कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
431

अछाम-अछामको रामारोशन गाउँपालिकामा–३ दिनसम्म सञ्चालन भएको बृहत् एकीकृत घुम्ती शिविरमा स्थानीयले विशेषज्ञसहितको स्वास्थ्य सेवा, नागरिकता लगायत सरकारी सेवा लिएका छन् । शिविरबाट ४ हजार ७ सय ९३ जनाले सेवा लिएका छन् ।
पुस २२ गतेदेखि २४ गतेसम्म गाउँपालिकाको केन्द्र मुजाबगरमा सञ्चालन भएको शिविर रामारोशन गाउँपालिका र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको हो । शिविरको संयोजन सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको थियो ।

३ दिनसम्म सञ्चालन भएको शिविरमा ३ सय ८७ जनाले नेपालि नागरिकता प्राप्त गरेका छन् भने २१ जनाको अपागंता परिचयपत्र सिफारिस गरिएको छ । यस्तै ३५१ जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ३७२ कृषकका पशु वस्तुको उपचार, १५५ कृषकको कृषि बाली प्रर्दशनी ४६३ कृषकलाई विभिन्न कृषि बीउ बिजन वितरण, ४७२ कृषकलाई कृषि परामर्श सेवा, २२९ जनालाई बहुक्षेत्रीय पोेषण योजनाअन्तर्गत पोषण परामर्श र २१ वटा घरेलु तथा साना उद्योग दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविरमा जम्मा २ हजार २२१ जनाले स्वास्थ्य उपचार गराएका छन् । जसमा ३७७ जनाले भिडियो एक्सरे सेवा, ४३७ जनाले हाडजोर्नी र नसासम्बन्धी उपचार, ३१७ जनाको नाक, कान घाँटी र दन्तरोग सम्बन्धी उपचार, ३६७ जनाको स्त्रीरोग सम्बन्धी उपचार, १९० जनालाई प्रयोगशाला तथा ल्याव सेवा, सामान्य उपचारतर्फ ४८८ जना र १४५ जनाले आयुर्वेद उपचार सेवा लिएको रामारोशन गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिबहादुर साउदले जानकारी दिए ।
गाउँपालिकामा बृहत् शिविर सञ्चालन गरेपछि नागरिकले दुर्गममा पहिलो पटक विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए । विशेषगरी महिला, वृद्धवृद्धा र गरिब दुःखीका लागि स्वास्थ्य समस्याको पहिचान, पहिचान भएका रोग निदानका लागि शिविर प्रभावकारी भएको अध्यक्ष साउदले बताए । शिविरबाट स्वास्थ्य सरसफाइ, सरकारी सेवा प्रवाह, पोषण अवस्था सुधारका विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।
शिविरबाट जटिल खालका रोग पहिचान भई कतिपय बिरामीलाई नेपालगन्ज मेडिकल कलेजमा रेफरसमेत गरिएको छ । शिविरको उदघाटनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीसहित कर्मचारी र विशेषज्ञ डाक्टरको टोली मुजाबगर पुगेको थियो ।