रमेश घिमिरे
बुधवार, भदौ २७, २०७५
472

डब्लूएचओका अनुसार विश्वका ७५ प्रतिशत क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचारका रूपमा जडीबुटी सेवन गरिन्छ ।

विभिन्न प्रकारका रोग किन र कसरी लाग्छन् र ती रोगबाट कसरी मुक्त हुन सकिन्छ भन्ने शतप्रतिशत विश्वासिलो सिद्धान्त अहिलेसम्म प्रतिपादन हुन सकेको छैन । यसले गर्दा विश्वभर विभिन्न सिद्धान्त र पद्धतिबारे दाबी र प्रतिवाद भइरहेका छन् । मूल पद्धतिका रूपमा एलोपेथिक र सहायक पद्धतिका रूपमा परम्परागत पद्धतिहरू रहेका छन् । विश्व स्वास्थ्य संगठनले परम्परागत औषधिलाई मानसिक र शारीरिक रोगको उपचार वा सुधार, पहिचान, पूर्वरोकथाममा प्रयोग हुने विभिन्न संस्कृतिमा रहेका मौलिक अनुभव, विश्वास र सिद्धान्तमा आधारित ज्ञान, सीप र अभ्यास भनेको छ । डब्लूएचओका अनुसार विश्वका ७५ प्रतिशत क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचारका रूपमा जडीबुटी सेवन गरिन्छ ।
एलोपेथिक उपचार पद्धतिलाई अहिले विश्वमा सुरक्षित, प्रभावकारी र प्रामाणिक मानिन्छ । परम्परागत पद्धतिलाई परीक्षण गर्न पनि रिसर्चहरू भइरहेका छन् तथापि एलोपेथिकका लागि रिसर्चहरू अझ तीव्र गतिमा भइरहेका छन् । एलोपेथिक पद्धति अध्ययन, अध्यापन, रिसर्च एन्ड डेभलपमेन्ट, औषधि र उपकरणहरू उत्पादन तथा बिक्री–वितरणले विश्व अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । यसबाट धेरै मानिस धनी भइरहेको हुनाले एलोपेथिकको स्थान एक नम्बरमै रहने देखिन्छ ।

मूलतः अमेरिका र त्यसको फलोअपका रूपमा युरोपमा समेत विकास भएको एलोपेथिक उपचार पद्धति अहिले विश्वभर सबैभन्दा बढी प्रयोगमा रहेको छ । त्यसबाहेक जडीबुटी, आयुर्वेद, रेकी, ध्यान, योग, अक्कुपञ्चर, ज्योतिष, झारफुक, ध्वनि, ताप उपचारलगायत विभिन्न पद्धति विश्वका विभिन्न स्थानमा प्रयोग गरिन्छ । अहिले विश्व एक ध्रुवीय भएको हुनाले अमेरिका र युरोपबाट उत्पत्ति वा जारी भएका ज्ञान विश्वभरि हावी छन् । अमेरिकामा आदिवासी मानिसहरू र जैविक विविधताको कमी रहेका कारण प्राचीन कालदेखि पुस्तान्तरण हुँदै आएको ज्ञान कम रहेको छ । त्यहाँ नयाँ अनुसन्धानबाट सिर्जना वा संयोजन गरिएका ज्ञान धेरै छन् ।
एलोपेथिकलाई पनि फिजिक्स र केमेस्ट्रीजस्तो शुद्ध विज्ञान (पियोर साइन्स) भनिँदैन । यसलाई विज्ञान, मनोविज्ञान, अनुमान र प्रयोग (हिट एन्ड ट्रायल) लगायत विभिन्न विधाको संयोजन मानिन्छ । ल्याब परीक्षणबाट कतिपय रोग थाहा हुन्छ, तर रोगीलाई यस्तो औषधिले सन्चो हुन्छ भनेर ठ्याक्कै यकिन गर्न सकिँदैन, यो औषधिले लाभ पु¥याउन सक्छ मात्र भन्न सकिन्छ । कतिपय त रोग नै थाहा हुँदैन र लक्षणविरुद्ध उपचार गरिन्छ । कतिपय समस्या भने उपचारबाट ठ्याक्कै सन्चो हुन्छ, जस्तो कि सर्पदंश । कतिपय जनावरको शरीरले सर्पको विषलाई प्रतिकार गर्न सक्ने तत्व विकास गर्छन् । ती जनावरको शरीरमा सर्पको विष दिइन्छ र उनीहरूले प्रतिकारका लागि बनाएको तत्व झिकेर राखिन्छ । त्यो सर्पले टोकेको मानिसमा प्रयोग गरिन्छ ।
