सागर परियार
आइतवार, माघ ६, २०७५
482

जुम्ला : पछिल्लो समय बढ्दै गएका महिला हिंसाका कारण दूरदराजका महिला निकै पीडित छन् । न त न्याय पाउँछन्, न त राज्य पक्षले दोषीमाथि कारबाही गर्न सकिरहेको छ । मात्रै अधिकारका नाममा महिलाको अस्तित्व लुट्ने समय चलेको छ । ढुक्कले मेलापात, काममा जाने अवस्था पनि छैन ।
एकपछि अर्को गर्दै बलात्कारका घटनाहरू निकै बढ्दै गएका छन्, जसका कारण महिलामा त्रास बढ्दै गएको छ । निकै चुनौतीको विषय बनेको छ । महिला हिंसा तथा समधानको सवाल । यस विषयमा सबै सरोकारवाला निकै गम्भीर हुन जरुरी छ ।

महिला हिंसालाई शून्यमा झार्नका लागि चेतनामूलक कार्यक्रमम जोड दिनुपर्छ भने लंैगिक समानताका कुरा नारामा भन्दा व्यवहारमा कार्यान्वयन नभएको खण्डमा समधानको सबाल ओझेलमा पर्ने देखिन्छ । जुम्लामा अहिले सम्म ८ वटा बलात्कारका घटना भएका छन् । तर, कुनै घटनाको छानबिन स्पष्ट भएको अवस्था छैन ।
लोकतान्त्रिक राज्यका नकारात्मक पक्षमध्ये निकै चर्चामा यतिबेला महिला हिंसा पनि पहिलो छ । यसका विरुद्ध १६ दिने अभियान प्रत्यक वर्ष सञ्चालन हुन्छ । घरमा हिंसा सहेर बाहिर नारा लगाउने प्रवृत्तिले हाम्रो समाजमा घरेलु हिंसाको अवस्था भयाभव हुँदैछ । समाजमा विद्यमान लंैगिक विभेदका कारण हुने कुनै पनि हिंसाजन्य क्रियाकलाप जस्तै ः महिलालाई बलात्कार तथा यौन दुव्र्यवहार गर्नु, मनोवैज्ञानिक तनाव सिर्जना गर्नु, गाली बेइज्जति र कुटपिट गर्नु, जीउ मास्ने वा बेच्ने कार्य गर्नु, सामाजिक, सांस्कृतिक तथा धार्मिक बहिष्कार गर्नु अर्थात् भेदभाव गर्नु आदि सबै कार्य लैंगिक हिंसाको परिधिमा पर्छन् ।
सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, मनोवैज्ञानिक, शारीरिक, मानसिक, आर्थिक, यौनिक आदि विविधखाले यस्ता हिंसा हुन्छन् । परम्परादेखि समाजमा चल्दै आएका कुप्रथा र भेदभाव सबै हिंसा हुन् । हाम्रो समाजमा हामीले देखिरहेका छौं कि बोक्सी प्रथा, वादी प्रथा कुमारी प्रथा, सती बालिका शिशुको हत्या गर्ने प्रचलनले सोझै महिला हिंसा बढाएको छ ।
यस्ता कतिपय प्रथामा कुटपिट, गाली बेइज्जती, बहिष्कार, हत्या हुने गरेका छन् भने कतिपय अवस्थामा यौनशोषण हुने गरेको पाइन्छ । यसैगरी पुरुषबाट हुने प्रजनन अधिकारको हनन, राज्यबाट हुने राजनीतिक अधिकारको बन्देज र भेदभावकारी नियम आदि पनि हिंसाको अर्को रूप मान्न सकिन्छ ।
