कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
507

गौतम बुद्धको जन्मभूमिको माटो, विश्वको उच्च स्थानको पानी वा चट्टानमा मानवीय भावना जोड्न सके आफैंमा पर्यटनको नवीनता आउँछ ।

नेपालमा सन् २०१८ मा करिब १२ लाख पर्यटक भित्रिएका छन् । यो संख्यात्मक हिसाबले केही तथ्य र कथ्यका विषयमा प्रस्तुत आलेख केन्द्रित छ । राज्य सञ्चालनमा बहुपात्र अनिवार्य हुन्छ । यसमा निजी, सहकारी, नागारिक, समाज तथा सामुदायिक क्षेत्रको सहभागिता अपिरिहार्य हुन्छ । आर्थिक सम्पन्नता हुन तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उत्पादकत्व बढाउनुपर्छ । गतिशील अर्थतन्त्र निर्माण गर्न तेस्रो विश्वमा पर्यटन र पर्यटन व्यवसाय ऊर्जाशील क्षेत्र हो । बहुपात्रको संलग्नतामा हुने पर्यटन व्यवसायलाई व्यावसायिक बढाउन सके समृद्धि तल्लो तहदेखि प्राप्त हुन्छ । एक घर, एक समाज, एक क्षेत्र अनि सिङ्गो राष्ट्रिय स्तरमा पर्यटन व्यवसायलाई संवद्र्धन र प्रवद्र्धन गर्दा प्राप्त लाभको न्यायोचित वितरण हुन्छ । आर्थिक लाभ मात्र नभई प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुराताŒिवक सम्पदाहरूको दिगो व्यवस्थापन हुन्छ अनि मात्र यो विकासोन्मुख तथा अर्थतन्त्र कमजोर भएका मुलुकका लागि पर्यटन व्यवसाय सच्चा सारथि बन्ने गर्छ ।
सयुंक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको सन् २०१८ को रिपोर्टअनुसार विश्व अर्थतन्त्रमा १ हजार ३ सय ४० बिलियन डलर पर्यटन क्षेत्रको योगदान छ, जसमा अमेरिकी डलरमा २ सय ९९ बिलियन डलर, स्पेनले ९६ बिलियन डलर, फ्रान्सले ८६ बिलियन डलर (यो रकम फ्रान्सको कुल गार्हस्थ्य उत्पादनको करिब ९.७ प्रतिशत छ), थाइल्यान्डले ८१ बिलियन डलर आय पर्यटन क्षेत्रबाट गरी अग्रस्थान ओगटेका छन् । थाईल्यान्डमा सन् २०१७ मा ३५ मिलियन पर्यटक भित्रिएका थिए भने प्रतिपर्यटक खर्चको स्तर १ हजार ६ सय २४ डलर थियो । चीनमा सन् २०१७ मा ३३ मिलियन पर्यटक आएका थिए भने प्रतिव्यक्ति खर्च ५ सय ३६ डलर औसत थियो । लक्जेम्बर्गमा जम्मा १.५ मिलियन पर्यटक आए पनि औसत प्रतिव्यक्ति खर्च ४ हजार ३ सय २२ डलर देखिन्छ । पछिल्लो समय विकासमा विश्वलाई चकित पार्दै आएको युएईले स २०१६/१७ मा १८.७ बिलियन डलर आय पर्यटन क्षेत्रबाट थप्यो, जुन उसको कुल गार्हस्थ्य उत्पादनको ५.२ प्रतिशत हो । यो विश्वव्यापी तथ्यले नेपालको स्तर र अवस्थालाई विश्लेषण गर्न सकिन्छ । यो कि नेपाल पर्यटन व्यवसायको कुन अवस्थामा छ ।

नेपालमा सन् १९५१ पछि मात्र आधिकारिक रूपमा विदेशी पर्यटकलाई खुला गरियो । सन् १९५५ बाट योजनागत रूपमा पर्यटन विकासमा जोड गरियो । सन् १९७२ मा पहिलो पटक पर्यटन गुरुयोजना लागू गरियो । हाल राष्ट्रिय पर्यटन रणनितिक योजना सन् २०१६—२०२५ कार्यान्वनमा छ । पर्यटन नीति, २०६५ छ । नेपालको संविधानले पर्यटन संस्कृतिको विकास गर्दै प्राप्त लाभको वितरणमा स्थानीयलाई प्राथमिकतामा जोड दिएको छ । थुप्रै संकल्प र प्रयास भएका छन् । तथापि भूकम्पको विनाशपछि पर्यटकीय सम्पदाको पुनर्निर्माण, प्राचीन सम्पदाको संरक्षण, पर्यटन सुरक्षा र पर्यटन सेवा–सुविधाको गुणस्तरीयता, भरपर्दो हवाई सेवा, पर्यटनमैत्री पुर्वाधार, पर्याप्त सूचना र पर्यटन गन्तव्यहरूको विविधीकरण गर्नु नै नेपाली पर्यटन व्यवसाय विकासका सवाल हुन् । नेपालमा कुल गार्हस्थ्य उत्पादनको पर्यटन क्षेत्रको योगदान २.३ प्रतिशत छ भनिन्छ । प्रतिदिन पर्यटक खर्च ५४ डलर छ भने पर्यटक बसाइ दिन १२.६ छ । भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका मुलुकका पर्यटकले नेपाल आउने उच्च पाँच स्थान ओगट्छन् ।
