूर्वाधारहरूमा लगानी वृद्धि हुने, रोजगारी सिर्जना हुने, वैदेशिक लगानी वृद्धि भई अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्ने गर्छ । यसर्थ खेलकुदले सामाजिक–आर्थिक क्रियाकलपमा बहुआयामिक प्रभाव पुराउँछ ।
संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष या परोक्ष रूपमा खेलकुद क्षेत्रको २५ प्रतिशत योगदान रहेको छ । त्यहाँ आयोजना हुने नेसनल फुटबल लिग (एनएफएल) ले सन् २०११ मा ९.५ बिलियन डलरको योगदान कुल गार्हस्थ्य उत्पादनमा गरेको र १ लाख १० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको तथ्य ‘द स्टार’ नामक खेलकुद पत्रिकाले उल्लेख गरेको छ । यसैगरी अमेरिकामा नेसनल बास्केटबल एसोसिएसनले आयोजना गर्ने बास्केटबल लिगको पनि उत्तिकै योगदान रहने गरेको छ । बेलायतको विश्वविख्यात इङ्लिस प्रिमियर लिगले मात्रै सन् २०१५ मा ३.३६ बिलियन स्टर्लिङ पाउन्डको योगदान कुल गार्हस्थ्य उत्पादनमा गरी १ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै २.४ बिलियन पाउन्ड स्टर्लिङ राजस्व समेत संकलन गरेको तथ्य कन्सल्टेन्सी डट यूकेले उल्लेख गरेको छ । युरोपियन युनियनले सन् २००५ मा गरेको एक अध्ययनले जर्मनीको कुल गार्हस्थ्य उत्पादनमा ४६ हजार ६ सय ७७ मिलियन युरो बराबर योगदान गरेको, ११ लाख ४६ हजार रोजगारी सिर्जना गरेको तथ्य प्रकाशित गरेको थियो । एडिडास र पुमाजस्ता जर्मन अन्तर्राष्ट्रिय ब्रान्डहरूले खेलकुदका सामग्रीको विश्वबजारको मुख्य हिस्सासमेत ओगटेका छन् ।

हाम्रै छिमेकी राष्ट्र भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिगले सन् २०१५ मा ११.५ बिलियन भारतीय रुपैयाँको योगदान अर्थतन्त्रमा गरेको बीसीसीआईले प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हाम्रै छिमेकी राष्ट्र भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिगले सन् २०१५ मा ११.५ बिलियन भारतीय रुपैयाँको योगदान अर्थतन्त्रमा गरेको बीसीसीआईले प्रतिवेदन सार्वजनिक गरेको थियो । उत्तरी छिमेकी चीनले खेलकुदलाई निकै प्राथमिकता दिँदै आएको छ । ओलम्पिक खेलकुदमा उसले जित्ने पदकहरूले समेत यसको पुष्टि गर्छ । अन्य खेलकुदको तुलनामा फुटबलमा पछि परेको महसुस गरी चीनले आफ्नो ध्यान फुटबलको विकासमा केन्द्रित गरी फुटबलमा ठूलो लगानी विगत केही वर्षहरूदेखि गर्दै आइरहेको पनि छ ।
विकास भनेको बाटोघाटो र पुल मात्र होइन, राष्ट्रिय समृद्धिको यात्रामा खेलकुदलाई उपेक्षा गरिनु दुःखद पक्ष हो । देशले लामो राजनीतिक संक्रमण पार गरी अबका मुद्दा विकास र समृद्धिमा केन्द्रित भइरहँदा हाम्रा खेलकुदको विकासमा स्थापना भएका संस्थाहरू, खेलकुद प्रतियोगिता पनि संघीय ढाँचाअनुरूपकै बनाउनु जरुरी छ । चारभन्ज्याङमा सीमित ठूला र राष्ट्रिय स्तरका प्रतियोगिताहरू मोफसलमा निस्किनु उत्तिकै जरुरी छ । यस्ता प्रतियोगिताहरू मोफसलका स्थानहरूमा आयोजना हुँदा अर्थतन्त्र चलायमान भई खेलकुदको विकासका साथै दिगो विकासमा पनि टेवा पुग्नेछ । खेलकुदको पूर्वाधार विकासको पाटो हेर्ने हो भने दयनीय अवस्था छ । चीन सरकारको आयोजनामा बनेको एकमात्र राष्ट्रिय रंगशालाको व्यवस्थापन र मर्मत–सम्भार समेत हामीले गर्न सकेका छैनौं । मुलपानीमा निर्माणाधीन क्रिकेट स्टेडियमको निर्माणको गति पनि खासै सन्तोषजनक छैन । हेटौडाको गौरीटार रंगशाला बर्षौदेखि अलपत्र अवस्थामा छ । खेलकुद र खेलकुद पूर्वाधारको विकास व्यवहारमा भन्दा पनि केवल चुनावी घोषणापत्रहरूमा मात्र सीमित भएका छन । भएका पूर्वाधारहरूको उचित मर्मत–सम्भारका साथै राष्ट्रिय/क्षेत्रीय