पुरुषप्रधान समाजमा विश्वका सबै ठाउँमा लैंगिक भेदभावका कारण हिंसाका केन्द्र महिला बनेको पाइन्छ । भेग, समाज, परम्पराअनुसार महिला पिल्सिएको देख्न सकिन्छ, तर जुम्लाका ग्रामीण महिलाहरू घरेलु मदिराको कारण पीडित छन् । अवैध रूपमा गाउँघरमा बिक्री भइरहेको मदिरा रोक्न नसक्दा महिला पीडित भएको संस्थाहरुको अध्यायन छ । महिलाको सशक्तीकरणका क्षेत्रमा काम गर्ने गैससले महिलाको कार्यबोझ घटाउने, हिंसाबाट मुक्ति दिने प्रयास गरे पनि संस्कार प्रवृत्तिको अन्त्य नगर्दा महिलाका दुःख उस्तै छन् । देशदेशबीच हुने युद्धमा होस् वा कुनै समुदायमा, महिला हिंसाको पक्ष प्रशस्त देखिन्छन् । एक घरदेखि राष्ट्रसम्म महिलाहरू हिंसाको एक पक्षधर बनेकै छन् । विभिन्न व्यवस्था आए, रहेका स्थानीय तहमा महिला उपमेयरदेखि उपाध्यक्ष न्यायिक समितिमा आउँदा पनि हिंसाबाट महिलाको मुक्ति तथा समस्या समधानको उपाय खोज्न सकिएको छ ।
महिला हिंसामा अधिकांश हिंसा यौन व्यवहार वा आकांक्षाका कारण हुने गरेको देखिएका छन्, जसको मूल कारण महिला यौनजन्य वस्तु हुन् भन्ने मानसिकताको परिणाम हो । पुरुषको महिलाप्रतिको तमामखाले नकारात्मक प्रवृत्ति र सोचाइका कारण समाजमा लैंगिक विभेद सिर्जना गरेको छ । यसै कारण समाजमा महिलालाई लक्षित गरेरै हिंसाका घटना नदी बगेझैं अटुट रूपमा बढिराखेका छन् ।
आधा धर्ती ओगटेका महिला वर्गको नाजुक अवस्था पुष्टिने गरी महिला हिंसाको बहस चौतर्फी उठिरहेको छ । सोही प्रकारका घटनाले आपसी प्रतिस्पर्दात्मक रूपमा दिनहुँ रफ्तार लिएको छ । महिलाहरू समाजिक संस्कारकै पनि हिंसामा छन् । कर्णालीमा छोरा पाउनु पर्ने बाध्यता, मेलापात, घर धान्नुपर्ने, पुरुषका अगाडि एक उत्पादनशीलको साधान बन्नुपर्ने कर्णालीका महिलाको पुराना संस्कारकै पीडा छन् । सञ्चारमाध्यम, सार्वजनिक थलो, विभिन्न कार्यालय र संस्थाहरूमा कतै हिंसाका घटना त कतै हिंसाविरोधी र कतै समाधानका हल्लाखल्ला सुनिन्छन्, भेटिन्छन् र देखिन्छन् । पुरुष हिंसाको प्रसंग, बहस र घटनाको गुन्जायस भने छैन, यसबाट पुष्टि हुन्छ कि आधा धरतीको शासक महिलाको हालत के र कस्तो छ, उनीहरू कति प्रताडित छन् भन्ने कुराको प्रमाण यही काफी मान्न सकिन्छ ।
प्रश्न उठ्छ, यसको दोषी, कारक, सहभागी, पीडक तथा अपराधी को त ? जुम्लामा पीडित महिलाले विभिन्न समयमा आफ्नो न्यायका लागि बहस गरेका छन् । तर, सुनुवाइ भने कसैले पनि गरेको पाइँदैन । खालि कार्यक्रममा भाषण दिने नेताका कुराले पीडित महिलाको दिनचर्यामा फेरदबल भएको छैन । न्यायिक समिति पनि यस सबालमा निकै मौन छ । जुम्लामा सामाजिक संस्कारका कारण बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका महिला बढी पीडित छन् ।
जो चोर उसैको ठूलो स्वर भनेझंै सोलोडोलो रूपमा कारक, पीडक तथा हिंस्रकले पनि अन्यसँगै ठूलठूला स्वरमा हिंसाविरोधी तथा महिला मुक्तिका भाषण, गफ र कुरा उठाएको पाइन्छ । यसकारण पनि महिला हिंसाको अन्त्य प्रचारमा मात्रै सीमित भएका होला । बोक्सी र झाँक्री एउटै हुन्छन् कि भन्ने सन्देश यसपालिको निर्मला पन्तको घटना सरकारी तहबाटै असमाधानको रहस्यमय अवस्थाले दिलाएको छ ।