भर्खरै मेची पर्यटन महोत्सव सम्पन्न भयो । बर्दिया धम्बोलिको तालमा रहेको रातो कमलको फूलमा चिनियाँ पर्यटकको आकर्षण बढेको खबर पत्रपत्रिकामा छायो । नेपाल चेम्बर अफ कर्मसले गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयाम’ कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले कोरियाली नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई आग्रह गरे । पूर्वाधार विकासमा निजगढको अन्तर्राष्ट्रिय विमानस्थल संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले डीपीआर बिना निर्माण नगर्न आदेश दिएको छ । हालैको वाइड बडी खरिदमा आएको विवादले भकुन्डोको खरिदझंै हुनु, पाउरोटी खाएर एक्लै टे«किङ जाने पर्यटक बढ्नु, होमस्टेको सुविधामा स्तरीकरण नहुनु, पर्यटकमैत्री स्थानीय पूर्वाधार र वातावरण नहुनु नेपाली पर्यटन क्षेत्रमा हाल देखिएका वास्ताविकता हुन् । आन्तरिक पर्यटकको शैली परिर्वतन भएको छ । स्थानीयदेखि देशैभरिका स्थानमा घुम्ने र फोटो खिच्ने मौका समय बखत सबैले बनाइरहेका छन् । हिमालको चिसो खान तराईका नेपाली आतुर बन्नु, पूर्वका मानिस पश्चिमेली संस्कृतिप्रति आकर्षित हुनु, सहरको हूलबाट प्रकृतिसँग रमाउने सहरिया प्रवृत्ति बढ्नु जस्ता कुराले आन्तरिक पर्यटकको सम्भावना देखाउछ । भूकम्पपछिको पुनर्निर्माणको कछुवा गति, पर्यटन प्रहरीको अवधारणा नौलो र अभ्यस्त नहुनु, सांस्कृतिक सम्पदामा स्थानीय अतिक्रमण हुनु, गुणस्तरीय सेवा–सुविधा पर्यटनमैत्री नहुनु, नयाँ गन्तव्यको विविधीकरण गर्न नसक्नु, गुणात्मक लाभ हासिल गर्न नसक्नु, सेतो रङ्ग देख्नेबित्तिकै डलर झर्ने सोच पर्यटन व्यवसायीमा हुनु, विश्वसनीय अर्थात् पूर्वानुमानयोग्य पूर्वाधार र सेवाको अभाव हुनु नेपाली पर्यटन परिवेशका अवस्था हुन् ।
विविध समस्याका बाबजुद नेपालले विश्व पर्यटनको ०.१ प्रतिशत र दक्षिण एसियाको ५.७ प्रतिशत पर्यटक भिœयाउँछ । आम्दानीका हिसाबले विश्वको ०.०३ प्रतिशत र दक्षिण एसियाको १.४ प्रतिशत हिस्सा ओगट्छ । पर्यटन क्षेत्रबाट लाभ लिएर अर्थतन्त्रको सक्षम सारथि बन्न राज्य प्रणाली जागरूक हुनुपर्छ । पूर्वाधार निर्माण र विकास पर्यटनमैत्री हुनुपर्छ । सबलीकृत निजी क्षेत्रसँगै सरकारी क्षेत्र सक्षम र व्यावसायिक हुनुपर्छ । नेपाल आउने अधिकांश पर्यटकको गुनासो हवाई यातायातमै बढी खर्चिनुपर्ने र विश्वसनीय हवाई सेवा नभएको सुनिएको छ । हवाई सेवा सक्षम र पूर्वानुमानयोग्य बनाउनुपर्छ । पर्यटन व्यवसायमा दक्ष जनशक्ति अनिवार्य तयार गर्नुपर्छ । पर्यटकलाई आवश्यक वस्तु तथा सेवाको उत्पादनमा राज्य अग्रसर हुनुपर्छ । पर्या–पर्यटनको अवधारणालाई स्थानीकरण गर्नुपर्छ । प्रचार तथा सञ्चारका बिशेष जोड दिनुपर्छ । पर्यटकको सुरक्षा र उद्धारलाई नियमित र सक्षम बनाउनुपर्छ, जसले प्रत्येक पर्यटकले फर्केर नेपाल घुम्दा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकून् । पर्यटन उद्योगको विकास तथा व्यावसायिकता हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउनुपर्छ । राज्यले पर्यटन व्यवसायको सुरक्षा र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । सार्वजनिक, निजी र सामुदायिकबीच सहकार्य र साझेदारीको जिम्मेवारी तिनै तहको सरकारले लिनुपर्छ । पर्यटकीय क्षेत्रको