उत्तम चौलागार्इं
बुधवार, पुष २५, २०७५
386

खोटाङ-खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा रातमाटा घर भएकी वर्ष २० की सोभिता राईले गत वर्ष चैत १६ गते याम्खाको बर्थिङ सेन्टरमा बच्चा जन्माइन् । ४ केजीको छोरा जन्माएकी उनले बर्थिङ सेन्टरमा सुरक्षित साथ बच्चा जन्माएको भन्दै खुसी व्यक्त गरिन् । बच्चा जन्माउँदाको पीडाको पनि महसुुस भएन त्यतिखेर, अनि मसंग स्वास्थ्यकर्मी साथमै रहेकोले सुरक्षित छु भन्ने कुराको महसुस भयो त्यो समय । अहिले छोरो ९ महिनाको भयो, छोरालाई नियमित खोप लगाउन जान्छु । बच्चाका लागि पोषण भत्ता पनि नियमित लिन्छु । गाउँपालिकाले बर्थिङ सेन्टर र बच्चालाई पोषण भत्ताको व्यवस्था गरेको प्रति आभारी छु ।
यस्तै, गत साउन १३ गते याम्खाकै संगिता परियारले पनि बर्थिङ सेन्टरमै बच्चा जन्माइन् । सहजै बच्चा जन्माएको स्मरण गर्दै उनले भनिन्, ‘मेरो घरको निम्न आर्थिक अवस्था हुँदा पनि सेवा सुविधाका साथ बर्थिङ सेन्टरमा बच्चा जन्माउन पाउँदा खुसी लागेको छ ।”

खोटाङको दिप्रुुङ चुईचुम्मा गाउँपालिकाले तीन वडामा बर्थिङ सेन्टर स्थापना ग¥यो । जो कोही महिला सुत्केरी हुँदा जोखिम मोलेर घरमा सुत्केरी हुनुपर्ने बाध्यतालाई हटाउन गाउँपालिकाले वडा नम्बर–१ को याम्खा, वडा नम्बर–२ को ओख्रेडाँडागाउँ र वडा नम्बर–५ को सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना ग¥यो ।
बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती महिलालाई बर्थिङ सेन्टरमै गएर बच्चा जन्माउनु पर्छ भन्ने कुरा जानकारी गराउन गाउँपालिकालाई निक्कै चुनौती थियो । जतिसक्दो गर्भवती महिलाले घरमै सुत्केरी हुनुपर्छ भन्ने थियो गाउँका मानिसलाई । यस्तो परिस्थितिलाई नियाल्दै बर्थिङ सेन्टरमा बच्चा जन्माउँने गर्भवती महिलालाई नियमित जाँच गर्न आउँदा यातायात खर्चको समेत गाउँपालिकाले व्यवस्थापन ग¥यो ।
बर्थिङ सेन्टर स्थापना भएपछि गत आवमा याम्खामा ८ जना महिलाले बच्चा जन्माए । यस आर्थिक वर्षको साउनदेखि हालसम्म ११ महिलाले बच्चा जन्माइ सकेका छन् । यस्तै, ओख्रेडाँडागाउँमा गत आव २९ जना र यस आवको साउनदेखि हालसम्म १९ जनाले बच्चा जन्माएका छन् । सप्तेश्वर छितापोखरीमा गत आवमा ३ जना र यस आवमा हालसम्म १९ जनाले बच्चा जन्माइसकेका छन् ।
सुरु–सुरुमा त गर्भवती महिला कोही पनि आएनन्, सुत्केरी हुने मिति अगावै हुने खाने परिवारका महिला दिक्तेल, गाईघाट, विराटनगर तथा काठमाडौं जाने गरेका थिए । आर्थिक स्थिति कमजोर भएका महिला घरमै सुत्केरी हुन चाहान्थे, अहिले बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउने महिलाको संख्या उल्लेखनीय छ, स्वास्थ्य चौकी याम्खाकी अनमी सुरक्षा राईले बताइन् । उनले भनिन, “अहिले गर्भवती महिला नियमित जाँच गर्न समयमै आउनु हुन्छ, हालसम्म हामीले आएका जति गर्भवती महिलालाई बर्थिङ सेन्टरमै सुत्केरी गराएका छौं, रेफर गर्नु पर्ने ‘केस’ भए तत्काल गर्छौ, तर गर्भवती महिलालाई सुत्केरी हुँदा अकालमा मर्न दिदैनौं ।”
गर्भवती महिलाले गर्भवती भएको चौथो महिना, छैटौं आठौं र नवौं महिना गरी चार पटक अनिवार्य जाँच गरेको हुनुपर्नेछ, बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई भत्ताको समेत व्यवस्था गरिएको छ । गर्भवती महिलाले जाँच गराएवापत प्रतिजाँच यातायात खर्च ४ सय र बच्चा जन्माएपछि बच्चालाई नियमित खोप लागाउन तथा शिशु पोषण भत्ता भनेर २ वर्षसम्म प्रतिमहिना १ हजार रुपैयाँको व्यवस्था गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । उनले भने, “बर्थिङ सेन्टर स्थापना भएका वडामा प्रभावकारिता राम्रो भयो बाँकी वडामा पनि तत्काल बर्थिङ सेन्टर स्थापना गरेर आमा र बच्चाको भविष्य सुरक्षित बनाइनेछ ।”
यस्तै, सात वटा वडा रहेको गाउँपालिकामा ओख्रेडाँडागाँउ बाहेकका अन्य ६ वडामा यस आवमा करिब २ सय शिशुलाई पोषणका लागि प्रोत्साहन भत्ता वितरण गरिएको छ । । गाउँपालिकाको सप्तेश्वरका ३१ जना, याम्खाका ४५ जना, टेम्माका २६ जना र छितापोखरीका १३ जना गरी १६१ जना शिशुलाई हरेक महिना १ हजारका दरले पोषण भत्ता वितरण गर्दै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताक अहमतले जानकारी दिए । उनले भने, “गर्भवती हुँदा नियमित स्वास्थ्य चौकीमा आएर जाँच गरेको हुनुपर्ने, बच्चालाई नियमित खोप लगाइएको हुनुपर्ने, बच्चाको सुग्घर सफामा ध्यान दिइएको हुनुपर्ने लगायतका आधारमा हामीले पोषण भत्ता दिने गरेका छौं ।”
गाउँपालिकाले दुई वटा बच्चालाई मात्र पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । दुईभन्दा बढी बच्चा जन्माउनेलाई पोषण सुविधाको व्यवस्था गरेको छैन ।
ओख्रेडाँडागाँउका शिशुलाई पनि पोषण भत्ता उपलब्ध गराउने तयारी भइहरेको बताइएको छ । गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना, गर्भवती महिलालाई यातायात खर्च, बच्चालाई पोषण तथा प्रोत्साहन भत्ता, गाउँपालिकाका ८० जना महिला स्वयंसेविकालाई पोषाक भत्ता, कर्मचारीको तलबका लागि यस आवमा १५ लाख बजेटको व्यवस्थापन गरेको थियो ।