बाबुकाजी कार्की
शुक्रवार, आश्विन २६, २०७५
298

सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही एवम् ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।

उच्च शिक्षाका लागि उपयुक्त शिक्षण संस्था तथा आफ्नो योग्यताअनुसारको जागिर नपाएको कारणबाट विगत लामो समयदेखि प्राज्ञहरू विदेश पलायन हुदैं आएको विषय नौलो थिएन, तर पछिल्लो समय द्वन्द्वकालदेखि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर भए पनि अझै २२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । पछिल्लो तथ्यांकअनुसार एक जना नेपालीको थाप्लोमा ३१ हजार वैदेशिक ऋणको भार छ । बेरोजगारीको समस्या दिन–प्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक १२ सयको हाराहारीमा रोजगारीका लागि युवायुवती बिदेसिने गरेको तथ्यांकले देखाउँछ । यसरी बिदेसिनेमध्ये १.५ प्रतिशत दक्ष, २५ प्रतिशत अर्धदक्ष र ७३.५ प्रतिशत अदक्ष रहेको लेखिन्छ । नेपालमा प्रत्येक वर्ष ५ लाखका दरले युवाशक्ति रोजगारीका लागि तयार हुन्छन् । राज्यबाट देशभित्र रोजगारी सिर्जनाका लागि खासै पहल नभएको कारणबाट आव ०७४-७५ सम्म श्रम स्वीकृति लिई ४० लाख ३ हजार ४ सय ७४ जना युवा रोजिरोटीका लागि भौंतारिँदै विदेशी भूमिमा पसिना बगाउन विवश भएका छन् । अवैध तरिकाबाट बिदेसिनेहरूको संख्या पनि उत्तिकै छ । त्यस्तै पढ्दै पैसा कमाउने भने अस्ट्रेलिया, अमेरिका, जापान, चीन तथा युरोपका विभिन्न देशमा खर्बौं रुपैयाँ खर्च गरेर बिदेसिने विद्यार्थी झन्डै ८० हजार छ । बर्सेनि रोजीरोटीका लागि बिदेसिनुलाई ब्रेड ड्रेनका रूपमा परिभाषित गरिन्छ । बे्रड ड्रेनका अनेकौं कारण हुन सक्छन् । राजनीतिक अस्थिरता र संक्रमणको नाममा स्वदेशमा रोजगारीका अवसरको खडेरी तथा विदेशमा आकर्षक आर्जनको भ्रम आदिले बिदेसिने मनोविज्ञान बढेको पाइन्छ । ब्रेड ड्रेन प्रवृत्तिलाई निरुत्साहित गर्न स्वरोजगारमूलक शिक्षाको अहम् भूमिका रहन्छ ।
नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकलाई रोजगारीलाई मौलिक हकअन्तर्गत राखेको छ । अहिले ब्रेन डे«न र ब्रेड ड्रेनका कारण नेपाली युवा जनशक्ति विदेश पलायनले विकराल रूप लि“दै छ । उच्च शिक्षाका लागि उपयुक्त शिक्षण संस्था तथा आफ्नो योग्यताअनुसारको जागिर नपाएको कारणबाट विगत लामो समयदेखि प्राज्ञहरू विदेश पलायन हुँदै आएको विषय नौलो थिएन, तर पछिल्लो समय द्वन्द्वकालदेखि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ । युवाहरूले आफ्नो देशमा भविष्य नदेख्नु देशको भविष्य पनि अन्धकार हुनु हो । बिदेसिएका कामदारबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र चलेकोमा सरकारमा रजगज गर्नेहरू मक्ख पर्नु शुभसंकेत होइन । ऊर्जाशील बेरोजगार युवाशक्तिलाई विदेश पठाएर नयाँ नेपाल बनाउने नारा अलाप्नु ढाँटको खेती मात्र हो ।
आफ्नै देशमा उपलब्ध पेसालाई अँगाल्न हिचकिचाउँदै लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा सामान्य सीप र ज्ञान भए मात्र पुग्ने तरकारी, फलपूmल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ विदेश जाने फेसन नै भएको छ । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहरबजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ, तर त्यही काम गर्वका साथ स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावैअभावबाट छटपटिई निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? चिन्ता र चिन्तनको विषय बन्नुपर्छ ।
शिक्षालाई गुणस्तरीय, जनमुखी, प्रगतिशील, जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ, जसका कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ड्याडममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने, गाईभैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा, दाँते आदिका बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने–गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गर्नु आजको खाँचो हो । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
पेपर पेन्सिल परीक्षाका आधारमा मात्रै विद्यार्थीको उपलब्धि स्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनका आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनुपर्छ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्छ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि १ सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कातर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरूकोे व्यवहार अपेक्षाकृत सकारात्मक भएको पनि देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही एवम् ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।
घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकासँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्छ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भैराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्छ । उनीहरूको जीवनशैलीलाई सुविधासम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्नेछौं, हामीले भनेको मात्र उनीहरूले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमता, मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तका रूपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिनुपर्छ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनुपर्छ । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगारी सिर्जना गर्ने शिक्षाले मात्र बिदेसिने जनशक्तिलाई रोक्न सक्छ ।