एलोपेथिकमा मानव शरीरका लागि अप्राकृतिक मानिने तत्व वा जैविक वस्तु मानिसको शरीरमा प्रवेश गराइने हुँदा साइड इफेक्ट हुने गर्छ । त्यसैले औषधिहरू पहिले अन्य जनावरमा परीक्षण गर्दा सुरक्षित तहसम्मको मात्र साइड इफेक्ट पाइए सीमित मानिसहरूमा परीक्षण गरिन्छ र अन्तिममा मात्र विश्वभर प्रयोगमा ल्याइन्छ । एन्टिबायोटिक भनेका सूक्ष्म जीवजन्तु नै हुन् । मानव शरीरमा भएका अप्राकृतिक वा रोग लगाउने ब्याक्टेरियालाई कमजोर पार्न अरू सूक्ष्म जीवको सहायता लिइएको हो । रोग लगाउने ब्याक्टेरियाहरूले पनि बाहिरबाट आएका सूक्ष्म जीवलाई पचाउने क्षमताको विकास गर्छन् ।
आधुनिक चिकित्सा पद्धतिको अर्को पाटो शल्यक्रिया अर्थात् अपरेसन हो । शरीरमा अपुग भएका अंग थपेर पूर्ण बनाउने वा अनावश्यक भएका अंग काटेर फाल्ने वा च्यातिएका अंगलाई बान्ने गरिन्छ । कतिपय अनावश्यक अंग र भाग शरीरले आफैं नष्ट, अपुग भाग निर्माण र च्यातिएको जोड्ने गर्छ । शरीरले आफैं सुधार गर्छ वा औषधि सेवनबाट सुधार हुन सक्छ, त्यस्तै बाहिरबाट राखिएका कृत्रिम वा जैविक अंगका भागलाई शरीरले कति स्वीकार गर्छ भन्ने ठ्याक्कै यकिन हुन सकेको छैन ।
अर्कातर्फ जडीबुटी मानिस तथा अन्य जनावरले प्राकृतिक रूपमा पनि सेवन गर्दै आएको वस्तु भएकाले यसले सामान्यतया साइड इफेक्ट गर्दैन । जडीबुटीको संयोजनबाट धूलो वा झोलका रूपमा औषधि बनाउने र केही परीक्षणसमेत गरेर मानिसमा प्रयोग गरिन्छ, जसलाई आयुर्वेदिक पद्धति भनिन्छ । यो भारत, चीन र अफ्रिकामा बढी प्रचलित छ ।
मानिसको जन्मको समय र स्थानका आधारमा खगोलीय रेडियसनहरूको प्रभावले शरीरको बनोटमा असर गर्छ भन्ने विश्वास ज्योतिष पद्धतिले गर्छ । रोग वा समस्याको पूर्ण निधान प्रायः असम्भव छ, किनिकि यो पूर्वनिर्धारित हुन्छ र प्रभाव कम पार्नका लागि मात्र उपायहरू रहेका छन् । यस पद्धतिमा समयानुसार विभिन्न दिशामा फर्केर आसन, क्रियाकलाप गर्ने, वनस्पतिसँग व्यवहार गर्ने, ध्यान गर्ने र आनीबानीमा परिवर्तन गर्ने गर्नुपर्छ । वस्तु सेवनलाई यस पद्धतिले सिफारिस गर्दैन, प्रकाश परावर्तनमा महत्वपूर्ण मानिने रत्न र पत्थरको प्रयोग गरिन्छ । यो पद्धति भारतमा प्रचलित छ ।
