हरिश चन्द
आइतवार, माघ २७, २०७५
257

नेपाल सरकारले सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि डडेल्धरामा प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी देखिने गरेका छन् । डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठ रोग देखिने गरेको छ । यस वर्षको पुस महिनासम्म डडेल्धुरामा मात्रै ३ जनामा कुष्ठरोग देखापरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

चालू आवको पुस महिनासम्म उपक्षेत्रीय अस्पतालमा १२ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । गत वर्ष भने १८ जना नयाँ कुष्ठरोगीका बिरामीको उपचार गरिएको थियो । दामियन फाउन्डेसन बेल्जियम नेपालअन्तर्गत उपक्षेत्रीय अस्पतालमा टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तका अनुसार प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी देखिने गरेका छन् ।
२०७० सालमा स्थापित उपक्षेत्रीय अस्पतालमा ६ वर्षको अन्तरालमा ९३ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल पुगेका सबै जनाको उपचार भइसकेको छ । विगतका वर्षको तुलनामा बिरामीको संख्या घटेको भए पनि नेपाल सरकारले घोषणा गरेको कुष्ठरोग भने निवारण भएको छैन । उनले भने, “नयाँ बिरामी पनि आउने गरेका छन् । तर पहिले र अहिलेको तुलनामा शरीरका अंग अंगभंग भएपछि अस्पताल पुग्ने क्रम भने रोकिएको छ ।” लक्षणहरू देखापर्ने बेला अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को संख्यामा कुष्ठरोग देखिने गरेको छ । कतिपयको हामीले उपचार ग¥यौं भने कतिपयलाई विशेषज्ञ सेवा आवश्यक पर्ने भएकाले रेफर पनि गर्येउ ।

३० वर्ष पहिला सुदूरपश्चिममा पहिलोपटक पोखारामा टिम अस्पतालले कुष्ठरोगको उपचार थाल्दा सयौंको सख्ंयामा शरीरका अंग अंगभंग भएपछि अस्पताल पुग्ने अवस्था भने रोकिएको छ । शिक्षासँगै उपचारमा पहँुच भएकाले बिरामीहरू चाँडो अस्पताल पुग्ने गरेको उनी बताउँछन् । कुष्ठरोगलाई अझै पनि कतिपयले वंशाणुगत रोग र पापका रूपमा लिने गरेका छन् । उनले भने, “तर यो सत्य होइन यो रोग छिट्टै नसर्ने रोग हो भने उपचार गरे पूर्णरूपमा निको हुने रोग हो । यसमा पनि हामीले जनचेतानाका लागि सन्देश दिने गरेका छौं ।
गत वर्षको तथ्यांक हेर्दा यस वर्ष कुष्ठरोगका बिरामी दोब्बर देखिएका छन् । यस वर्षको पुससम्ममा १२ जनामा संक्रमण देखिएकाले बढ्ने शंका गरिएको छ । तर टिभी ल्याप्रोसी सुपरभाइजर पन्त भन्छन्, “कुनै महिना ५ जनामा पनि कुष्ठरोगको संक्रमण देखिएको छ भने कुनै महिना देखिएको छैन । गत वर्षको तुलना गर्न अली गाह्रो नै हुन्छ ।”
गत वर्ष १८ जनामा कुष्ठरोगको संक्रमण देखिएपछि उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभए पछि विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक परेकाले ८ जनालाई अन्यत्र रेफर गरेका थियौं, पन्तले भने, “यस वर्ष पुससम्ममा देखिएका बिरामीमध्ये ३ जनालाई उपचारका लागि अन्यत्र पठाइसकेका छौं ।”
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा डडेल्धुरालगायत बाजुरा, अछाम, दार्चुला, बझांग, बैतडी, डोटीबाट उपचार गराउन आउने गरेका छन् । कुष्ठरोगीका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा निःशुल्क उपचार र बिरामीका लागि खाना बस्नको ब्यवस्था भएपछि उपचार गर्नेको संख्या दिनप्रतिदिन बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र्र कँडेलले जानकारी दिए ।