कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
469

काठमाडौंदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको दूरी जम्मा १ सय ३३ किलोमिटर छ । ३ वर्षअघिसम्म काठमाडौं–खाडीचौर–चरिकोट सडकमा बसको यात्रा चार घण्टाको हुन्थ्यो, तर अहिले यात्रा समय कम्तीमा ८ घण्टा भएको छ ।
यो यात्रा सडक लम्बिएर होइन । सडक विस्तारका लागि भएको सडक ठेकेदारले बिगारेपछि यात्रा लम्बिएको हो । गाडी चढेपछि तोकिएको समयमा पुग्न छाडेको वर्ष बितेको लामो समयदेखि बस चालकका रूपमा कार्यरत रोल्वालिङ यातायातका केशव श्रेष्ठले बताए ।

“बिहान ६ बजे काठमाडौंबाट छुटेको बस साँझ ८ बजेसम्म पनि चरिकोट पुग्दैन,” उनले भने, “अलि ढिला भएको दिन त बीच सडकमै रात बिताउनुपरेको पनि छ ।” जोखिमपूर्ण यात्राका कारण अत्यन्तै जरुरीबाहेक यात्रा गर्नेहरूसमेत घटेका छन् ।
३५ वर्षयता दोलखा सुगम थियो । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बुका यात्रुहरू पाँच वर्षअघिसम्म दोलखा हुँदै यात्रा गर्थे । तर, अहिले यो अवस्था फेरिएको छ । अहिले खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारका कारण यात्रा जोखिमपूर्ण र ढिला भएपछि अधिकांश यात्रुवाहक बस रामेछाप हुँदै चल्न थालेका छन् ।
रामेछाप हुँदै यात्रा गर्दा ५० किलोमिटर यात्रा बढी गर्नुपर्छ, तर पनि सजिलो सडकका कारण बढी भाडा तिरेर भए पनि लामै यात्रा गर्न यात्रुहरू बाध्य छन् । सडक स्तरोन्नतिका लागि सुरु गरेको काम बीचमै अलपत्र छाडेपछि अहिले यात्रुहरूलाई सास्ती भएको हो । यातायातका साधनका पार्टपुर्जा पनि चाँडै टुटफुट हुने हुँदा खर्चसमेत बढेको यातायात व्यवसायीहरू गुनासो गर्छन् ।
खाडीचौर–चरिकोट सडक २ प्याकेजमा ठेक्का लगाएर काम भएको छ । पहिलो प्याकेज खाडीचौरदेखि २५ किलोमिटर र दोस्रो प्याकेज थप ३० किलोमिटर छ । पहिलो प्याकेजको १४ किलोमिटरदेखि १९ किलोमिटरसम्म सडक धेरै बिग्रिएको छ भने दोस्रो प्याकेजको सडक बिग्रिएको भए पनि सवारी साधनहरू अड्किने अवस्थाको छैन ।
पहिलो प्याकेज विस्तार र कालोपत्रेको ठेक्का भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालका गौरीपार्वती तथा सुनौलो खिम्ती कन्स्ट्रक्सन जेभीले पाएको छ । त्यसैगरी दोस्रो प्याकेजको ठेक्का भारतको सकिल हैदर संगथ र शंकरमाली तथा सुनौलो खिम्तीले पाएको छ ।
पहिलो प्याकेजको काम गत अक्टोबर २०१५ देखि सुरु गरिएको र स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा सक्ने गरी ठेक्कामा लगाइएको थियो । त्यसैगरी दोस्रो प्याकेजको काम २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक स्तरोन्नति कार्य सिध्याउने गरी ठेक्कामा लगाइएको थियो ।
सडकको अवस्था नाजुक भएपछि दोलखामा ३ नं. प्रदेशका विभागीय मन्त्रीसहित तीन जना मन्त्रीकै उपस्थितिमा बैठक बसेर १० दिनभित्र सडक सुधार गर्ने प्रतिबद्धता आयोजना र ठेकेदारले गरे । तर, काम सुरु गरे पनि सडकको अवस्था सुधार हुन सकेको छैन ।
दोस्रो प्याकेजको ३० किलोमिटर खण्ड सडकका खाल्डाखुल्डी पुरेर साना गाडी चल्न सक्ने भएका छन्, तर सबैभन्दा कठिन पहिलो प्याकेजमै रहेको छ । निर्माण व्यवसायीका साधन खटिएका छन्, तर लगातार वर्षा भएकाले सोचेअनुसारको प्रगति हुन नसकेको निर्माण व्यवसायीहरू बताउँछन् ।
पहिलो प्याकेजमा पहिला सुनौला खिम्तीका व्यवसायीले काम गरेका थिए । अहिले अलपत्र परेको काम उसैका साझेदार गौरी–पार्वतीले गर्ने प्रतिबद्धताका साथ सुरु गर्न लागे पनि स्थानीय स्तरमा समेत काम गर्ने वातावरण नभएको गुनासो बढेको छ ।
सडकको अवस्था नाजुक हुँदा साविक सडकमा यात्रुवाहक साधन कम चल्ने हुँदा स्थानीय छोटो दूरीका यात्रुहरू प्रत्यक्ष मारमा परेका छन् । विगतको तुलनामा ८० प्रतिशत गाडी रामेछापको सडकबाट घुम्दा यात्रुहरू मर्कामा परेका हुन् । बस कम चल्दा यात्रुहरू चर्को मूल्य तिरेर निजी नम्बरप्लेटका बोलेरो गाडी चढ्नसमेत बाध्य छन् ।
दिलबहादुर केसी