शरीरमा विभिन्न नियन्त्रण केन्द्रहरू रहेका हुन्छन्, तिनमा दबाब दिएर रोग उपचार गर्ने अक्कुपञ्चर पद्धति चीनमा प्रचलित छ । त्यस्तै, मानिसको शरीरमा देखा परेका समस्या समाधानका लागि शरीरका विभिन्न भागमा आफैंले छोएर विभिन्न आसनमा बस्ने रेकी उपचार पद्धति जापानमा प्रचलित रहेको छ । शरीरमा विभिन्न ऊर्जा केन्द्र रहेका हुन्छन्, तिनको ऊर्जालाई स्थानान्तरण गरेर रोग निको पार्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
त्यसैगरी रोग वातावरणको तापमानमा आउने अन्तरले लाग्ने भएकाले जस्तो वातावरणलाई पनि सहज लिने शरीरको निर्माण गरेर रोग निदान गर्न सकिन्छ भन्ने ताप पद्धति भारत, अफ्रिका र चीनमा फैलिएको देखिन्छ । लामो अभ्यासका आधारमा जाडो मौसममा चिसो ढुंगामा र गर्मीमा आगो तापेर बस्न सक्ने गरी शरीरलाई रूपान्तरण गर्न सकियो भने रोग तत्वलाई शरीरको तत्वले प्रतिकार गर्न सक्छ भन्ने विश्वास उक्त सिद्धान्तको रहेको छ । अर्कातर्फ, खानपिनबाटै शरीरमा विभिन्न तत्व बन्ने भएकाले अन्न, तरकारी, सागपातकै सही ढंगको सेवनबाटै रोग सन्चो गर्न सकिन्छ भन्ने प्राकृतिक उपचार पद्धति भारतमा प्रचलित छ ।
यस्तै, अन्य धेरै पद्धतिहरू प्रचलनमा छन् । जस्तै : एकान्त र शान्त स्थानमा शून्य सोच र शून्य क्रियाकलापमा समय बिताउँदा रोगलाई जित्ने तत्व शरीरमा निर्माण हुन्छ भन्ने ध्यान पद्धतिको विश्वास रहेको छ । त्यस्तै, शरीरका अंग विभिन्न तरिकाले चलायमान गराएर रोग लाग्नबाट बच्न वा लागेको रोगबाट मुुक्त हुन सकिन्छ भन्ने योग पद्धति रहेको छ । अर्को, मन्दिरमा शंख–घण्टको आवाज, लययुक्त वेद मन्त्रको श्रवण, गीत धुन श्रवण, झरना, छाँगा, नदीको आवाजबाट उपचार हुन्छ भन्ने संगीत थेरापी सिद्धान्त पनि छ । कुनै व्यक्तिविशेषको श्वास र शरीरबाट निस्कने वस्तु, गन्ध, रेडियसन र वेभले नजिक परेको दोस्रो व्यक्तिको शरीरलाई प्रभाव पारी रोग सञ्चो पार्छ भन्ने झारफुक पद्धति भारतमा प्रचलित छ ।
अन्त्यमा, एलोपेथिकले रोगलाई मानसिक र शारीरिक दुई वर्गमा बाँडी शारीरिकका लागि औषधि तथा शल्यक्रिया र मानसिकका लागि औषधि तथा परामर्श विधि सिफारिस गरेको छ । अन्य धेरै पद्धतिले रोगलाई दुई वर्गमा बाँडेका छैनन् । सामान्य अवलोकनका आधारमा विचार गर्दा पनि मानसिक र शारीरिक रोगको अन्तरसम्बन्ध रोचक देखिन्छ । मानसिक रूपले कमजोर अवस्थाको मानिसको रोग प्रतिरोधात्मक क्षमता कम नै हुन्छ, जसका कारण उसको शरीरलाई रोग लगाउने तत्वले जित्छ र शरीरमा रोग लाग्छ । यदि मानसिक अवस्था कमजोर नभएको मानिसलाई शारीरिक रोग लागेको हो भने पनि रोग लागेपछि उसको मानसिक अवस्था कमजोर हुन्छ । साथै शरीर स्वयम्ले रोगसँग नलड्ने हो भने औषधिले मात्र कुनै पनि रोग निको हुँदैन । शरीरले रोगसँग लड्नका लागि मानसिक रूपले सबल हुनुपर्छ ।