चिकित्सा शिक्षामा अब एउटै क्यालेन्डर
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
350

चिकित्सा शिक्षामा बेथिति र भष्टाचार बढेपछि सरकारले चिकित्सा कार्यक्रम सञ्चालन गर्ने सबै शैक्षिक संस्थाले एकै क्यालेन्डर सञ्चालन गर्नुपर्ने नियम बनाएको छ । हालसम्म चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशनलगायतका कार्यहरू आफूअनुकुल गर्दै आएका सबै विश्वविद्यालय तथा प्रतिष्ठानले एकै क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । प्रवेश तथा अन्तिम परीक्षामा अनियमिता, शुल्कलगायतका विषयमा बिबाद आएपछि सबैका लागि एकीकृत क्यालेन्डर लागू गरिएको हो ।
विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले आ–आफ्नो क्यालेन्डरअनुसार सञ्चालन गर्दै आएका चिकित्सा शिक्षा अध्ययन कार्यक्रम एकै समयमा सञ्चालन र अन्त्य हुनेगरी सरकारले नियम बनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको राय सुझावका आधारमा सबै चिकित्सा शिक्षाको क्यालेन्डरमा एकरूपता ल्याउने निर्णय भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले चिकित्सा शिक्षाका कार्यक्रमहरूका सम्बन्धमा नियमन र उचित व्यवस्थापन गर्न समसामयिक सुधारको आवश्यकता महशुस भएको जनाउँदै चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त, शिक्षण संस्थाको स्थापना र सञ्चालनसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ जारी भएको बताएका छन् । चिकित्सा शिक्षामा गुणस्तर, व्यवसायिकता, संस्थागत जवाफदेही, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गरी विपन्न लगायत सवै विद्यार्थीहरूको समान पहुँच सुनिश्चित गर्ने निर्णय भएको छ ।
अब आयोगबाट अन्तिम टुंगो लागेपछि चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालन गर्ने निर्णयका लागि प्रक्रिया अघि बढाइएको छ । यस कार्यका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्रा. डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार गरिएको निर्णयमा भनिएको छ । परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिमा प्रा.डा.सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाडांै विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसीप्रसाद आचार्यलाई सदस्य सचिव तोकिएको मन्त्रालयले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरूको ‘सिट संख्या निर्धारण समिति’ पनि गठन गरिएको छ । जसमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन प्रा.डा. राजेन्द्र कोजु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. राजेन्द्र गुरागार्इं सदस्य छन् । चिकित्सा शिक्षा आयोगका सचिव लालजंग चौहानलाई यस कार्यदलको सदस्य सचिव तोकिएको मन्त्रालयले जनाएको छ ।

सातामा धेरै पढिएको