केसीको मुटुको चाल अस्थिर
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
1058

जुम्लामा १० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनको अवस्था गम्भीर बनेपछि स्पेशल केयर युनिटमा राखेर मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएकाले, मुटुको चाल तलमाथि भइरहेको, छातीको बीच भागमा दुखाइ, कमजोरी, चक्कर लाग्ने, रगतमा चिनीको मात्रा घट्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा मुटुको चालमा गडबडी हुने वा मुटुले काम गर्न बन्द गर्न सक्ने खतरा रहेको केसीको उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरी, डा. धिरज गुरुङ र डा. सिद्धार्थ खातीले जानकारी गराएका छन् ।
त्यसैले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुन सक्ने खतरा रहेको उनीहरुको भनाइ छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केसीले औषधि लिन मानेका छैनन् ।
केसी जुम्लामा अनशन बसेको १० दिन पूरा भएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा १५ औं आमरण अनशनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रशासनले प्रतिष्ठानलाई निषेधित क्षेत्र घोषणा गर्दै केसीलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि हिरासतबाटै अनसन सुरु गरेका डा. केसीलाई प्रहरीले कभर्ड हलमा लगेर छाडिदिएको थियो । कभर्डहलको फोहोरका कारण केसीको स्वास्थ्यमा असर पारेको थियो । उनी उक्त स्थानमा ५ दिनसम्म अनशनमा थिए ।