रंगशालाहरूको निर्माण गर्नु उत्तिकै आवश्यक छ । पूर्वाधारको निर्माणका लागि राज्यले सार्वजनिक, निजी साझेदारीका विभिन्न मोडलहरू अपनाई निजी क्षेत्रको समेत सहभागिता जुटाउन सक्नुपर्छ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको संघीय बजेटमा सन २०२० लाई गन्तव्य वर्षका रूपमा घोषणा गरी २० लाख पर्यटक भिœयाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । सरकार र पर्यटन व्यवसायीहरूले समेत खेल पर्यटनका सम्भावनाहरूबारे खासै चासो दिइएको पाइँदैन । उदाहारणका लागि चितवनको सौराहामा मात्र आयोजना हुने हात्तीपोलो विश्वकप प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रबाट सहभागीहरू आउने गर्छन्, जसले चितवनको अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने गर्छ । आइस स्केटिङको मुख्य गन्तब्य रहेको स्विजरल्यान्डमा विश्वभरिबाट पर्यटक पुग्दा १ सय ७५ भूभाग हिमाली क्षेत्रले ओगटेको नेपालमा आइस स्केटिङको सम्भाव्यता समेत अध्ययन अनुसन्धान हुन नसक्नु दुर्भाग्यपूर्ण हो । खेलकुदको विकासका लागि स्थापना भएका संस्थाहरू राजनीतिक नियुक्तिको अखडा बन्नु, खेलकुदको विकासमा भन्दा बढी विवाद, भ्रष्टाचार र अनियमितताको विकास हुनु नेपाली खेलकुदको विकास र यसको व्यवसायीकरणको बाधकका रूपमा रह्यो । लामो समयदेखि राष्ट्रिय फुटबल लिग हुन सकिरहेको छैन । जे–जति प्रतियोगिता भएका छन्, क्षेत्रीय तथा स्थानीय स्तरको प्रतियोगिताहरूमै सीमित छन् । राष्ट्रिय स्तरमा महत्वपूर्ण र दूरगामी सकरात्मक प्रभाव पार्ने खेलकुद प्रतियोगिताहरू पञ्चायतकालमा भन्दा कम हुनु संघीय गणतान्त्रिक नेपालका लागि लज्जाको विषय हो । वर्षौंसम्म हाम्रो राष्ट्रिय खेलका रूपमा रहेको कबड्डी र डन्डीबियोको व्यावसायिक विकास हुन नपाउँदै भलिबललाई राष्ट्रिय खेल घोषणा गरियो भने उता भारतले कबड्डीलाई व्यावसायिक बनाई कबड्डीको लिगसमेत सञ्चालन गरिरहेको छ ।
खेलकुद सामाजिक–आर्थिक विकासको एक महत्वपूर्ण माध्यम हो । खेलकुदमा सक्रिय सहभागिताले सामुदायिक स्वास्थ्य र क्षमता अभिवृद्धि भई औषधी–उपचारमा राज्यको अर्बौं रुपैयाँसमेत बचत हुन्छ । यसका अतिरिक्त खेलकुदको माध्यमबाट अनुशासन कायम गर्न, व्यक्तित्व तथा नेतृत्व विकास गर्न र सामाजिक सद्भावसमेत कायम गर्न मद्दत पुग्छ ।
यसरी व्यापार, व्यवसाय, कला–संस्कृतिको विश्वव्यापीकरण भइरहेको र विश्व एक गाउँका रूपमा स्थापित भइसकेको वर्तमान परिप्रेक्ष्यमा अन्य छिमेकी भनौं विकसित देशहरूको विकासमा गरिएका अभ्यासहरूको नेपालले पनि अनुसरण गर्नु आवश्यक छ । अर्थतन्त्रमा खेलकुदले प्रत्यक्ष या परोक्ष रूपमा के–कति योगदान गरेको छ, त्यसको लेखजोखा र तथ्याङ्क राख्नु उत्तिकै महत्वपूर्ण छ । खेल क्षेत्रलाई पनि विकासका अन्य आधारस्तम्भहरूलाई जस्तै प्राथमिकताका साथ अगाडि बढाउनु आजको आवश्यकता हो । सगरमाथा, गौतम बुद्धजस्ता स्थान र व्यक्तिको नामले विश्वमा चिनिन सकेको यो देश खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउनका लागि प्रयत्नशील रहनुपर्छ भने अर्कातर्फ खेल क्षेत्रमा आजीवन संलग्न खेलाडीहरूलाई खेलबाट पनि जीवीकोपार्जन गर्न सकिन्छ भन्ने सुनिश्चितता प्रदान गर्दै समयानुकूलका खेल प्रतिस्पर्धा स्थानीय, राष्ट्रिय स्तरमा आयोजना गरिँदै जाने हो भने आज नेपालीहरूले खोसमखोस गर्दै भीडभाडका साथ विदेशी खेलाडीको नाम अंकित जर्सी लगाउने दिनहरू समाप्त भई नेपाली झन्डा, नेपाली खेलाडीहरूको नाम अंकित जर्सी नेपालीहरूले मात्र होइन, विश्वका कुनै कुनाका खेलप्रेमीहरूले खरिद नगर्लान् भन्न सकिन्न ।