संरक्षण र नयाँ गन्तव्य पहिचान गर्न सबै क्षेत्रबीच सहकार्य हुनुपर्छ । विकासका हरेक अंशमा पर्यटनको सम्भावना समेट्नुपर्छ । ग्रामीण पर्यटनमा जोड दिँदै सामूहिक पर्यटन विकासमा राज्य अग्रणी भूमिकामा रहनुपर्छ । प्राप्त लाभको न्यायोचित वितरणको सुनिश्चिता गर्नुपर्छ । पर्यटन व्यवसायमा गुणात्मकता हासिल गर्न स्वस्थ प्रतिस्पर्धालाई खुला राख्नुपर्छ । नेपालमा पर्यटकमध्ये मनोरञ्जन र धार्मिक उद्देश्यले बढी आउँछन् । मनोरञ्जनकै माध्यमबाट पर्यटन व्यवसायमा छलाङ मारेको थाइल्यान्ड हेरे पुग्छ । मौलिक संस्कृति विनाश नहुने गरी मनोरञ्जनको सुविधा उपलब्ध गराउन कुनै कसर बाँकी राख्न हुन्न । धार्मिक मूल्य–मान्यतालाई संरक्षण गर्दै आकर्षक धार्मिक हब बनाउन सक्नुपर्छ ।
विश्वका अर्थतन्त्रका हिमायती मुलुकहरू पर्यटन व्यवसायबाट नै समृद्ध अवस्थामा पुगेका यथार्थता छ । एउटा पर्यटक विमानस्थलमा प्रवेश गर्दै गर्दा राज्यकोषमा भिसा शुल्कदेखि एक श्रमिकको घरमा चुलो बल्ने अवसर जुट्छ । अर्कातिर स्वदेशमै मध्यम आय भएका मानिसको बाहुल्यता बढ्दो छ, जसले आन्तरिक तथा बाह्य पर्यटन व्यवसायको सम्भावना उच्च रहेको छ । पर्यटन व्यवसायले स्थानीय उत्पादनको उपयोग, होटल व्यवसायको व्यावसायिकता, रोजगारीको अवसर, विदेशी मुद्रा आर्जनजस्ता क्रियाकलापले अर्थतन्त्र गतिशील बनाउँछ, जसका लागि पर्यटन व्यवसायमा राज्यले सुरक्षित वातावरण र पूर्वाधार निर्मणमा जागरुक हुनुपर्छ । पर्यटकीय सम्भावनालाई विविधीकरण गर्न सक्नुपर्छ । नेपालमा पर्यटक विकास र आधुनिकताको मोडल हेर्न नभई प्राचीनतम तथा धार्मिक सांस्कृतिक र प्राकृतिक रमणीयतामा रम्न नै आउने हुन्, जसको लाभ आजको भोलि प्राप्ति हुने र सम्पन्नता हासिल गरौला भन्ने हुन्न । त्यसैले स्थिर सरकारले पहिलो पाँच वर्षको कार्याकालमा पर्यटन विकासको आधार खडा गर्न सक्नुपर्छ । स्वदेशी तथा क्षेत्रीय पर्यटकलाई त्यति प्राथमिकता नदिने र सेतो रङ्गप्रति आकर्षण हुने पर्यटन व्यवसायीको मानसिकता परिर्वतन गर्नुपर्छ । पर्यटकको संवेदनशीलता जित्न सक्नुपर्छ । एउटा विदेशी घुम्न आउनु प्राकृतिक सौन्दर्यता र भू–बनौटकै आकर्षण हो । यसका साथै प्राचीन कला र सम्पदा, पर्यावरण, साहसिक खेलकुद नै आकर्षण गन्तव्यका कारण हुन् । नेपालमा विश्वको उच्च सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध, उच्च स्थानको तिलिचो ताल, विश्वकै गहिरो अन्ध गल्छी, गहिरो अरुण उपत्यका, पुरानो धर्म हिन्दू, जातीय तथा धार्मिक विविधता, असंख्य प्राकृतिक मनोरम स्थानहरू तथा सहयोगी र निश्चल स्वभावका मानिसको जमात हुनु नै विदेशीको मनोभाव जित्ने आधार हुन् । गौतम बुद्धको जन्मभूमिको माटो, विश्वको उच्च स्थानको पानी वा चट्टानमा मानवीय भावना जोड्न सके आफैंमा पर्यटनको नवीनता आउँछ । साहसिक पर्यटनका थप सम्भावनाको खोजी गरिनुपर्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै ग्रामीण पर्यटनलाई यथार्थमा आधारित बनाउनुपर्छ । मौलिकताको संरक्षण गर्दै प्राप्त लाभको न्यायोचित वितरणको अवस्था राज्यले सुनिश्चित गर्नुपर्छ, अनि मात्र पर्यटन व्यवसाय समृद्धिको यात्राको असल साझेदार बन्न सक्छ । अन्यथा असल नीति छ भन्दै सरकारी सयन्त्र बस्ने र निजी क्षेत्र पर्यटन व्यवसायमा व्यावसायिक बन्न नसक्ने र स्थानीय समुदायलाई यो क्षेत्रमा सहभागिता र सहकार्य गर्न नसक्ने हो भने पर्यटन क्षेत्रबाट अपेक्षित समुन्नति हासिल गर्न सपना मात्र हुनेछ ।